
काठमाडौं : रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।*
एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको छ।
सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो। जन्मकैद सहितको माग दावी गर्दै अदालतमा दायर मुद्दामा आलमका तर्फबाट तीस जना भन्दा बढी वकिलले बहस गरेका थिए।
२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।
आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।
नोटः- * तथ्यगत त्रृटि भएकाले समाचार सच्याइएको हो।