PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चुनाव प्रचारमा स्तरहीन छेडछाड : महरा र आलम, प्रोपागान्डाका प्रतीक



नेत्र तामाङ

चुनाव प्रचारमा स्तरहीन छेडछाड : महरा र आलम, प्रोपागान्डाका प्रतीक

काठमाडौं : यतिबेला मुलुकका प्रमुख राजनीतिक दलहरु उपनिर्वाचनमा होमिएका छन्। प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस आक्रमक चुनावी प्रचारमा अग्रस्थानमा देखिएका छन्। यी दुई बाहेक साना पार्टीहरु पनि चुनावी अभियानमा छन् - जसको उपस्थितिबाहेक प्रभाव देखिन्न।

चुनावी सभामा एकले अर्काको विरोध गर्नु चुनावताका सामान्य नै हो। तर, यतिबेला भने कुनै व्यक्तिले गरेको अपराधलाई पार्टीमाथि नै ट्याग भिराएर नेताहरु तल्लो स्तरमा आरोप प्रत्यारोमा उत्रिएका छन्। गोयबल्स शैलीको प्रोपागान्डाको पुन: परिक्षण गरिरहेका छन् दलहरु।

नेताहरु मञ्चदेखि सामाजिक सञ्जालसम्मै छेडछाडमा उत्रिएका छन्। केही दिन अघिमात्र नेकपाका नेता सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा उपचुनाव गीत भन्दै लेखे -

'सररर पानी घट्टामा,

रुखमा भोट नहाल्नु कसैले

जिउँदै पोल्लान इँटा भट्टामा।'

विरोधीलाई जिउँदै जलाइएको आरोपमा पूर्व मन्त्री मोहम्मद आफताव आलम अहिले कारागारमा छन्। आलम नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएकाले अहिले नेकपाका नेता कार्यकर्ताका लागि विकाउको विषय बनेको छ उनको इस्यु।

बुधबार थापाले लेखेको यो गीत चुनावी सभामा गुञ्जिन थालिसकेको छ। दाङको क्षेत्र ३ प्रदेश ख मा नेकपाकी उम्मेद्वार विमला ओलीको चुनावी सभामा गुन्जिएको यो गीत अहिले सामाजिक सञ्जालमा भेटिन्छ।

नेपाल कम्युनिस्ट पार्टी नामको फेसबुक पेजबाट यो गीत सबैभन्दा बढी पटक हेरिएको छ।

यता, यही गीतविरुद्ध इंगित काउन्टर अट्याक भन्दै पूर्व सभामुख कृष्ण महरातिर लक्षित पत्रकार कुसुम भट्टराईले लेखेका छन्- 'काउन्टर अट्याक। सरर पानीघट्टामा। नेकपालाई भोट नदिनु कसैले। बलात्कार गर्छन् ठट्टै ठट्टामा। मान्छे मार्छन् ठट्टै ठट्टामा। बालुवाटारको जग्गा हडप्छन् कित्तै कित्तामा...।’

यसै गरी अर्का प्रयोगकर्ताले नेकपाका नेता सूर्य थापालाई ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्- 'भोट नदिनु सूर्य र सारीलाई किन दिनु भ्रष्ट र बलात्कारीलाई सरररर पानी घट्टमा छोरीचेली बचाउनु है हजुर, नेकपाबाट सिमानाको सट्टामा।'

अर्का प्रयोगकर्ता कृष्ण अधिकारीले कोही चोखो नभएको उल्लेख गर्दै लेखेका छन् - नेकपाको सररर पानी घट्टमा पछि कांग्रेसले नि यसरी चुनावी गाना बनाए अरिङ्गालहरु के गर्लान्? रातो टीका निधारमा टलक्क टल्कियो। महराजस्ता खेलाडी नेकपामा झुल्कियो। ए बिजुलीको तार तार तार...नेकपालाई भोट नदिनुस् बेच्याछन् बालुवाटार। चस्को त पर्ला नि!

त्यसो त केहीले भने दुवै पक्षलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेख्न भ्याएका छन्। माया पिरती ह्यान्डलबाट कास्कीको चुनावी गीत भन्दै लेखिएको छ,

काँग्रेस : गल्ती होला सूर्यमा भोट ठोकेर, ख्याल गर्नु है

दिदिबहिनी सांसद आउलान् कोठा मै रक्सी बोकेर...

नेकपा : सररर पानी घट्टामा, रुखमा भोट नहालौ जिउँदै

पोल्लान इट्टाभट्टामा...

यता ट्वीटरमै नवराज तामाङले चुनावी दोहोरी भन्दै लेखेका छन्

नेकपा : सरर पानी घट्टामा, रूखमा भोट नहाल्नु कसैले, जिउँदै पोल्छन इटाभट्टामा ।

नेका: हे भोट हाले सूर्य र हँसिया हथौडामा, नेता आइ घरघरमा, गर्लान् हमला दिदि बहिनीहरुमा ।

आयोग भन्छ : आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही

निर्वाचन आयोगले आचारसंहिता विपरीतका प्रचार सामग्रीको अनुगमन गर्ने जनाएको छ।

सामाजिक सञ्जालदेखि मिडियासम्म प्रचार सामग्री अनुगमन गर्न आयोगले आइतबार उपनिर्वाचन मिडिया अनुगमन इकाइ गठन गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले आचारसंहिता विपरीत कार्य गर्ने जोसुकैलाई आयोगले अनुगमन गर्ने र कालोसूचीमा राख्नेसम्मको कारबाही गर्न सक्ने बताए।

'आचारसंहिता विपरीतका कार्य गरेमा शुरुमा सचेत गर्ने र नमानेमा आयोगले निर्णय गरेर कालोसूचीमा राख्नेसम्मका कारबाही हुन्छ,' श्रेष्ठले भने, 'उजुरी लिने र आफैले पनि अनुगमन गर्ने काम इकाइले गर्नेछ।'

के छ आचारसंहितामा?

निर्वाचन आचार संहिता २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता २०७३ को परिच्छेद २ मा उम्मेद्वार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण शीर्षकमा यसबारे उल्लेख गरिएको छ।

परिच्छेद २ को ४ मा सामान्य आचारण शीर्षकमा १३ वटा विषय प्रस्तुत गरिएको छ। जसको ख मा भने यस्ता विषयमा आलोचना गर्न पाइने उल्लेख गरिएको छ। उक्त बुँदामा भनिएको छ, 'उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई आघात पर्ने गरी आलोचना गर्न नहुने, तर उम्मेद्वार वा राजनीतिक दलको सदस्यको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको कामको बारेमा आलोचना गर्न बाधा पर्ने छैन।'

यद्यपि, यस आचारसंहितामा कुनै व्यक्तिलाई जोडेर राजनीतिक दललाई नै आक्षेप लगाउन पाइने वा नपाइने भनेर उल्लेख भने गरिएको छैन।

के भन्छन् दलका नेताहरु?

कांग्रेसविरुद्ध गुञ्जिएको गीतबारे प्रश्न गर्दा दाङका कांग्रेस सभापति कीर्तिबहादुर खड्का भन्छन्, 'भन्ने नै हो भने उनीहरुले बाँदरमुडेमा कति हालेका छन्। दश वर्ष जनयुद्ध कति हाले। हामी यसको पछि लाग्दैनौ।'

कम्युनिस्टले संस्थागत अपराध गरेकोमा छुट र कांग्रेसले व्यक्तिगत अपराध गर्दा पनि छुट नदिएको आरोप लगाउँदै उनले चुनावी प्रचारमा आफूहरु अराजक नबन्ने बताए।

'हाम्रा पार्टीमा त्यस्तो अराजक र तल्लास्तरका प्रचार छैनन्। देश र जनताको पक्षमा काम गर्नको लागि हाम्रो पार्टी लागिरहेको छ,' उनले भने।

पार्टीगत हिलो छ्यापाछ्याप भन्दा पनि स्वस्थ प्रतिस्पर्धामा पक्षमा कांग्रेस उभिएको खड्काले बताए। उनले व्यक्तिगत विषयलाई पार्टीमा नमुछ्न कार्यकर्तालाई समेत आग्रह गरे।

यता, कास्की जिल्ला नेकपाका अध्यक्ष कृष्ण थापा पनि यस्ता विषयमा हरेक पार्टीले संयमता अपनाउनुपर्नेमा सुझाव दिन्छन्।

नेकपाको कास्की चुनावी कार्यक्रम संयमतापूर्वक अघि बढेको दाबी गर्दै थापाले भने, 'यहाँ हाम्रो एकदम राम्रो छ। घरदैलो गरिरहेका छौ। कोणसभा भइरहेको छ। मतदाताको जनताको रेस्पोन्स राम्रो छ।'

महरा प्रकरण र विभिन्न लन्छनाबारेको आरोपले जनतामा खासै असर नपर्ने समेत उनको दाबी थियो। अध्यक्ष थापाले भने, 'महरा जुन मान्छे भए पनि कानुनी कठघरामा ल्याएको छ सरकारले। महरा दोषी हुन् कि हैनन् भन्ने कुरा पनि अनुसन्धानमा छ। त्यसैले जथाभावी भन्दै चुनावी नारा बनाएर यसले असर गर्दैन।'

कांग्रेसले सारी र नारीको विषयलाई जोडेर निकृष्ट क्रियाकलाप गरेको आरोप लगाउँदै उनले भने, 'बुर्जुवा दर्शनलाई समर्थन गर्ने पार्टी हो काँग्रेस। त्यो भन्दा पनि निकृष्ट तरिकाले पनि कांग्रेसले क्रियाकलाप गर्दैछ।'

नेकपा सत्तासीन पार्टी भएकोले पनि निकृष्ट तवरको प्रचारमा उत्रन नहुने उनको सुझाव रह्यो।

'हामी त्यसरी अघि बढ्दैनौ। सत्तामा भएको पार्टीको नाताले त्यस्तो गर्न पनि सुहाउँदैन। संयम हुनुपर्छ भनेर कार्याकर्तालाई पनि आग्रह गर्दछु,' थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell