PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के थियो कारण मोहम्मद अफताव आलमलाई रातारात नख्खु ल्याइनुको?



पहिलोपोस्ट

के थियो कारण मोहम्मद अफताव आलमलाई रातारात नख्खु ल्याइनुको?

काठमाडौं : रौतहटको राजपुर बमकाण्डका अदालतले पूर्पक्षका लागि थुनामा पठाएका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रातारात गरेर ललितपुर ल्याइएको छ। शनिवार बिहान आलमलाई ललितपुरको नख्खु कारागारमा ल्याइएको हो।

एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको थियो। शुक्रवार राति नै कडा सुरक्षाका बीच आलमलाई ललितपुरको नख्खु कारागार पठाइएको हो। आलमलाई रौतहट प्रहरीले बिहान करिव साढे ४ बजे कारागारमा बुझाएर फर्किएको थियो।

'हामीले साढे चार बजे उहाँलाई रिसिभ गरेका हौं। अहिले उहाँ कारागारको नियन्त्रणभित्र हुनुहुन्छ,' नख्खु कारागारका जेलर सुरेन्द्र पाण्डेले पहिलोपोस्टसँग भने।

सरकारी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो। जन्मकैद सहितको माग दावी गर्दै अदालतमा दायर मुद्दामा आलमका तर्फबाट तीस जना भन्दा बढी वकिलले बहस गरेका थिए।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

रौतहट जिल्लामा पनि कारागार छ। तर, आलमको अपराधिक गतिविधिसँग कारागारमा हुने सम्पर्क लगायत अन्य सुरकालाई मध्यनगर गर्दै आलमलाई ललितपुर पठाइएको कारागार व्यवस्थापन स्रोतले जानकारी दिएको छ।

शुक्रवार अदालतले गरेको आदेशमा प्रहरीलाई जाहेरवाला, पीडित र साक्षीको व्यक्तिगत वासस्थानमा पनि सुरक्षा दिन आदेश गरेको छ। यस्तै, अदालतमा ल्याउने तथा लैजाने क्रममा बसोबास गरेको स्थानमा सुरक्षित रूपमा आवतजावत गर्न पनि आदेशमा भनिएको छ।

सासंद आलमको त्रासले अनुसन्धान र सुनुवाइका क्रममा प्रकरणमा जोडिएका साक्षीले बयान बदलेका थिए। घटनामा मृत्यु भएका भनिएका ओसी अख्तरकी श्रीमतीले आफ्ना श्रीमान् विदेश रहेको भन्ने ब्यहोराको निवेदन समेत अदालतमा दिएकी थिइन्।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell