
काठमाडौं : अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेमले नेपाली मिडियामा राम्रै चर्चा पाउने गरेको छ। त्यसो त पछिल्लो समय उनीहरु 'रियल लाइफ कपल' मात्र नभएर रिलमा पनि एकसाथ देखिदै आएका छन्।
पछिल्लो समय उनीहरुले फिल्म 'पोइ पर्यो काले' मा एकसाथ काम गरेका थिए। फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाए तर फिल्म भने व्यापारिक रुपमा सफल भएन।
त्यसो त सौगातकै कारण सृष्टिलाई लगातार फिल्महरुको अफर पनि आइरहेको छ। आजभोलि सौगातको हरेक फिल्ममा सृष्टि सानो रोलमै भए पनि अटाएकै हुन्छिन्।
हालै सार्वजनिक भएको सौगात अभिनित फिल्म 'माछा माछा'मा समावेश 'म्याडम म्याडम' बोलको नयाँ गीतमा पनि सृष्टिले 'आइटम डान्स' गरेकी छिन्। गीतमा सौगात र सृष्टि नै फिचर्ड छन्।
सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सौगातले सृष्टिसँग काम गर्न पाँउदा सधैँ रमाइलो लाग्ने खुलासा गरे।
उनले भने, 'मलाई जहिल्यै पनि सृष्टिसँग बोल्न, काम गर्न, बस्न रमाइलो लाग्छ र मेरो खुसीको कारण पनि सृष्टी। म शब्दमा व्यक्त गर्न सक्दिनँ कि मलाई सृष्टिसँग काम गर्दा कतिको खुसी लाग्छ भनेर।'
फिल्म 'माछा माछा'मा सौगात मल्लसँगै नम्रता श्रेष्ठ, विजय बराल, सरिता गिरि, भोलाराज सापकोटा, पुष्कर गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा निर्देशक गुरुङकै लेखन रहेको छ।
त्यसो त २०१२ मा मिस नेपालको उपाधि जितेकी सृष्टिले २०१६ मा प्रदर्शनमा आएको फिल्म 'गाजलु'बाट नेपाली सिने क्षेत्रमा 'डेब्यु' गरेकी थिइन्। उनले 'रोमियो एण्ड मुना', 'बाँध मायाले', 'पोइ पर्यो काले' लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छिन्। तर उनका अधिकांश फिल्महरुले नेपाली बजारमा राम्रो व्यापार गर्न सकेका छैनन्।