सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शित भण्डार निर्माणको काम अलपत्र परेको छ। २०७४ साल असारमा शिलन्यास गरी निर्माण कार्य शुरु गरिएको प्रदेशको एक मात्र शित भण्डारको साढे दुई वर्षमा जग मात्रै उठाइएको छ।
निर्माण कार्य थालेको तीन वर्षमा सक्नुपर्ने भएपनि भवनको काम सुस्ताएपछि तोकिएको समयमा नसकिने निश्चित भएको छ। करिव साढे दुई वर्षअघि निर्माण थालिएको शित भण्डारको ७५ प्रतिशत काम बाँकी नै छ। निजी तथा सरकारी साझेदार संस्थाको लगानीमा निर्माण हुन लागेको शित भण्डार भवनको जग एक वर्ष अघि पुरिएको थियो भने, अहिले डिविसी मात्रै गरिएको छ। शित भण्डार निर्माणको जिम्मा कर्णाली कोल्ड चेन लजेस्टिक प्रालि (केसिसी)ले लिएको हो। एकै ठाउँमा जग्गा पर्याप्त नभएका कारण धेरै ठाउँबाट टुक्रा टुक्रा लिनुपर्ने भएकाले समय लागेको कम्पनीको भनाई छ।
'औद्योगिक क्षेत्रभित्र रहेको जग्गा विभागबाटै हाम्रो नाउमा गराउँदा, सोइल टेष्ट (माटो परिक्षण) गर्दा पनि ढिला भएको हो,' सञ्चालक एवं सदस्य प्रवल शाहीले भने।
कम्पनीका सदस्यहरुबीच खट्पट भएकै कारणले पनि शित भण्डारको काममा थप ढिलाई भएको बुझिन्छ।
'हामी बीच (कम्पनीका सदस्य) पनि एक मत भएन, अब हुँदैन की भन्ने थियो', सञ्चालक एवं सदस्य शाहीले भने, ‘पटक पटक मिटिङ बसेर कसले कति लगानी गर्ने भन्ने सहमति जुट्यो तब मात्रै काम अघि बढ्यो।'
निर्माण शुरु गरेपछि निर्माण सामग्रीका लागि भारत जानुपर्ने बाध्यताले ढिलाई भएको सदस्य शाहीको दाबी छ।
'हामी निर्माणको काम अघि बढायौँ तर नेपालमै सामान नपाईने भएपछि भारत जानुपर्ने अवस्थाले पनि काममा ढिलाई भएको छ,' उनले भने।
अब शित भण्डारको कामलाई गति दिने भन्दै नीजि कम्पनीको लगानीले मात्रै नपुग्ने हुँदा अनुदान आवश्यक रहेको उनी बताउँछन्।
औद्योगिक क्षेत्रभित्र निर्माणाधिन रहेको शित भण्डार झण्डै दश रोपनी जग्गामा फैलिएको छ। २५ सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण कार्यको थालनीमा करिव १४ करोड लाग्ने अनुमान गरिए पनि अहिले २० करोड लाग्ने अनुमान छ। त्यस्तै सञ्चालन गर्न साढे दुई करोड लाग्ने अनुमान निर्माण कम्पनीको अनुमान छ।
यता, प्रदेश सरकारलाई शित भण्डार निर्माणका लागि लगानी जुटाउन मुश्किल परेको भन्दै अब शित भण्डारको कामलाई गति दिने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भनाई छ ।
'गत आर्थिक वर्षमा सात करोड विनियोजन भएको थियो। खर्च गर्ने समय नभएकाले २७ लाखको मात्रै काम हुन पुग्यो', मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले भने, 'अब यो वर्ष कार्यविधि बनाएर टेण्डर प्रक्रिया मार्फत थप काम हुन्छ। रकम अभाव हुन नदिन विशेष अनुदानबाट पनि थप गरिने छ। अर्को वर्ष सम्पूर्ण काम सकिने छ।'
शित भण्डार अभावकै कारण कर्णालीका किसानले उत्पादन गरेका कृषि वस्तुले राम्रो बजार पाउन सकिरहेका छैनन् भने शित भण्डारकै लागि अन्यत्र जानुपर्ने बाध्यता छ। अहिले कर्णालीमा शित भण्डार अभाव भएकै कारण प्रदेश नम्बर ५ को बाँके जिल्लामा किसान धाउँदै आएका छन्।
विभिन्न बिउविजनका भण्डारणका लागि किसानहरु बाँके जानु पर्ने बाध्यता छ। किसानले उत्पादित वस्तु पर्याप्त भण्डार गर्न पाइरहेका छैनन् भने चर्को मूल्य तिरेर ढुवानी गर्नुपर्दा किसान दोहोरो मारमा परेका छन्। शित भण्डारण नभएकै कारण किसानले सस्तो मूल्यमा बेच्नुपर्ने अर्को बाध्यता त छँदै छ।
निर्माणाधिन अवस्थामा रहेको शित भण्डारलाई सरोकारवाला पक्षले बाहानावाजी नगरी जति सक्दो छिटो निर्माण कार्य सक्नु पर्ने किसानको माग छ। शित भण्डार निर्माण भए कर्णालीका किसानले उत्पादन गरेका कृषि वस्तु आलु, स्याउ, केरा लगायतको शित भण्डारमा भण्डारण गर्न सकिने थियो।
ठुलो क्षमताको शित भण्डारपछि कर्णालीका १० वटै जिल्लाबाट उत्पादित तरकारी तथा फलफुलहरु भण्डारण गरी बाह्रै महिना बजारीकरणमा सहयोग पुग्ने किसानहरुको अपेक्षा छ।