PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान



पहिलोपोस्ट

महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान
फोटो : उपराष्ट्रपतिको नीजि सचिवालय।

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेका छन्।

उपराष्ट्रपति पुनले मंगलवार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधी जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गरेका हुन्। उनले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गरेका थिए।

खेलाडीहरुलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधी दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको बताए। उनले आगामी दिनमा भलिबलमा अझै ठूला अन्तर्राष्ट्रिय उपाधीहरु जित्ने अपेक्षासमेत व्यक्त गरे।

उपराष्ट्रपतिले नेपालको सबै भूभागमा खेलिने भलिबल सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताए। उनले आसन्न साग प्रतियोगितामा उपाधीका लागि राष्ट्रिय महिला भलिबल टिमलाई शुभकामनासमेत दिए।

सम्मान ग्रहण गर्दै राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधी दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताइन्। उनले उपराष्ट्रपतिबाट पाएको सम्मानले आगामी दिनमा खेलमा थप राम्रो गर्ने हौसला मिलेको बताइन्।

प्रमुख प्रशिक्षक जगदशी भट्टले नेपाली चेलीहरुले भलिबलमा इतिहास रचेको बताउँदै आगामी दिनमा थप राम्रो गर्नका लागि राज्यले भौतिक पूर्वाधार लगायतको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताए। उनले भलिबलको विकासका लागि आफूहरु प्रयासरत रहेको भएतापनि राज्यको लगानी कम रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell