PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एसिसी इमर्जिङ टिम्स एसिया कप : पहिलो खेलमा नेपाल भारतसँग पराजित



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : पहिलो खेलमा नेपाल भारतसँग पराजित
फाइल फोटो।

काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो।

१९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो।

भारतका लागि ओपनर आर्यन जुयल र रबि सरथले ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। रबि रसथलाई अर्धशतक बनाउन १ रन बाँकी रहँदा सुसन भारीले पभेलियन फर्काएका थिए भने आर्यन जुयललाई २९ रनमा ललिनारायण राजबंशीले 'बोल्ड' गरेका थिए। त्यस्तै ५६ रन बनाएका सनबीर सिंहलाई करण केसीले आउट गराएका थिए। त्यसबाहेक अर्मान जाफरले ५१ रन बनाए। 

पहिला ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल रन नजोडदै आउट भएका थिए। सुरुमै दबावमा आएको नेपालका लागि डेभ्यु गरेका कुशल भुर्तेल र सरद भेषवाकरले ५४ रनको साझेदारी गरे। 

कुशल भुर्तेलले २८ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका मोहम्मद आरिफ शेख २ रनमै पभेलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ३१ रनमा २४ रन बनाए। ऐरीले भेषवाकरसँग ५५ बलमा ४४ रनको साझेदारी गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए। 

सरद भेषवाकर पनि ऐरी आउट भएसँगै २९ औं ‌ओभरको अन्तिम बलमा आउट हुन पुगे। यो पछि नेपाली टिम फेरि दबाबमा आएको थियो। नेपाली टिमको स्कोर उकास्न फेरि पनि पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरे। सर्राफसँग ३१ रनको साझेदारी पछि बिनोद आउट भए र सोमपाल क्रिजमा आए तर उनी पनि टिक्न भने सकेनन्। विनोदले ५ रन बनाउँदा सोमपालले २ रन बनाए। सर्राफले ४९ बलमा ५६ रन बनाए जसमा २ छक्का र ७ चौका प्रहार गरे।

त्यसबाहेक करण केसीले २० रन बनाए। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी छन्।

आजै भएका अरु खेलहरुमा पाकिस्तानले अफगानिस्तान माथि ८ विकेटले जित निकाल्दा बंगलादेशले हङकङलाई ९ विकेटले हरायो।

नेपालले ३० गते हङकङ र मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell