PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रेल चलाउन भारतको अनौठो प्रस्ताव : चालकदेखि सुरक्षा गार्डसमेत भारतीय नै राख्नुपर्ने!



दिनेश खड्का

रेल चलाउन भारतको अनौठो प्रस्ताव : चालकदेखि सुरक्षा गार्डसमेत भारतीय नै राख्नुपर्ने!

काठमाडौं : निर्माणाधीन जयनगर जनकपुर रेलमार्ग संचालनका लागि भारतले विशेष शर्तसहितको प्रस्ताव अघि सारेको छ। यो शर्तमा रेल संचालनका लागि चालकदेखि सुरक्षामा खटिने पालेसम्म भारतीयलाई राख्नुपर्ने उल्लेख छ। दुई वर्षसम्म चालकदेखि सुरक्षाकर्मीसम्म राख्नुपर्ने र त्यसवापत नेपालले रकम उपलब्ध गराउनुपर्ने उसको प्रस्ताव छ।

कोंकर्ण रेल्वे कम्पनीले रेल विभागलाई रेलसँगै आवश्यक प्राविधिकदेखि पालेसम्म सबै खालको जनशक्ति उपलब्ध गराउने प्रस्ताव पठाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेलको सेट बिक्री गर्ने कम्पनीले नै जनशक्ति आपूर्तिका लागि प्रस्ताव गरेको हो। उनका अनुसार प्रस्तावमा कर्मचारीको तलव सुविधा समेत तोकेर पठाइएको छ।

भारतीय कम्पनीले रेल संचालनका लागि कर्मचारी राख्न समय लाग्ने भन्दै आफ्नै कर्मचारीबाट काम गराउन प्रस्ताव गरेको हो। पुरानो रेल्वे कम्पनी बन्द भएपछि त्यहाँका सबै कर्मचारीलाई विभागले विदाई गरिसकेको छ।

रेल्वे कम्पनी पुन: ब्युँताएर नयाँ कर्मचारी भर्ना गर्न लागिएको विभागले जनाएको छ। रेल विभागका अनुसार प्राविधिक देखि पालेसम्म गरि करिव २ सय जना कर्मचारी आवश्यक छ। भारतीय कम्पनीले आफ्ना कर्मचारी राख्न प्रस्ताव गरेपनि सबै कर्मचारी भारतबाट नल्याइने मिश्रले जानकारी दिए।

उनका अनुसार अत्यावश्यक केही प्राविधिक ल्याउने र बाँकी कर्मचारी नेपालकै राखेर संचालनमा ल्याइनेछ। दुई वर्षका लागि भारतीय प्राविधिक ल्याउन लागिएको हो। दुई वर्षमा नेपाली प्राविधिकलाई रेल संचालन गर्न सक्ने गरी तालिम दिने र भारतीयलाई फिर्ता गराउने विभागको लक्ष्य छ। भारतमा नेपालको तुलनामा कर्मचारीको तलव सुविधा उच्च रहेको छ। भारतीय कम्पनीले तलबसहित प्रस्ताव पठाएपछि विभागका कर्मचारी आश्चर्यचकित भएका थिए।

‘पालेको तलब नै नेपालको सहसचिवको जतिकै छ। भारतीय प्रस्ताव हामीसम्म आइपुग्दा हामीनै आश्चर्यमा पर्‍यौं,’ मन्त्रालयका एक अधिकारीले भने, 'रेल चलाउन हामीसँग प्राविधिक कर्मचारी नभएकाले वाध्यतावस राख्नुपर्ने अवस्था छ। तर, पालेसम्म राख्ने विषय हामीलाई मान्य छैन।’ नेपालले सुरुमा भाडामा रेल संचालन गर्ने योजना बनाएको थियो।

तर, रेलको डिब्बा किन्दा फाइदा हुने देखेपछि भाडामा ल्याएर चलाउने योजना रद्ध गरेको थियो। नेपालले कोंकर्णसँग ८५ करोड रुपैयाँमा रेल किनेको हो।

किन ढिला भयो?

विभागका महानिर्देशक मिश्रका अनुसार भारतीय कम्पनीले श्रीलंकाका लागि बनेको रेल सिधै नेपाललाई आपूर्ति गर्ने सोच बनाएको रहेछ। तर, नेपालको कार्यादेशसँग फरक परेका कारण पठाउन मिलेन।

'नेपालले किन्न खोजेको रेलसँग श्रीलंकाका लागि बनेको रेलले मेल खाएन। हाम्रो चाहाना अनुसारको रेल बन्दैछ। अहिले पार्टपुर्जा जोड्ने र रङरोगनको काम भइरहेको छ,' उनले भने।

रेल तयार हुन लागेको भएपनि रेल्वे लाइन नै हस्तान्तरण भएको छैन्। वर्षाले क्षति भएको रेल्वे लाइनको मर्मत समेत सुरु गरिएको छैन। रेलमार्ग हस्तान्तरण नभएकाले भारतीय पक्षले नै मर्मत गरिदिनुपर्छ। विभिन्न खण्डमा गरी करिव १० करोडको क्षति पुगेको छ। मर्मतका लागि दुई महिना समय लाग्ने अनुमान गरिएको छ। छठ लगत्तै मर्मत सुरु गर्ने भनिएको भए पनि अझै सुरु हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell