PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ने क पाका कार्यकर्ताबीच कांग्रेस नेताको राष्ट्रवादी भाषण, भयो तालीको वर्षा



कुञ्जरमणि भट्टराई

ने क पाका कार्यकर्ताबीच कांग्रेस नेताको राष्ट्रवादी भाषण, भयो तालीको वर्षा

काठमाडौं : राजनीतिक दलका नेताहरु अर्को दलको कार्यक्रममा खासै उपस्थित हुँदैनन्। एक दलका नेताले अर्को दलको उछितो काट्नु परम्परा जस्तै बनेको छ भन्दा अन्यथा नहोला।

तर केही समययता राजनीतिक पार्टीका नेताहरु फरक राजनीतिक दलले आयोजना गरेको कार्यक्रममा देखिन थालेका छन्। यसको एउटा कारण हो राष्ट्रियता। यतिबेला छिमेकी मूलुकहरुले अतिक्रमण गरेको भूमिको विषयमा दलहरुले अन्तर्क्रिया गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सर्वपक्षीय बैठक राखेर सीमाको विषयमा राष्ट्रिय सहमति जुटेका थिए।

छिमेकी मूलुक भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समावेश गरेपछि यस विषयले तरंग नै पैदा गरेको छ। यहि विषयमा अन्तर्क्रियाका लागि स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पस कमिटीले गरेको सीमा अतिक्रमण विषयक कार्यक्रममा ने क पा र नेपालीका कांग्रेसका नेता एउटा मञ्चमा देखिए।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा ने क पा स्थायी कमिटी सदस्य भीम रावल प्रमुख अतिथि थिए। सोही कार्यक्रममा अन्य वक्ताका रुपमा ने क पाका केन्द्रीय सदस्य ठाकुर गैरे र लेखनाथ न्यौपाने र सँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ पनि थिए। कार्यक्रम हल ने क पा निकट नेता कार्यकर्ताहरुले भरिभराउ देखिन्थ्यो।

कार्यक्रमका अतिथिहरुले युवा विद्यार्थीलाई तताउने खालका भाषण दिए। केही नेताहरुले भाषण गरेपछि पालो आयो कांग्रेस नेता भण्डारीको। उनको भाषणले हलमा तालीको वर्षा नै भयो।

अरुलाई औँला ठड्याउनु भन्दा पहिले आफ्नो थैलो बलियो हुनुपर्छ भन्दै भाषण शुरु गरेका भण्डारीले देशका विभिन्न विषयमा आफ्ना असन्तुष्टि पोखे। नेता भण्डारीले ठूला घर बनाएर, पर्खाल लगाएर र गार्ड राख्दैमा सीमा सुरक्षा नहुने बताए।

'देशका सिमानामा सुरक्षा छैन नेताका घरमा पर्खाल लगाएर सुरक्षा गार्ड राखेका छन्। यो भन्दा लाजमर्दो कुरा के हुन्छ,' उनले भने, 'सेना, प्रहरी र जनपथ प्रहरी छ, ठूला नेताहरुका अघिपछि ट्वाट्वा गर्दै हिँडेका छन्।'

उनले भारतीय नाकाबन्दी पनि स्मरण गरे। नाकाबन्दीको समयमा भारतको संसदमा छलफल भएको तर नेपालको संसदमा हुन नसेको बताए।

उनले भने, 'नेपालमा नाकाबन्दी हुँदा भारतको सदनमा छलफल हुन्छ। तर नेपालको संसदमा छलफलल भएन। विषादीयुक्त तरकारी खाँदा मित्रताका लागि संसदमा छलफल भएन।'

सरकारमा कुन पार्टीले देशको पक्षमा बोल्छ भन्ने कुरा अब महत्वपूर्ण हुने बताए।

उनले भने, 'ने क पा आएपनि कांग्रेस आएपनि सदनमा देशको कुरा बोल्छ कि बोल्दैन। अबको राजनीति त्यहाँबाट शुरु हुनुपर्छ।'

उनले पार्टीका नेताहरुले वीर गोर्खालीको पहिचान जोगाउनेतर्फ शीर्ष नेताहरुले सोच्न नसकेको आरोप लगाए।

'यो विषयमा शेरबहादुरजी, ओलीजी, प्रचण्डजी, माधवकुमारजी झलनाथजी, बाबुरामजीले सोच्नुपर्दैन्रु अरु देशले भए यस्ता कुनै पार्टीलाई पनि सदस्यता दिने थिएनन्,' उनले भने।

उनले कुनै पनि नेता पार्टीको नेता बन्न नसकेको आरोप लगाए। नेताहरु व्यक्तिगत र गुटगत स्वार्थमा लागेको उनले बताए। नेताहरु गुट र परिवारवादमा लागेकाले विदेशीहरुले आक्रमण गरेको उनको भनाई थियो। देशको निम्ति सर्वदलीय सहमति स्वागत योग्य भए पनि सरकारले आफ्ना कुरा सार्वजनिक नगरेको उनले बताए। उनले स्वार्थबाट पछि हट्न नसकेकाले छिमेकीहरुले हेपेको बताए।

उनले सीमाका विषयमा वार्ताबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए। अरुलाई आरोप लगाएर बस्ने बेला नभएको भन्दै उनले दुईतिहाइ पाएका ओलीले काम गर्नुपर्ने उनको भनाइ थियो। उनले संसारमा ४० वर्षका मानिसहरुले नेतृत्व गरेको भन्दै पार्टीका शीर्ष नेतृत्वले युवालाई अघि बढाउनुपर्ने धारणा राखे।

नेता भण्डारीले झण्डै आधा घण्टाको भाषणका क्रममा निकै वाहवाही पाएका थिए। उनले गोर्खालीको जमिन मिच्दा भारतलाई शान्ति नहुने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell