PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी



रासस

उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी
फाइल फोटो।

काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ‘दुबई एयर–शो’ को उद्घाटन समारोहमा सहभागी भएका छन्। संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा मन्त्री पोखरेल गत कात्तिक ३० गते युएई गएका थिए।

‘एअर–शो’को पहिलो दिन आइतवार भएको उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेल उपस्थित भएको अबुदाबीस्थित नेपाली राजदूताबासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। उद्घाटन शत्रपछि शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीसँग दिवाभोज बैठक भएको थियो। त्यस क्रममा उनीहरुबीच आपसी हितका वृहत्तर विषयमा छलफल भएको थियो।

उपप्रधानमन्त्री पोखरेलले नेपालमा पूर्वाधार विकास, पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। युएईका प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आगामी दिनमा नेपालमा लगानीका अवसर खोज्नका लागि युएईबाट प्रतिनिधि पठाउन तयार रहेको बताएका थिए।

उनीहरुबीच सैन्य सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो। नेपाली श्रमिकको कामप्रति युएईका प्रधानमन्त्रीले प्रशंसा पनि गरेका थिए। सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले युएइका प्रधानमन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागिताका लागि विशेष निमन्त्रणा दिएका थिए। उद्घाटन शत्रका क्रममा उपप्रधानमन्त्री पोखरेलले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टै भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी गरेका थिए।

उपप्रधानमन्त्री पोखरेल नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा आज नेपाली तथा विभिन्न देशका व्यवसायी एवं लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा विशेष छलफल गरेको जनाइएको छ। सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ। विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनका रुपमा समेत लिने गरेका छन्। यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी भएको हो। उपप्रधानमन्त्री पोखरेल यही मंसिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell