
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्रगत करिब तीन महिना देखि पोखरामा प्रशिक्षणरत राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली बैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ।
बैदेशिक प्रशिक्षण अन्तर्रगत पुरुषको राष्ट्रिय ह्याण्डबल भारतको चण्डिगढस्थित पटियालामा र महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिए।
दुबै टोलीलाई बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनहरुलाई समाप्त पार्न आफ्नो पहल रहेको बताए। ‘समाजका हरेक तप्कालाई आफ्ना छोरा–छोरीलाई खेलतर्फ आर्कषित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलव्ध गराउन आवश्यक छ।’ उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्ने तर्फ ईंगित गर्दै भने।
राष्ट्रिय खेलकुद परिषद सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तिमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नोतर्फबाट पहल रहने गुरूङले बताए। उनले खेलाडीले आफ्नो जिवनयापन संगै बाँच्ने आधार स्थपित गर्न राज्यको ध्यान जानुपर्नेमा जोड दिए।
‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र यूवामा पुर्याउनु पर्छ।’ उनले ह्याण्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए।
बैंककमा महिला टोलीले बैंकक स्थित विश्वविद्यालय टोलीहरु संग १० देखि १२ वटा मैत्रीपूर्ण म्याचसहित अभ्यास म्याचहरु खेल्ने बताइएको छ । त्यस्तै भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानिय टिमहरुसंग मैत्रीपूर्ण खेलहरु खेल्ने छन्।
दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। १३ औं साग अन्तरगत ह्याण्डबल खेल मंसिरको १७ गतेबाट पोखरा रंगशाला स्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ।
विदाई कार्यक्रममा १३ औं साग स्थानिय सहजिकरण समितीका सचिब लक्ष्मण योगी, कास्की ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल संघका बैदेशिक विभाग प्रमुख राम गुरुङ लगाएतको उपस्थिती रहेको थियो।
भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन्।
यसै गरि महिला टिम तर्फ टिम कप्तान रञ्जना राई, बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन्।
यस संगै दुबै टोलीका टिम म्यानेजर जीवन बस्नेत र शान्ती थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुण लाल कर्ण, कृष्ण शाक्य, टेक बहादुर परियार र विन्दा थापा रहेका छन।