
'दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आयोजना हुने र यहाँकै मिडिया र फोटोग्राफरहरुले फोटो र भिडियो लिन नपाउने? नेपाल जस्तो प्रजातन्त्रिक देशमा यो के भएको? '
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनैलाग्दा अहिले नेपाली खेल क्षेत्रमा चासो राख्नेहरुबीच यस्तै खालका बहस चुलिएको छ।
पहिलेदेखि १२ औं सागसम्म टेलिभिजन प्रसारण अधिकार कसैलाई दिइएको थिएन। तर, नेपालमा हुने १३ औं सागबाट टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता भारतीय कम्पनीलाई दिइएपछि बहस जन्मिएको हो।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिसँग प्रसारण अधिकार सम्बन्धी सम्झौता गरेपछि नेपाली मिडियालाई बाइपास गरेको भन्दै विरोधको आवाज गुञ्जिएको हो।
आइतबार पत्रकार सम्मेलनमार्फत् ओलम्पिक कमिटी र खेलकुद परिषदले सम्झौता सार्वजनिक गर्दा नेपालमा आयोजना हुन गइरहेको सागमा नेपाली मिडियाको भूमिका निस्कृय बनाउन लागिएको चर्चा उब्जिएको हो। अहिले सामाजिक संजालमा नेपाली भूमिमा हुने खेलको भिडियो र फोटो लिन नेपाली मिडियालाई नदिने गरी भएको सम्झौताको विरोध भइरहेको छ।
सम्झौता अनुसार नेपाली पत्रकारहरुले फोटो भिडियो स्वतन्त्र रुपले खिच्न नपाउने भएसँगै फोटो जर्नालिस्ट क्लब (पीजे क्लब) र नेपाल खेलकुद पत्रकार मञ्चले ओलम्पिक कमिटी तथा राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण गराएका छन्।
सम्झौतापत्रमा भएका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यी दुई संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सागको समयमा खेल हुने स्थानमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिने लगायतका विषय नेपाल जस्तो प्रजातान्त्रिक मुलुकमा बसेर स्वीकार्य हुन नसक्ने उल्लेख छ।
सम्झौता अनुसार प्रसारण अधिकार वापत उक्त कम्पनीले एनओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्ने छ। त्यसबापत एनकेले मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण गर्ने छ। त्यसैगरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एनओसीले पाउने छ।
एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजन मार्फत् सबै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ। एनके मिडियाले सहभागी सातवटै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। खेलमा अफगानिस्तान सहभागी हुने या नहुने अझै प्रस्ट भइसकेको छैन।
किन बेचियो प्रसारण अधिकार?
संसारभर हुने ठूला प्रतियोगिताको 'प्रसारण अधिकार' बेच्ने गरिन्छ। सागमा यो पहिलो सुरुवात हो। त्यसमाथि नेपालमा हुने भएकाले यसको चर्चा बढी हुने नै भयो। भारतीय मिडियालाई प्रसारण अधिकार दिएर नेपाली मिडियालाई 'बाइपास' गर्न खोजेको आरोप लगाउने जमात नै खडा हुँदैछ। तर, सरोकारवालाहरु भने सागलाई कुनै देश विशेषको नभइ समग्र दक्षिण एसियाली राष्ट्रको प्रतिनिधिमूलक खेल भएको भन्दै यसको व्यवसायिकरणका लागि प्रसारण अधिकार दिने सुरुवात भएको बताउँछन्।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ यस सम्झौतालाई ऐतिहासिक भएको बताए।
'साग खेलकुद नेपालबाटै सुरु भएको हो र यसको प्रसारण अधिकारको प्रारम्भ पनि नेपालबाट नै हुँदैछ। ओलम्पिकले पनि खेलको प्रसारण अधिकार बिक्री गरेपछि फड्को मारेको हो,' श्रेष्ठले भने, 'अहिले ओलम्पिक आयोजनाका लागि कडा प्रतिस्पर्धा हुन्छ। एसियाली खेलकुदमा पनि प्रसारण अधिकारका लागि हानथाप हुन्छ। अब नेपालबाट साग खेलकुदमा पनि यसको सुरुवात भएको छ।'
सम्झौतासँगै सागको प्रसारणमा व्यवसायिक सुरुवात भएको उनी मत राख्छन्।
राखेपका सदस्य सचिव रमेश सिलवाल पनि श्रेष्ठको भनाइमा सहमत छन्।
'यो एउटा नौलो प्रयास हो। नेपालमा भएको साग खेलकुद हामीकहाँ मात्र सीमित नहोस् भन्ने पनि यस सम्झौताको उद्देश्य हो,' सदस्यसचिव सिलवालले भनेका छन्।
यता वरिष्ठ खेल पत्रकार राजु सिलवाल खेलको प्रसारण अधिकार दिने अन्तर्राष्ट्रिय प्रचलन भएको बताउँछन्।
'संसारभर प्रसारण अधिकार बेच्ने चलन छ। क्यानले पनि बेच्न सुरु गरेको र एन्फाले यसअघि बेचेकै हो। दक्षिण एसियाली खेलकुदमा चाहिँ यो पहिलो पटक हो,' सिलवालले भने।
अहिले विदेशी मिडिया भित्र्याएर नेपाली मिडियाले फोटो खिच्न समेत नपाउने अवस्था सिर्जना भएको भनेर एकातर्फ आलोचना भइरहेको छ भने अर्कोतर्फ सबै खेलको अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गरेर खेललाई व्यवसायिक बनाउने तर्क अघि सारिएको छ।
वरिष्ठ पत्रकार सिलवाल यो नेपालको मात्र खेल नभएकाले सार्क राष्ट्रको मिडिया आउनु भनेको नेपाली राष्ट्रिय खेलमा विदेशी च्यानल आएको भन्न नमिल्ने बताउँछन्।
'यो नेपालको मात्र खेल होइन। यो दक्षिण एसियाली खेल भएकाले यसमा भारत पनि सहभागी हुन्छ। त्यसको अर्थ नेपालको राष्ट्रिय खेलमा विदेशी च्यानल आएको होइन। दक्षिण एसियाकै एउटा मुलुक आएको हो,' सिलवालले भने।
तर, सम्झौता अनुसार भारतीय कम्पनीहरुको दायित्व पनि धेरै हुने उनी बताउँछन्।
'२७ वटै खेलको लाइभ गर्ने भनेको छ। त्यो लाइभ गर्न त्यति सजिलो चाहिँ छैन। क्यामरादेखि जनशक्ति ठूलो परिमाणमा चाहिन्छ। कमेन्ट्री पार्ट हुन्छ। सबै देशमा जाने हुँदा अझ् अंग्रेजी भाषाको कमेन्ट्री चाहिन्छ। सहभागी मुलुककै हिसाबले भारतीय च्यानल आउनु चाहिँ सामान्य प्रक्रिया हो।'
विरोध सुरु भएपछि ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्यसचिव रमेशकुमार सिलवालले भने अन्तर्राष्ट्रिय प्रचलन अनुसार निर्बाध रुपमा फोटो पत्रकारलाई फोटो खिच्न दिने र भिडियो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।