PahiloPost

Dec 12, 2019 | २६ मंसिर २०७६

आठवटा करङ भाचिँदादेखि 'स्ट्रिट वर्क आउट कम्पिटिसन' सम्मको 'अफ ट्रयाक'मा शुकदेवको यात्रा



मुकुन्द घिमिरे

आठवटा करङ भाचिँदादेखि 'स्ट्रिट वर्क आउट कम्पिटिसन' सम्मको 'अफ ट्रयाक'मा शुकदेवको यात्रा

काठमाडौं : बौद्धबाट करिव डेढ किलोमिटर दक्षिणतिर लागेपछि पाटीटारमा छ सर्वेश्वर महादेवको मन्दिर। त्यहाँबाट सय मिटरजति भित्र जाने हो भने एउटा पार्क पुगिन्छ - 'शान्ति पार्क'।

म्याट, ह्यामर, रिङ, बक्स, वेटेड भेस्ट, चेन, प्यारेलिटिज जस्ता घरेलु सामाग्रीहरु प्रयोग गर्दै कसरत गरिहरेका भेटिन्छन् बच्चादेखि युवा र बृद्धसम्मै। यो न कुनै जिमखाना हो, न यहाँ यसरी अभ्यास गर्दा शुल्क नै लिइन्छ। कसरत कसरी गर्ने भन्ने सिकाइने यो ठाउँमा शुल्क पनि लाग्दैन।

शनिवार बिहान र बेलुकीपख सधैँ यहाँ कसरतका लागि तालिम दिने व्यवस्था छ। चार रोपनीमा फैलिएको यो पार्कमा शारीरिक व्यायामका लागि राम्रो अवसर बन्दै गएको छ। यति मात्र होइन यहाँ क्यालिस्थेनिकको राष्ट्रिय प्रतियोगितासमेत आयोजना हुँदैछ, यही कार्तिकमै।

यो पार्क र शारीरिक व्यायामको लागि महत्वपूर्ण ठाउँ बन्नुको पछाडि कसैले जीवनमा पाएको प्रेरणा र त्यसलाई सबैसामु बाँड्न चाहेको लगाव जोडिन्छ। जोड्ने व्यक्ति अरु कोही होइनन्, शुकदेव कार्की।

+++

नाम : शुकदेव कार्की

उमेर : ३० वर्ष

आफ्नै जीवनमा धेरै उतारचडाव भोगेका छन् शुकदेवले। त्यसैको एउटा कडी हो - उनले नेपालमा पहल गरेको क्यालिस्थेनिक।

क्यालिस्थेनिक अर्थात् फिटनेसलाई जोड दिने खेल। त्यो पनि घरेलु सामाग्रीहरुको प्रयोगबाट। कार्कीले विदेशमा रहँदाको अनुभवलाई निरन्तरता दिँदै नेपालमा क्यालिस्थेनिकको सुरु गरेका हुन्। उनले त्यो अवस्थामा यसको सुरुवात गरे जतिखेर उनको शारीरले साथ दिइरहेको थिएन।

आखिर के हो त क्यालिस्थेनिक?

'अरु खेलले फिटनेसलाई मात्र फोकस गरेर खेल राख्दैन। यसमा भने सर्किट वर्कआउट र बार वर्कआउटमा कम्बाइन गरेर खेलाइन्छ,' क्यालिस्थेनिकलाई परिचय गराउँदै उनी भन्छन्, 'कुनै खेलमा मसल बनाउनेमा केन्द्रित हुन्छ कुनै टेक्निकहरुमा। त्यस्तै कुनै पावर देखाउनेमा। तर, यसमा भने सबै पक्षलाई समेटिएको हुन्छ।'

टायर फ्लिप गर्नुपर्ने, रनिङ, पुलअप लगायतका अभ्यास गर्नुपर्ने भएकाले यसको नियमित अभ्यासले फ्लेक्जिविलिटी, स्ट्रेन्थ, मुटु, मसल सबैपक्ष बलियो हुने कार्कीले बताए।

उनका अनुसार नेपालमा आयोजना हुने यो एकमात्र क्यालिस्थेनिक प्रतियोगिता हो।

क्यालिस्थेनिक अभ्यास हुने पार्क जिममा गरिने अभ्यासभन्दा फरक हुने कार्की बताउँछन्।

'यसमा हामी लोकल रिसोर्सहरुको प्रयोग गर्छौं। खुला ठाउँ भएकाले जतिबेला पनि अभ्यास गर्न सकिन्छ,' कार्कीले भने, ' जिममा फेन्सी उपकरणहरुको प्रयोग भएको हुन्छ। हामीचाहिँ लोकल रिसोर्स जस्तो पानीको बोतलमा बालुवा भरेर प्रयोग गरिरहेका हुन्छौं। प्रतियोगितामै पनि जार बोकेर कुद्ने हुन्छ। टायरको प्रयोग गर्छौं।'

यसमा सबै उमेर समूहका लागि शारीरिक अवस्था अनुकुलको अभ्यासहरु हुने उनले बताए।

+++

बेलातमा ८ वर्ष बसेर फर्किएपछि उनमा यस्तो पार्क बनाउने सोच आयो। बाहिर हुँदा धेरैतिर यस्ता पार्क देखेकाले उनलाई लाग्यो - नेपालमा चाहिँ किन हुँदैन त?

चुनौतीका चाङ धेरै थिए। शारीरिक सुगठनमा समेत चासो दिने उनीसँग अरु नै ठूलाठूला सपनाहरु थिए। तर, जीवनले लियो फरक मोड।

सबैभन्दा ठूलो चुनौती त उनलाई तब आइलाग्यो जब उनी बाइक दुर्घटनामा परे।

कसैले कल्पना समेत गरेको थिएन उनी सामान्य जीवनमा यसरी फर्केलान् भन्ने। उनको इच्छा शक्ति यति बलियो थियो कि सामान्य जीवनमामात्र फर्किएनन्, स्वस्थ जीवन जिउनुपर्छ भनेर शारीरिक व्यायामका लागि लागिपरे। क्यालिस्थेनिकको तेस्रो संस्करण आयोजनाको मुखैमा छन् उनी।

काठमाडौंको गोठाटारमा सन् २०१५ मा बाइकमा स्टन्ड गर्ने क्रममा उनी दुर्घटनामा परेका थिए। भोलिपल्ट बाइक बेच्ने दिन थियो। अघिल्लो दिन उनलाई स्टन्ड गर्न मन लाग्यो। ड्युक ३९० मोटरसाइकलमा हुइँकिएका उनी विपरीत दिशाबाट आइरहेको टोयटा हाइलक्ससँग ठोक्किए।

८ वटा करङ, हात र खुट्टा भाँचियो। उनी सामान्य जीवनमा फर्कन सक्लान भन्ने कसैलाई थिएन। शारीरिक सुगठनमा चासो राख्ने उनी त्यतिकै बसिरहन सकेनन्। गह्रौ सामान उठाउन नमिल्ने, हिँड्नसमेत गाह्रो हुने अवस्थामा उनले संघर्ष छाडेनन्। पहिले शिक्षण पेशामा अबद्ध भए र पछि व्यायाममा जोड दिँदै नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्सका माध्यममा व्यायाम र स्वास्थ्यबारे विशेष गरी युवाहरुमा आकर्षण गर्न थाले।

उनी अझै पनि तीब्र गतिमा मोटरसाइकल कुदेको देख्दा झसङ्ग हुन्छन्। युवाहरुले सुनेको कुरामा धेरै विश्वास नगर्ने हुँदा दुर्घटना हुने गरेको उनको बुझाइ छ।

'म पनि त्यस्तै थिएँ। अरुले भन्दा वास्ता लाग्दैन थियो। आँफै परेपछि मात्र मैले पनि बुझेँ,' कार्कीले धेरै महँगोमा पाएको ज्ञान साटे।

दुर्घटनाको त्यो अवस्थाबाट उठेर अहिलेको अवस्थासम्म आइपुग्नु चानुचुने विषय थिएन। ठूलो दुर्घटनाबाट तङ्ग्रिदै गर्दा उनले व्यायामको सहायता लिए। र व्यायामको महत्व महसुस गराउँदै अरुलाई पनि बुझाउने बाटोमा अघि बढे। लामो प्रयास पछि बौद्धमा क्यालिस्थेनिक सुरु गराएरै छाडे।

'सुरुमा त जमीनकै लागि समस्या भयो। विभिन्न निकायहरुमा कुरा बुझाउनै समय लाग्यो,' कार्कीले संघर्षका क्षण सम्झिए।

अहिले भने विभिन्न कर्पोरेट हाउस तथा स्थानीय निकायको सहयोग मिलिरहेको छ उनलाई। तर, जनशक्ति नभएकै कारणले उनले क्यालिस्थेनिक राष्ट्रिय खेलकुद परिषदमा दर्ता गराउन सकेका छैन। तर, छिट्टै दर्ताको पहल गर्ने तयारीमा छन् उनी।

'देशका हरेक ठाउँमा मानिसहरुले निशुल्क व्यायाम गर्न अवसर पाउन् भन्ने हाम्रो लक्ष्य हो,' कार्कीले उद्देश्य प्रस्ट पारे।

+++

यो प्रतियोगितामा बाहिरबाट पनि खेलाडीहरु आएर प्रतिस्पर्धा गर्नेछन्। पोखरा, नेपालगंज, भरतपुर, बुटवल, दमक लगायत उपत्यका बाहिरका शहरहरुबाट पनि प्रतियोगिताका लागि खेलाडी आउने तयारी छ। बंगलादेशबाट पनि खेलाडी सहभागी हुने उनले बताए।

प्रतियोगितामा सहभागी बन्न एउटा सेलेक्सन भिडियोलाई उनले आधार बनाएका छन्। जसका लागि क्राइटेरिया पनि तोकिएको छ।

क्यालिस्थेनिकलाई २ भागमा बाँडिएको हुन्छ। पहिलो सर्किट वर्क आउट र दोस्रो बार वर्क आउट। यी विधामा छिटो लक्ष्य पूरा गर्नेले उपाधि जित्छ।

सर्किट वर्कआउटमा १२ सय मिटर दौड, टायर फ्लिप, बक्स जम्पलगायतका मापदण्ड हुन्छन् भने बार वर्क आउटमा पुल अप, बार डिप्स, मसल अप्स लगायतका मापदण्ड बनाइएको छ।

'सर्किट वर्क आउट बार वर्क आउट भन्दा अलिकति सजिलो छ। यसमा सामान्य एक्सरसाइजहरु हुन्छ। यसले स्टामिना बनाउने लगायतमा सहयोग गर्छ,' कार्कीले भने, 'बार वर्कआउटमा चाहिँ फ्लेक्जिविलिटी र स्किलको टेस्ट हो।'

क्यालिस्थेनिकका लागि युवाको आकर्षण देखेर उनी दंग पनि छन्। ५०/६० जना युवाले पार्कमा अभ्यासमात्र होइन यसको व्यवस्थापनमा समेत चासो दिन थालेपछि उनलाई सहयोग भएको छ।

+++

व्यायाम गरेर पनि यति धेरै परिवर्तन आउन सक्छ र? यो आम तवरमा प्रश्न उठन सक्छ। यसको गतिलो जवाफ हुन्, सुकदेव कार्की। उनले व्यायामको माध्यमबाट आफ्नो जीवनमा त परिवर्तन ल्याए नै अरुको जीवन पनि सकारात्मक दिशामा अघि बढोस भनेर अहिले लागि परेका छन्।

'मैले जीवनमा व्यायामले मानिसको जीवनमा ल्याउन सक्ने परिवर्तनलाई अनुभव गर्न पाएँ। व्यायामले जीवनमा ल्याएको परिवर्तन महसुस गर्न पाएँ,' उनले गम्भीर हुँदै भने, 'दुर्घटनापछि व्यायामकै सहायतामा अहिलेको अवस्थामा आइपुगेँ। यही अवसर अरुलाई पनि दिलाउने मेरो लक्ष्य हो।'

उनका लागि यहाँसम्मको बाटो तय गर्न सजिलो भने थिएन। तर, जटिल बाटोबाट नै हो फरक हुनसक्ने जुन उनले सावित गरिरहेका छन्।



आठवटा करङ भाचिँदादेखि 'स्ट्रिट वर्क आउट कम्पिटिसन' सम्मको 'अफ ट्रयाक'मा शुकदेवको यात्रा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell