PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बमले सर्वश्व सक्यो, ज्यान चै जोगियो, न विप्लवका भए न सरकारकै, छोटु भन्छन् : मरेकै थिएँ भने ठीक हुन्थ्यो

बमले सर्वश्व सक्यो, ज्यान चै जोगियो, न विप्लवका भए न सरकारकै, छोटु भन्छन् : मरेकै थिएँ भने ठीक हुन्थ्यो

सविन ढकाल/पहिलोपोस्ट


‘धेरैतिरको आश मरिसक्यो। अब एउटा आश उहाँको मात्र छ। जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ।'

मलिन अनुहार पारेर छोटुले यस्तै सुनाए। उनको भनाइ र अनुहारको भावभंगीले प्रस्ट पारिरहेको थियो - धरै तिरबाट धोका खाइसके यिनले। अनि जीवनसँगै हार मानिसकेका पनि।

हातमा दुई वटा झोला, त्यसभित्र केही लत्तकपडा र दजनौं कागजपत्र।

‘कति पटक धाइसके अझै भएकै छैन। कहिले के कहिले के, आज पनि त्यहीँ पुगेर आएको,' निराशाकै भावमा छोटुले सुनाए।

लफ्र्याङ् लफ्र्याङ गर्दै बुढो शरीर लिएर उनी ट्रमा सेन्टर हुँदै दरबामार्ग आइपुगेका थिए।

+++

नाम : छोटु ठाकुर

उमेर : ६० वर्ष

पेशा : नाई

ठेगाना : महोत्तरी।

छोटु मंसिर १ गते मध्यरातमात्रै महोत्तरीको रामनगरबाट काठमाडौं आइपुगेका हुन्। काठमाडौं उत्रेसँगै केही बेर सुते अनि पुगे राष्ट्रिय ट्रमा सेन्टर।

छोटु तिनै हुन् जो गएको जेठ १२ गते सुकेधारामा भएको विस्फोटमा परी घाइते भएका थिए।

छोटुलाई बमले ढलायो तर ज्यान नै लिन चाहिँ सकेन। चार महिना अस्पतालमा उपचार गराउनु पर्‍यो। त्यसपछि अधकल्चो शरीर बोकेर उनी हिँड्डुल गर्न थाले। आतंकित बनाउँदै ४ जनाको ज्यान लिने गरी भएको विस्फोटमा पनि नढलेको छोटुको हिम्मत यतिखेर भने पूरै टुटेको छ।

‘किन बाँचे छु जस्तो लाग्छ। त्यहीँ मरेको भए त यस्तो दु:ख खेप्नु पर्दैन थियो,' टिलपिलाएका आँखा पुछ्दैं भने, 'मलाई बाँचेकोमा पछुतो छ।'

+++

२०३० सालमा बुबाको हात समाएर काठमाडौं छिरेका थिए छोटु। त्यतिखेर १३ वर्षको कलिलो उमेर। किन काठमाडौं आए? के गर्ने? केही थाह थिएन। तर, शहरले छिट्टै उनलाई तान्यो। यहाँको रमझममै रमाए छोटु। उनका बुबा पेशाले नाइ। कलिलो उमेरमा नै छोटुको हातमा काइँयो र कैची पर्‍यो। बाबुले जता जता लग्थे त्यहीँ जान थाले। बाबुसँगै उनको औंलामा पनि कैची र काइँयो चल्न थाल्यो। सुरुमा कपाल काट्दा केही बिग्रिन्थ्यो। उनका बाबुले मिलाइदिन्थे।

यसैगरी समय बित्दै गयो। छोटु सिपालु नाई भएर निस्किए।

‘बुबाले नै सिकाउनु भएको हो। काठमाडौंमा थुप्रै वर्ष धेरै मानिसको कपाल काटेको छु,' छोटुले विगत सुनाइरहँदा उनको अनुहारमा थोरै भए पनि खुशी झल्कियो।

धेरैको कपाल र दारी मिलाएर चिटिक्क पार्ने छोटु अहिले भने फुस्रो अनुहार, झुस्स दाह्री लिएर न्यायको खोजी भौतारिँदै छन्।

+++

लामो समय ज्यालादारीमा केश काट्दै हिँडेका छोटुले दुईवर्ष अघिमात्र आफ्नै व्यवसाय सुरु गरेका थिए। यसअघि उनी अरुकै सैलुनमा काम गर्थे। कमाएको पैसा छोराछोरी पठाउँदा र खाना लगाउँदा नै सकिन्थ्यो। बचतका नाममा केही सयमात्र रहन्थ्यो। छोटुमा आफैँले केही गर्नुपर्छ भन्ने सोच आयो। सुकेधारामा १५ हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी सटर लिए र खोले आफ्नै सैलुन। त्यसमा पाँच लाख रुपैयाँ लगानी गरे। त्यसपछि वर्षेनी लगानी बढाउँदै गए। सामान पनि थप्दै गए।

व्यवसाय राम्रै चल्दै थियो। छोटुको कपाल काट्ने सिपले ग्राहक तानिँदै थिए। घरपरिवार र छोराछोरीको पठाइ खर्च राम्रैसँग चलेको थियो।

‘राम्रो चलेको थियो। वर्षेनी कुर्सी थप्दै थिएँ। सैलुन खोज्दा लिएको ऋण पनि तिर्दै गएको थिएँ,' छोटुले भने।

पाँच लाखमा खोलेको सैलुनको मूल्य १० लाख रुपैयाँ पुगेको मूल्याङ्कन छोटुले निकालिसकेका थिए। उनलाई लाग्थ्यो- 'अब १० लाखको मालिक भएँ।'

लामो समय अरुकहाँ ज्यालामा काम गर्न जाने छोटु अरुलाई ज्यालामा लगाउने भइसकेका थिए।

+++

जेठ १२ गते सबै कालिगढ बिदामा थिए। छोटु एक्लै बिहानदेखि कपाल काट्ने र दाह्री बनाउनमा व्यस्त। ग्राहकको चापले खाना खान समेत फुर्सद मिलिसकेको थिएन। त्यसमाथि उनी मुटुका रोगी। औषधि खाएको लामो समय भइसकेको थियो।

दिउँसो ३ बजेतिर छोटुको कैचीले विश्राम पायो। तर, त्यो विश्राम त्यति लामो होला भन्ने कल्पनासमेत गरेका थिएनन्। उनी खाना खान निस्किए। सैलुन नजिकैको डेरामा पुगे, खाना खाए।

सैलुनमा कोही ग्राहक छिरेजस्तो देखे उनले। र, त्यतै लस्किए। नभन्दै दुई तीन जना मानिस आएका रहेछन्।

'दुई तीन जना मानिस थिए। झोलासोला बोकेका। कपाल काट्ने हो भनेर सोधेँ। 'होइन' भने,' उनले भने।

उखर्माउलो गर्मी हुन थालिसकेको थियो। छोटुलाई जस्ताको छानो भएको सैलुनमा झनै तातो महसुस भयो। काम नभए बाहिर नै बस्ने विचार गरे। उनी निस्किनमात्र के खोजेका थिए, केही पड्किएको चर्को आवाज सुने। त्यसपछि उनलाई केही थाहा भएन।

पाँच दिनपछि छोटुको होस खुल्यो, ट्रमा सेन्टरको बेडमा।

सुकेधारमा भएको विस्फोटमा परी दुई जनाले घटनास्थलमै ज्यान गुमाए। दुई जनाको अस्पतालमै ज्यान गयो। छोटु भने बाँचे।

+++

छोटुको एकाएक परिचय फेरियो। प्रहरीको नजरमा उनी ठहरिए - नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ता।

जेठ १३ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो। बन्दको पूर्व सन्ध्यामा काठमाडौंमा सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएको थियो। घट्टेकुलोमा एक जनाको ज्यान गयो।

छोटुलाई पनि प्रहरीले विप्लवको कार्यकर्ता झै अनुसन्धान गर्‍यो।

‘बेडमा समेत प्रहरी खटाइएको थियो। म प्रहरीकै निगरानीमा थिए,' छोटुले भने।

घटनाको एक महिनामै उनी डिस्चार्ज भए। तर, दुई करङ भाँचिएका थिए। बमले हात कामै नगर्ने भयो। खुट्टाले आफ्नै शरीरको भार समेत सम्हाल्न छाड्यो। उनी डिस्चार्ज त भए तर त्यहाँबाट तय भयो हिरासत यात्रा।

अस्पतालबाट उनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त महाजगञ्ज पुर्‍यायो। एक दिन हिरासतमा राख्यो। अनुसन्धान भयो। प्रहरीको नजरमा छोटु विप्लवका कार्यकर्ता। एक दिन र एक रात प्रहरी नियन्त्रणमा रहेपछि उनलाई छाडिदिए।

त्यसपछि उनी कपनमा छोरीको कोठामा पुगे। कोठामा उनकी छोरी थिइनन्। त्यहाँ पुगेको केही दिनमा नै फेरि उनको शरीर नराम्ररी दुख्न थाल्यो। छोरीले तीन दिनपछि अस्पताल पुर्‍याइन्। तर, यसपटकको अस्पताल बसाई झनै लामो भयो। पूरै दुई महिना अस्पताल बसे।

बेडमा पुग्दा प्रहरीको निगरानीभन्दा बाहिर थिएनन् उनी

+++

अस्पतालको बिल उठ्यो साढे ४ लाख रुपैयाँ। छोटुको साथमा पैसा हुने कुरै भएन। १० लाख रुपैयाँ बराबरको मूल्याङ्कन गरिएको सैलुन खरानी भइसकेको थियो। सैलुनमा बचेको नागरिकता र १०/१२ हजार रुपैयाँ पनि प्रहरीले अनुसन्धानका लागि जफत गरेको थियो।

‘एक पैसा थिएन। बिल मात्र साढे चार लाख! अरु औषधी उपचार खाना, अस्पतालमा बस्दाको खर्च कति भयो भयो। श्रीमतीले पाँच कठ्ठा जग्गा बन्धकीमा राखेर अस्पतालको पैसा तिरेर डिस्चार्ज गरिन्,' ठाकुरले सुनाए।

अस्पतालबाट डिस्चार्ज भएपछि छोटुलाई एउटा आश थियो। सरकारले उपचार खर्च बेहोर्ला। उनले गृह मन्त्रालयसम्म पुग्ने योजना बनाए। तर, उनीसँग नेपाली नागरिक हुँ भन्ने नागरिकता समेत साथमा थिएन। नागरिकता लिन उनी प्रहरी कहाँ पुगे। तर, प्रहरीले उल्टै हिरासत राख्यो। १३ दिन फेरि हिरासतकै बास।

छोटु विप्लवको कार्यकर्ता भए नभएको पत्ता लगाउन प्रहरी जुट्यो। तर, केही हात लागेन। विप्लवले पनि उनी आफ्नो कार्यकर्ता भएको दावी गरेनन्। तर, मरेका ४ जना सबैलाई विप्लवले आफ्नो कार्यकर्ता भएको स्वीकारे।

छोटुको सैलुन खरानी भयो। सँगै उनका सपना पनि।

‘मलाई पूरै अपराधी झै व्यवहार भयो। तर, मेरो पीडा कसैले बुझेन,' छोटुले भने। यतिखेर उनको गाँसबासका लागि सबै बाटो बन्द भइसकेको छ।

कहाँ बस्ने? के खाने? कमाउन सक्ने अवस्था छैन। अब त अरुकै सैलुनमा गएर कैची समेत चलाउन सक्दैनन्। कैची नचाउने उनका ‌औला विस्फोटपछि स्थिर छन्।

'कसरी गर्नु काम? ‍औला नै चल्दैन। हातको हड्डीमा असर परेको छ,' छोटुले भने, 'फेरि अपरेसन गर्नुपर्छ भनेको छ।'

साह्रै पीडित भएको देखेपछि नाइ संघका अध्यक्षले उनलाई लज खोजिदिए बासका लागि। केही दिन त्यही बसे।

छोटुलाई लागेको थियो - सरकारले क्षतिपूर्ति दिन्छ होला। त्यसैले कुँजो शरीर बोकेर चारैतिर धाए। १० पटक भन्दा बढी त जिल्ला प्रशासन कार्यालय नै पुगे। आफ्नो वडादेखि केन्द्रसम्म पनि।

‘म कुनै पार्टीमा हिँड्दिन। कपाल काटेर खाने मान्छे। राज्यले पनि राम्रोसित हेरेन। राजनीतिक दलको कार्यकर्ता नभएर नै यस्तो गरेको होला।'

ठाकुर तीन दिन अघि आफ्नै गाउँमा अपाङ्गताको प्रमाणपत्र पाउने आशामा पुगेका थिए। तर, वडाले प्रमाणपत्र दिने आश्वासन मात्र हात पर्‍यो। अनि फेरि काठमाडौं नै फर्किए। अस्पतालबाट खर्चको विवरण जुटे जिल्ला प्रशासनले क्षतिपूर्ति दिन्छ कि भन्ने आशा थियो।

उनको सैलुन भएको घरका साहुले २२ लाख रुपैयाँ क्षतिपूर्ति पाएको सुनेपछि उनी झनै ठगीएको महसुस गरे।

‘सायद मलाई मधेशी र गरीब भनेर राज्यले हेपेको होला। मधेशी नागरिकलाई यो देशको होइन पल्लो दर्जाको नागरिक भनेर सोच्छ यो सरकारले। म गरीब भएर हेपेको,' राज्यको दृष्टिकोणले उनलाई यस्तो भन्न बाध्य बनायो।

तीन दशक लामो काठमाडौंको बसाइ उनी छोड्न सक्दैनन्। किनकि काठमाडौंसँग उनको ऋणको भारी पनि छ। उनलाई सरकारले क्षतिपूर्ति दिए ऋणबाट मुक्ति हुने आशा छ।

‘म मधेशी भए पनि मेरो राजधानी त काठमाडौं नै हो नि। छोड्न सक्दिन। काम पर्छ आउनै पर्‍यो नि,' ठाकुरले भने।

उनको अझै उपचार सकिएको छैन। बिरामी नै छन्। अहिले उनी काठमाडौंको कविर आश्रममा बसेर न्यायको प्रतीक्षा गरिरहेका छन्। क्षतिपूर्तिको आशामा सरकारी अड्डा धाइरहेका छन्।

सुरुदेखि नै कुरा गर्दा उनले 'अब उहाँको मात्र आशा' छ भनिरहेका थिए। आखिर त्यो 'उहाँ' चाहिँ को हो त? चासो स्वभाविक थियो। सोध्यौं।

उनले भने, 'भगवान शिव।'

निधारको टीका देखाउँदै भने, 'आशा अब उहाँको मात्र हो।'



ट्रेन्डिङ पोस्ट

Ncell