PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नेशनल मेडिकल कलेजमा शिक्षा मन्त्रालय र विभागको छापा, अत्यधिक शुल्क असुलेकोमा छानविन सुरु



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजमा शिक्षा मन्त्रालय र विभागको छापा, अत्यधिक शुल्क असुलेकोमा छानविन सुरु

वीरगंज : शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय सर्तकता केन्द्रको संयुक्त टोलीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज छापा मारेको छ। टोलीले आज दिउँसो कलेजको कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।

तीन वटा निकायको ५ सदस्यीय प्रतिनिधि टोलीले अस्पतालको कागजातमा छानबिन शुरु गरेको बताइएको छ। अस्पतालका प्रबन्ध निर्देशक बसुरुद्दीन अंसारीको कार्यकक्षमा नै टोलीले सबै 'फाइल' अध्ययन गरेको बताइएको छ। अस्पतालका चार्टर एकाउन्टेन्ट वीरगंज बाहिर रहेकोले उनलाई टोलीले तत्काल उपस्थित गराउन निर्देशन समेत दिएको छ।

विद्यार्थीहरुसँग बढि शुल्क लिएको तर फिर्ता वा मिनाहा गर्न नचाहेको बिषयमा मन्त्रालयलगायतका निकायले पटक पटक पत्राचार गर्दा कलेजले अटेर गरेको भन्दै टोलीले अस्पतालका सबै कागजात झिकाई अनुसन्धान शुरु गरेको हो। एमबिबिएसका विद्यार्थीहरुसँग कलेजले ५ वर्षमा ६५ लाख सम्म लिएको विद्यार्थीहरुले आरोप लगाएका छन्। केही दिनअघि चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए।

पर्साका एसपी सोमेन्द्रसिंह राठौरले विभिन्न अनुसन्धानका लागि काठमाडौंको टोली आएको पुष्टि गरे। यसबारे प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसँग बुझ्दा टोली काठमाडौंबाट आएको तर के गर्न कलेजमा गएको भन्ने बारेमा बताउन नमिल्ने जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell