PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘सत्य निरुपणमा भट्ट र बेपत्तामा मल्लिक’लाई नेतृत्वमा ल्याउने तयारी, नामावली सार्वजनिक गर्दै सिफारिस समिति



कुञ्जरमणि भट्टराई

‘सत्य निरुपणमा भट्ट र बेपत्तामा मल्लिक’लाई नेतृत्वमा ल्याउने तयारी, नामावली सार्वजनिक गर्दै सिफारिस समिति

काठमाडौँः पदाधिकारी रिक्त भएको आठ महिनापछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगमा अध्यक्ष र सदस्य सिफारिसको अन्तिम तयारी थालिएको छ। कम्तीमा अबको एक सातामा दुबै आयोगमा पदाधिकारी सिफारिस हुने देखिएको छ। पदाधिकारी सिफारिस समितिले प्रत्यासीहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। सोमबार प्रत्यासीहरुको नाम सार्वजनिक हुनेछ।

सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। राजनीतिक सहमति कुर्दा समितिले लामो समयदेखि पदाधिकारी सिफारिस गर्न सकेको छैन।

आयोग स्रोतका अनुसार ६१ जनाको नामावली सोमबार सार्वजनिक हुनेछ।

जसमा आवेदन दिइ आयोगले योग्य ठहर गरेका ५० जना छन्। यस्तै, द्वन्द्वपीडितका विभिन्न संगठनबाट चार जनाको नाम सिफारिस भएको छ। ती नामहरु पनि सार्वजनिक हुनेछन्।

राजनीतिक सहमति अनुसार आयोगले सिफारिस समितिले सात जनाको नाम थप गरेको छ। जसमा दुबै आयोगको नेतृत्वको समेत नाम छ।

सिफारिस समितिले सत्य निरुपणको अध्यक्षमा त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसमा सह–प्राध्यापक गणेशदत्त भट्टको नाम थप गरेको छ। यस्तै बेपत्ता आयोगको अध्यक्षको प्रत्यासीमा समितिले यसअघिका अध्यक्ष लोकेन्द्र मल्लिकको नाम थप गरेको छ।

सदस्यहरुमा पुरानै नाम दोहोरिने सम्भावना देखिएको छ। आयोगले यसअघिका चार सदस्यलाई प्रत्यासीमा थप गरेको छ। जसमा बेपत्तामा आइबहादुर गुरुङ र नरकुमारी गुरुङ छन्। सत्य निरुपणका यसअघिका सदस्य श्रीकृष्ण सुवेदी र मञ्चला झाको नाम पनि सिफारिस समितिले थप गरेको छ। समितिले मानव अधिकारकर्मी डा. गंगाधर अधिकारीको नाम पनि थप गरेको छ।

दुई अध्यक्षका लागि १३ को आवेदन

सिफारिस समितिको आह्वान अनुसार दुई आयोगका अध्यक्षका लागि १३ जनाले आवेदन दिएका छन्।

जसमा दुबै आयोगको अध्यक्षका लागि सलाउद्दिन अख्तर सिद्दिकी, दुर्गाबन्धु पोखरलले आवेदन दिएका छन्। सिद्दिकी उच्च अदालतका न्यायाधीश हुन्। भने, पोखरेल अवकाशप्राप्त नायब महान्यायाधिवक्ता हुन्।

तत्कालीन संविधानसभा सदस्य दुमनसिंह थापा क्षेत्रीले सत्य निरुपणको अध्यक्ष र सदस्य दुबैमा आवेदन दिएका छन्। रेवन्तबहादुर कुँवरले पनि सत्य निरुपणको अध्यक्ष र सदस्य दुबैका लागि आवेदन हालेका छन्।

उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश अली अकबर मिकरानीले पनि दुबै आयोगको अध्यक्ष वा सदस्यमा आवेदन दिएका छन्। कानुन व्यवसायी ताराबहादुर न्यौपानेले पनि दुबै आयोगको अध्यक्ष वा सदस्यका लागि आवेदन दिएका छन्।

यस्तै, गोपीचन्द्र भट्टराईले सत्य निरुपणको अध्यक्ष वा सदस्यका लागि आवेदन दिएका छन्। सीताप्रसाद पोखरेलले पनि सत्य निरुपणको अध्यक्ष वा सदस्यका लागि आवेदन दिएका छन्। सत्य निरुपणकै अध्यक्ष वा सदस्यका लागि गोविन्द गौतमको पनि आवेदन परेको छ। यस्तै, अरविन्दकुमार सिंहको नाम पनि सत्य निरुपणको अध्यक्ष वा सदस्यको आवेदकको सूचीमा छ।

सत्य निरुपणको अध्यक्षका लागिमात्र पूर्वसचिव मधुप्रसाद रेग्मीको आवेदन परेको छ। यस्तै, उच्च अदालतका पूर्व न्यायाधीश युवराज सुवेदीले पनि सत्य निरुपणको अध्यक्षका लागि आवेदन दिएका छन्। उनी पूर्व नायव महान्यायाधिवक्ता पनि हुन्। सर्वोच्चका पूर्व न्यायाधीश कमल नारायण दासले पनि सत्य निरुपणको अध्यक्षका लागि आवेदन दिएका छन्। 

सदस्यहरुमा पुरानैको सम्भावना

बेपत्ता आयोगमा यसअघि सदस्य रहिसकेका विष्णु पाठकले पनि पुनः सदस्यकै लागि आवेदन दिएका छन्। कानुन व्यवसायी सुनील रञ्जन सिंह, लक्ष्मी पोखरेलले सदस्यमा आवेदन दिएका छन्। पोखरेलको नाम द्वन्द्वपीडित समितिबाट सिफारिसमा परेको छ।

सत्य निरुपणकी पूर्व सदस्य माधवी भट्टको नाम पनि द्वन्द्वपीडित राष्ट्रिय समाजबाट सिफारिसमा छन्।

समितिले नामावली सार्वजनिक गरेपछि पाँच दिनसम्म उजुरी दिन सकिनेछ। उजुरी अध्ययनपछि समितिले नियुक्तिका लागि नाम सिफारिस गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell