PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मुख्यमन्त्री शेरधन राईले एकै दिनमा गरे दुई संरचनाको शिलान्यास



रासस

मुख्यमन्त्री शेरधन राईले एकै दिनमा गरे दुई संरचनाको शिलान्यास
फोटो : रासस।

भोजपुर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र संघीय सांसद सुदन किरातीले पक्की पुल र रंगशालाको आज एक साथ शिलान्यास गरेका छन्।

पिखुवा खोलामा करिव छ करोड रुपैयाँ लागतमा बन्ने पक्की पुलको शिलान्यास गरिएको हो। यसले भोजपुर नगरपालिका–१२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ। त्यस्तै आज नै भोजपुर रंगशालाको पनि शिलान्यास गरिएको छ। रंगशाला प्रदेश नम्बर १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख रुपैयाँ लागतमा निर्माण हुने भएको हो।

रंगशाला विसं २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुरलाई नमूना जिल्ला बनाउन आफू लागि परेको बताएका छन्। उनले विकासको पूर्वाधार मुख्य आधार सडक रहेकाले आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिए। विकास निर्माणका लागि बजेट अभाव नरहेको उल्लेख गर्दै उनले कामलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड दिए।

राईले भने, 'हामीसँग बजेटको अभाव छैन, तर थालिएका काम प्रभावकारी र गुणस्तरीय ढङ्गले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ।'

पुललाई समयमै गुणस्तरीय ढङ्गले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए।

पक्की पुल नहुँदा खोलाबाटै सवारीसाधन तार्नु पर्दा निकै सास्ती हुँदै आएको थियो। रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने सो मुख्य सडकखण्ड हो। पुल निर्माण सम्झौताअनुसार दुई वर्ष अर्थात विसं २०७८ असारसम्म सम्पन्न गरिसक्नुपर्नेछ। निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell