वीरगंज : बाराका एक युवक १० महिनादेखि बेपत्ता भएका छन्। जितपुरसिमरा उमहानगनरपालिका वडा नम्बर ८ लोहसन्डा टोलका अमर महतो कोइरीका जेठा छोरा २६ वर्षीय प्रदीप महतो कोइरी विगत १० महिनादेखि वेपत्ता भएका हुन्।
दिमागी अवस्था ठीकठाक भएको छोरा अचानक वेपत्ता बन्दा कोइरीको परिवार चिन्तित बनेका छन्। गत २०७५ पुस १६ गते अपरान्ह साढे ३ वजेदेखि छोरा सम्पर्कविहिन बनेको प्रदीपका बुवा अमर बताउँछन्। प्रदीप सोही दिन वैदेशिक रोजगारीका लागि अन्तरवार्ता दिन काठमाडौं जाने तयारीमा रहेको उनले बताए। छोरा घरमा नभएको र मोबाइलमा पटक पटक सम्पर्क गर्ने प्रयास विफल भएपछि बुवा अमरले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। तर हालसम्म पनि प्रदीपको खोजी कार्य हुन सकेको छैन।
प्रदीपका बुवा अमरले भने, ‘मेरो छोरा हराउने खालको थिएन, पक्कै उसलाई अपहरण गरी कतै लगिएको हो। प्रहरीले जिउँदो वा मृत देखाउनु त पर्यो नि, अनी विश्वास हुन्छ।’
उनको घटनामा संलग्न रहेको आशंकामा ४ जना गाउँकै युवक पक्राउ परेर रिहा पनि भइसकेका छन्। एक जना अझै पनि फरार छन्।