PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पत्रकार खेम भण्डारीलाई १ घन्टा जेल हालियो र १ रुपैयाँ जरिवाना पनि तिरायो अदालतले

पत्रकार खेम भण्डारीलाई १ घन्टा जेल हालियो र १ रुपैयाँ जरिवाना पनि तिरायो अदालतले

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई दिएको 'तुच्छ सजाय' अन्तर्गत कारगार पठाएको छ। मगलवार अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवान सहित एक घण्टा कारागार पठाएको हो। पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा छन्।

जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको थियो। मुद्दामा जिल्ला अदालतले भण्डारीविरुद्ध एक घण्टा जेल र एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।

गत साउनमा न्यायाधीश डाक्टर राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो। त्यसमा केही सर्तहरू राखिएका थिए। सर्त पूरा नगरेको खण्डमा मात्र अदालतले दिएको सजाय भोग्नु पर्ने हुन्छ। त्यति मात्र होइन, सर्त पूरा गर्न तीन दिनको समय समेत छुट्ट्याइएको थियो।

विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी समाचार लेखेको भन्दै कञ्चनपुर जिल्ला बारले मुद्दा दायर गरेको थियो। निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणमा जोडिएका आठ प्रहरी विरुद्धको मुद्दामा हद म्याद लगायतका प्राविधिक विषयमा अदालतले एमिकस क्यूरी गठन गरेको थियो।

सो विषयलाई मानस खण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले 'निर्मला हत्याकाण्ड: न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन!' शीर्षकमा समाचार छापेका थिए।

समाचारमा 'एमीकसका रूपमा पठाइएका अधिवक्ता हरेन्द्रराज विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दाबी गरिएको थियो। न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दाबी गरिए पनि समाचारमा 'दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन' लेखिएको थियो।

पत्रकार भण्डारीले फेसबुक तथा पत्रिकामा अदालतको मानहानी हुने गरी लेखेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको थियो। अदालतको फैसलामा पत्रकार खेम भण्डारीलाई 'तुच्छ सजाय' दिनुको कारण समेत स्पष्ट खुलाइएको थियो। फैसलामा लेखिएको थियो -

'यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ (Mean/Damn) छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ। यस्तो अवस्था कहिलेकाहीँ क्षतिपूर्ति भराउने सम्बन्धमा पनि देखा पर्दछ। वादीले मुद्दा नगरेको भए हुने थियो तर गरिहाल्यो भनेर यस्तो प्रकृतिको क्षतिपूर्ति पनि भराउने हुन्छ। यस्तो क्षतिपूर्ति पायो भने दावीकर्तालाई संदेश प्रवाह हुन्छ कि - अधिकार भन्दैमा सस्तो लोकप्रियताका लागि दावी गर्ने भन्ने हुँदैन। विचार गर। त्यसैगरी सजाय पाउनेलाई तेरो लागि सजायको प्रकृति पनि शोभनीय छैनस्। तँ त्यति तुच्छ होस् भन्ने हुन्छ।'

भण्डारीको फैसलामा भनिएको थियो -

'यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ। बरु १ वर्ष कैद बस्न उपयुक्त हुन्छ। सहि, सद्धे मानिसलाई १ मिनेटको कैद वा १ दामको जरिवाना सामाजिक एवम् मानसिक रूपमा पीडादायक हुन्छ।'

सम्वन्धित समाचार

निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति



ट्रेन्डिङ पोस्ट

Ncell