PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किन आयोजना गरिन्छ ‘साग’ ? [टिप्पणी]



पहिलोपोस्ट

किन आयोजना गरिन्छ ‘साग’ ? [टिप्पणी]

  • राधेश्याम दाहाल -

सन् १९८४ मा पहिलो पटक दक्षिण एशियाली खेलकुद आयोजना हुँदा विश्व समुदायमा यो क्षेत्रले एउटा छुट्टै पहिचान बनाउन सफल भयो। विश्व समुदायले दक्षिण एशियालाई पनि प्राथमिकताको नजरले हेर्न थाल्यो। विश्व खेल जगतमा निकै कमजोर सावित भएका त्यति बेलाका देशहरुले पनि आफ्नो स्थान बनाउन सफल भए। सन् १९८३ मा साउथ एशियन ओलम्पिक काउन्सिल गठन भएपछि साग आयोजनाको बाटो खुलेको हो।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित दक्षिण एशियाका सात राष्ट्रको सहभागितामा दक्षिण एशियाली खेलकुद आयोजना गर्न शुरु गरियो। सन् १९८४ देखि यताको हिसाब गर्ने हो भने अहिलेसम्म १७ औं संस्करण पनि आयोजना भइसक्नु पर्ने थियो। तर, विभिन्न देशमा देखा परेका राजनीतिक कारण, ती देशहरुमा खेलकुदमा देखिएका विविध समस्या लगायतले साग आयोजना निरन्तर हुन सकेको छैन। जसको असर अहिलेसम्म पनि देखा परेको छ। नेपालमा आयोजनाको तयारी भइरहेको साग खेलकुद आजका दिनसम्म पनि अन्यौलमा हुनु भनेको दक्षिण एशियामा खेललाई हेर्ने दृष्टिकोण नै हो। विशेष गरेर भारतले पछिल्लो १० वर्षमा आफूलाई दक्षिण एशियामा मात्र सीमित नगराई ओलम्पिकसम्म प्रतिस्पर्धा गर्ने तहको बनाउन भूमिका खेल्यो। पछिल्लो दश वर्षमा भारतले खेलमा मारेको फड्को प्रशंसनीय नै छ। सन् २०१० मा भारतमा आयोजना भएको कमनवेल्थ गेम्सले भारतमा अकल्पनीय परिवर्तन आयो। भारतको दिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो परिवर्तनको शुरुवात देख्न सकिन्थ्यो। साग आयोजनाको मुख्य उद्देश्य भनेको शान्ति, सम्बृद्धी र प्रगति हो। देशको अन्य विषयलाई हामीले नियाल्ने बेला यो होइन। यती बेला अब हामीले नेपालको बारेमा चर्चा गर्ने बेला भएको छ। साग आयोजना अरु देशका लागि त्यति महत्वको विषय नहुन सक्छ तर नेपालका लागि साग महत्वपूर्ण पाटो हो। किनकि यो खेलको जन्मदाता नेपाल हो।

दक्षिण एशियाली खेलकुदको पिता भनेर चिनिने शरदचन्द्र शाहको विशेष पहलमा दक्षिण एशियाली खेलकुद पहिलो पटक नेपालमा आयोजना भयो। त्यतिबेला विश्वका अन्य देशहरुको तुलनामा दक्षिण एशियाका देशहरु सबै रुपमा कमजोर थिए। त्यसैले एउटा छुट्टै समुह बनाएर साग आयोजना भयो। आर्थिक रुपमा, सामाजिक रुपमा र खेलका दृष्टिकोणले पनि दक्षिण एशिया निकै कमजोर थियो। साग नेपालमा आयोजना हुँदैगर्दा विगत र वर्तमानको समीक्षा गर्न आवश्यक छ। यो विषयमा आज गम्भीर छलफल गर्नैपर्छ। खेल आयोजना किन र कुन उद्देश्यका साथ गरिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। खेल आयोजना हुँदा राज्यको करोडौ रुपैयाँ खर्च हुन्छ। खेल भनेको अबको दुनियाँमा लगानी हो, खर्च होइन। लगानी हो भने त्यो लगानी कसरी उठ्छ वा यसले कति फाइदा पुर्‍याउँछ भन्ने विषय उठान हुनैपर्छ। अबको केही दिन पछि नेपालमा साग आयोजना हुँदैछ। वास्वतमा भन्ने हो भने पहिलो साग आयोजना गरेको मुलुकलाई तेह्रौ साग आयोजना गर्दा सामान्य प्रतियोगिता आयोजना गरेको जस्तै भार महसुस हुनु पर्ने थियो। तर, यतिबेला नेपालको खेल क्षेत्र आयोजनाको प्रसव वेदनामा छ। खेल स्थल कतै पनि तयार भएका छैनन्। खेलका लागि हुनुपर्ने तयारी खासै हुन सकेको छैन। खेल आयोजना भद्रगोल बन्ने निश्चित नै छ। तर, पनि नेपालमा खेल हुने कुरामा अब शंका रहेन। सहभागी सबै देशले ‘ओके’ भनिसकेका कारण जसरी र जे गरेर भए पनि साग आयोजना गर्न नेपालका खेल अधिकारी तल्लिन छन्।

पहिलो पटक साग आयोजना गरेको नेपालले दोस्रो पटक आठौ साग पनि गर्ने अवसर प्राप्त गर्‍यो सन् १९९९ मा। त्यतिबेलाको साग नेपालका लागि ऐतिहासिक नै थियो। किनकि त्यतिबेला नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर बनेको थियो। साथै दशरथ रंगशालाले पनि नयाँ रुप पाएको थियो। भौतिक रुपमा नेपाल बलियो भएको थियो त्यति बेला। पदकको दृष्टिकोणले पनि नेपाल भारत पछि दोस्रो स्थानमा उक्लेको थियो। ३२ स्वर्ण पदक जित्न नेपाल सफल भयो त्यतिखेर। यस्तो इतिहास बोकेको नेपाल आज तेह्रौं दक्षिण एशियाली खेलकुदसम्म आइपुग्दा कुन अवस्थामा छ भनेर विश्लेषण गर्न आवश्यक छ कि छैन? के अब नेपालले आठौ दक्षिण एशियाली खेलकुदको रेकर्ड तोड्न सक्छ? के नेपालले आठौ सागमा बनाएको जस्तो भौतिक पूर्वाधार तेह्रौका लागि तयार गर्न सक्छ? नेपाल बाहेक सागमा सहभागी कुनै पनि देशको खेलको अवस्था र भौतिक संरचनाको अवस्था हेर्ने हो भने सबै माथि गएका छन्। तर, नेपालको अवस्था खस्किएको छ। पदकको दृष्टिकोणले पनि अब नेपालले ३२ स्वर्ण पदक जित्नु भनेको असम्भव प्राय नै देखिन्छ। तर, पनि खेलाडीको मनोबल उच्च पाउँदा हरेक नेपाली खुशी छन्। साग आयोजनाका लागि नेपालले यस्तो कमजोर तयारी किन गर्‍यो। अन्तिम अवस्थासम्म पनि नेपालका खेल अधिकारीले किन साग आयोजनालाई अन्यौलमा राखे भन्ने विषयको लेखाजोखा आवश्यक छ। अबको दुनियाँमा खेल आयोजना गर्नु मात्रै ठूलो विषय होइन। त्यो खेल आयोजना भइसकेपछि त्यो देशको खेलको अवस्था कस्तो हुन्छ, समाजमा त्यसले कस्तो असर छाड्छ, खेलाडीहरुको मनोबल कस्तो हुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। नेपालमा आयोजना हुँदै गरेको साग र त्यसका लागि भइरहेको तयारीले विश्व समुदायमा कस्तो सन्देश जाला? यो विषय पनि सोचनीय हो। दक्षिण एशियामा मात्रै सीमित रहेको भारत आज ओलम्पिक्समा पदक जित्ने तहको बनिसक्यो। खेल आयोजनाको दृष्टिकोणले उनीहरु एशियन गेम्स मात्र होइन आवश्यक परे ओलम्पिक्स नै आयोजना गर्न पनि तयार भएको सन्देश दिन सफल भइसके। तर आज दक्षिण एशियाली खेलकुदको जन्मदाता त्यही खेलको आयोजना जोगाउन पनि कठिन मिहिनेतमा ब्यस्त हुनु परेको छ। नेपालको खेल क्षेत्रबारे नेपालका राजनीतिक तहले नराखेको चासो यसको प्रमुख कारण हो। खेललाई बुझ्ने र बुझाउने प्रयास नहुँदा पनि धमिलो पानीमा माछा मार्नेहरुले नेपाली खेल क्षेत्रको दोहन गरिरहे।

नेपालको खेल र झण्डा बेचेर आफुलाई स्थापित गराउनेहरुको संख्या त बढ्दै गएको छ। तर, नेपालको खेलको अवस्था नाजुक बनिसकेको छ। देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको सुधार ल्याउनका लागि पनि खेल महत्वपूर्ण माध्यम हो भन्ने विषय बुझाउन नेपालका खेल अधिकारी असफल भएकै हुन्। उनीहरुको असफलताले गर्दा देशले लज्जित हुनु पर्ने अवस्था नआओस्। यसतर्फ सबैको ध्यान जाओस्। खेल आयोजना गर्दैमा, उद्घाटन र समापन गर्दैमा सफल भएको झ्याली अब पिट्न मिल्दैन। भारतमा कमनवेल्थ गेम्स आयोजना गर्ने जिम्मेवारी पाएका सुरेश कलमाडी उचित ब्यवस्थापनमा कमजोर सावित हुँदा भ्रष्टाचारी सावित भएर जेल जीवन बिताइरहेका छन्। अब आयोजना हुने खेलकुदका प्रतियोगिताहरु जसरी र जे गरेर पनि आयोजना गर्ने होइन विश्व समुदायलाई आफनो शक्ति, आफनो क्षमता र आफनो विकास क्रम देखाउने महत्वपुर्ण अवसर हो। चीनले हरेक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आफनो क्षमता अदभुत रुपमा प्रस्तुत गर्छ। चीनले विश्व समुदायलाई खेलको सहित र उचित ब्यवस्थापन र आयोजनाबाटै सधै चकित पार्दै आएको छ। कुनै पनि देशको आर्थिक र सामाजिक विकास क्रम कस्तो छ भनेर नाप्ने आधार खेलको आयोजना र त्यो देशले जित्ने पदक पनि हो। त्यसैले साग आयोजना नेपालका लागी साँच्चिकै ठूलो चुनौति हो। यसलाई हल्का फुल्का रुपमा खेल प्रतियोगिता मात्रै भनेर बुझ्ने र यही अनुरुपको कमजोर आयोजना गर्ने हो भने यसले विश्व समुदायमा नेपालको नाम उचो राख्ने वाला छैन। सबैलाई चेतना भया।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell