PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपा एकीकरणको लेखाजोखा : कसको भागमा कति, संगठनमा को कति बलियो?



कुञ्जरमणि भट्टराई

नेकपा एकीकरणको लेखाजोखा : कसको भागमा कति, संगठनमा को कति बलियो?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १८ महिनापछि बल्लतल्ल पार्टी एकता प्रकिया टुंग्याएको छ। तीन महिनाभित्रै एकता प्रकिया पूरा गर्ने उद्घोष गरेको नेकपालाई एकता टुंग्याउन हम्मेहम्मे पर्‍यो।

सोमबारको सचिवालय बैठकले केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएसँगै एकता प्रक्रिया लगभग टुंगिएको हो। केही तल्ला कमिटीहरुको प्रक्रिया जारी छ।

२०७५ जेठ ३ गते राष्ट्रियसभामा एक कार्यक्रमबीच दुई पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) ले एक भएको घोषणा गरेका  थिए।

लामो रस्साकस्सीपछि नेकपाले एकता टुंगोमा पुर्‍याएको हो। नेकपाले केन्द्रीय सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी केन्द्रीय, आयोग, मञ्चलगायतको एकता टुंग्याएको हो।

लामो समयसम्म कार्यविभाजन नहुँदा पार्टीका नेता कार्यकर्ताहरुमा अन्योलताको स्थिति पनि उत्पन्न भयो। जिम्मेवारी बाँडफाँडसँगै दूरी घटेको नेताहरु बताउँछन्।

तर, सचिवालय बाहेकका कमिटीका बैठक चुस्त रुपमा बस्न सकेका छैनन्। स्थायी कमिटी केन्द्रीय कमिटीका बैठक बस्न सकेका छैनन्। एकताको क्रममा आफ्ना मान्छे टिप्न खोज्दा प्रक्रिया लम्बिएको आरोप नेतृत्वलाई लाग्दै आएको छ। 

दुई शक्तिको एकताका क्रममा पूर्व एमालेको भागमा ६० र पूर्व माओवादीको भागमा ४० प्रतिशत औसत भागबण्डा गर्ने सहमति भएको थियो। तर, एकता प्रक्रिया टुंगोमा पुग्दा नेतृत्व कसको भागमा कति पर्‍यो?

कसलाई कति?

केन्द्रीय सचिवालय

नेकपाको केन्द्रीय सचिवालय ९ सदस्यीय छ। जसमा पूर्व एमालेका तर्फबाट ६ जना तथा  पूर्व माओवादीबाट ३ जना छन्। नेकपाको सचिवालयमा दुई अध्यक्ष एक महासचिव र सदस्य छन्।

स्थायी कमिटी 

नेकपाको ४५ सदस्यीय स्थायी कमिटीको भागबण्डा गर्दा २६ पूर्व एमाले तथा १९ पूर्व माओवादीका नेताहरु छन्। पूर्व एमालेका २६ मध्ये वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा १२ सदस्य रहेको बताइन्छ। अन्य ओली समूहका छन्।  

केन्द्रीय कमिटी

नेकपाको केन्द्रीय कमिटीमा ४४५ सदस्य छन्। जसमा पूर्व एमालेको तर्फबाट २४१ तथा पूर्व माओवादीबाट २०४ जना रहेका छन्। सुरुवातमा नेकपामा ४४१ सदस्य केन्द्रीय कमिटी रहेको थियो। गत भाद्र ९ गते बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट नेकपा प्रवेश गरेका उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयनका लागि संख्या बढाइएको थियो।

प्रदेश कमिटी पूर्व एमाले हावी

नेकपाको प्रदेश कमिटीको नेतृत्वमा एउटा प्रदेश मात्र पूर्व माओवादीको भागमा छ। बाँकी छ प्रदेको इञ्चार्ज पूर्व एमालेको भागमा छ।

नेकपाले २०७५ असोज ५ गते प्रदेश कमिटीलाई पूर्णता दिएको थियो। प्रदेश १ मा नेकपाको २०७ सदस्यीय कमिटी गठन छ। जसमा पूर्व एमालेका १२२ र पूर्व माओवादी केन्द्रका ८५ सदस्य छन्।

त्यस्तै,  प्रदेश २ मा २१५ सदस्यीय कमिटी बनेको छ। जसमा पूर्व नेकपा एमाले र माओवादीका समान १०६ जना राखिएको छ। ३ जना भने पार्टी एकतापछि प्रवेश गरेकालाई प्रदेश कमिटीमा राखिएको छ। प्रदेश ३ मा २१७ सदस्यीय कमिटी छ। जसमा नेकपा एमालेका ११६ र माओवादी केन्द्रका १०१ जना परेका छन्।

गण्डकी प्रदेश कमिटी १८७ सदस्यीय बनाइएको छ। जसमा एमालेका १०२ र माओवादी केन्द्रका ८५ सदस्य मनोनीत भएका छन्। प्रदेश ५ मा २ सय ३ सदस्यीय कमिटी छ। जसमा साविक एमालेका १०६ र नेकपा माओवादी केन्द्रको ९७ सदस्य रहेका छन्। कर्णाली प्रदेश कमिटी १७५ सदस्यीय बनेको छ। पूर्व एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य समावेश गरिएको छ।

सुदूरपश्चिम कमिटी १८३ सदस्यीय बनाइएको छ। साविक एमालेबाट सय जना र माओवादी केन्द्रबाट ८३ जनालाई कमिटीमा राखिएको हो।

जिल्लामा कतै घटुवा कतै बढुवा

नेकपाले वैशाख ८ गते जिल्ला अध्यक्षहरुको टुंगो लगायो। जसमा ४४ पूर्व एमाले तथा ३३ पूर्व माओवादीले जिल्लाको नेतृत्व पाएको छ। नेतृत्व टुंग्याउने क्रममा साविकका नेतृत्वमा रहेका धेरै घटुवामा परेका छन्। जनप्रतिनिधसमेत रहेका धेरै घटुवामा परे। असन्तुष्टिका कारण लामो समयसम्म जिल्ला नेतृत्वले सहजता पाएन।

जिल्लाको समीकरण अनुसार साविक एमालेले अध्यक्ष पाएको स्थानमा माओवादी केन्द्रले सचिव र माओवादी केन्द्रले अध्यक्ष पाएको स्थानमा तत्कालीन एमालेले सचिवको जिम्मेवारी पायो। केही जिल्लामा घटुवामा परेका नेताहरुले पद अस्वीकार समेत गरेका छन्।

नेकपाले साउन ५ गते जिल्ला र ६ महानगरका इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगायो। महानगरसहित पूर्व एमालेको भागमा ४५ तथा पूर्व माओवादीको भागमा ३८ जिल्ला इञ्चार्ज परेका छन्। नेकपाको जिल्ला इञ्चार्जमा बाहलवाला मन्त्रीसमेत परेका छन्।

हेडसरको खोजीमा लम्बिएको एकता

नेकपाका २२ जनवर्गीय संगठनको प्रमुख पूर्व एमालेको भागमा १६, तथा  पूर्व माओवादीको तर्फबाट ६ जना छन्।

केन्द्रीय विभागको जिम्मेवारी टुंग्याउन नेकपालाई हम्मेहम्मे परेको थियो। महत्वपूर्ण विभागको रुपमा रहेको स्कूल विभागमा धेरै नेताहरुले आकांक्षा देखाएका थिए। सहजै रुपमा स्कुल विभागको जिम्मेवारी टुंगो नलाग्दा एकता प्रक्रियामा समेत ढिलाई भएको थियो।

ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसाललगायतका नेताहरुले स्कूल विभाग दाबी गरेपछि 'हेडसर' चयनमा नेतृत्वलाई सकस परेको थियो। पार्टीको महत्वपूर्ण विभागमा रस्साकस्सी हुँदा एकताका काम नै लम्बिएका थिए।

अन्तत: साउन ३१ गते बसेको सचिवालय बैठकले ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिँदै विभागको टुंगो लगायो। ३२ विभागमध्ये पूर्व एमालेले १९ तथा पूर्वमाओवादीले १४ विभागको नेतृत्व पाएको छ।

आयोग टुंगियो, तल्ला मञ्चमा बाँकी

हालैको सचिवालय बैठकले अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरालाई चयन गर्दै नेकपाको मूलभूत एकीकरण प्रक्रिया सकेको घोषणा पनि गरेको छ। आयोगले नेतृत्व पाएपछि केन्द्रीय संरचनामा भने एकीकरणले करिब पूर्णता पाएको छ।

तर अझै पनि भातृ संगठन, जनवर्गीय संगठन लगायतमा तल्ला तहमा एकीकरणका काम बाँकी छन्। युवा संगठनले पनि हालै जिल्ला तहको एकीकरण सम्पन्न भएको घोषणा गरेको छ। अन्य संगठनको प्रक्रिया जारी छ।

नेकपाले लेखा परीक्षणको अध्यक्षमा पुष्प कँडेललाई चयन गरेको छ। जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष नन्दकुमार प्रसाई र सल्लाहकार कमिटीको अध्यक्ष केशव बडाललाई तय गरेको छ।

केन्द्रीय आयोगको नेतृत्वमा पूर्व एमालेलाई २ र पूर्व माओवादीको भागमा १ रहेको छ।

अब नेकपामा प्रवास कमिटी तथा पोलिटव्यूरो गठन गर्न बाँकी छ। पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुग्दा नेकपाको मूख्य शक्तिमा दुई अध्यक्षपछि माधवकुमार नेपाल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell