PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

पशुबली मेला गढीमाईमा बढ्न थाल्यो चहलपहल, सिसिटिभी र ड्रोन क्यमेराबाट हुँदैछ सुरक्षा निगरानी

पशुबली मेला गढीमाईमा बढ्न थाल्यो चहलपहल, सिसिटिभी र ड्रोन क्यमेराबाट हुँदैछ सुरक्षा निगरानी

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज: हरेक पाँच  वर्षमा एकपटक लाग्ने बारा बरियारको गढीमाई मेलाको चहलपहल सुरु भएको छ। मंसिर १ गतेदेखि एक महिनासम्म मेला लाग्ने भए पनि घटस्थापनाको दिन नै राष्ट्रपति विद्यादेवी भण्डारीले फोन सन्देशमार्फत पूजापाठ गरी शुभारम्भ गरेकी थिइन्।

अहिले मन्दिर आसपासका क्षेत्रमा भीडभाड बढ्न लागेको छ। मेलामा स्टल तथा पसल राख्न सुरु भइसकेको मेला सञ्चार समितिका संयोजक मुकेश यादवले बताए। यादवका अनुसार अबको तीन दिनपछि मेलामा आउने श्रद्धालु भक्तजनको भीडलाई मध्यनजर गर्दै थप व्यवस्थापनको काम भइरहेको छ। 

सवारी व्यवस्थापनका लागि पनि प्रहरीसँग समन्वय भइरहेको छ। हाल सवारीसाधन मन्दिरसम्म प्रवेश गरिरहेका छन्। केही दिनमा मेलाभन्दा तीन किलोमिटर परै पार्किङ गरी व्यवस्थापन मिलाइने गढीमाई मेला पञ्चवर्षीय व्यवस्थापन समितिले जनाएको छ। 

महागढीमाई नगरपालिका १ बरियारमा प्राचीन समयदेखि लाग्ने मेलाको मूल समिति वडा नम्बर १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा गठन गरिएको छ। गढीमाई मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिमा यसअघि निर्वाचनमार्फत रामचन्द्र साह चयन भइसकेका छन्। 

योपटक मंसिर १७ गते षष्ठीका दिन राँगो र १८ गते बोकाको बली दिइने तिथि तय भएको छ। धेरै संख्यामा पशुबली दिइने भएकाले मेला विश्वमै परिचित छ। पशुबली हटाउने अभियान पनि केही समयदेखि निरन्तर छ। तर श्रद्धालुहरुले गढीमाई मेलाबाट बली प्रथा हटाइए पहिचान गुम्ने बताउने गरेका छन्। हरेक पटक बली रोक्न प्रयास भए तापनि हालसम्म रोकिएको छैन।

मेलामा कलैया, कबही, सिम्रोनगढ, मटिअर्वा तथा बरियारपुर गरी पाँच प्रवेशद्वार तोकिएको छ। प्रवेशद्वारदेखि मन्दिरसम्म बाराका विभिन्न सुरक्षा अंगहरुको समन्वयमा करिब एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। मेला परिसर क्षेत्रमा ८० वटा सिसिटिभी क्यामेरा पनि जडान गरिएको सञ्चार समिति अध्यक्ष यादवले जानकारी दिए। ड्रोन क्यामेराबाट पनि सुरक्षा चुनौतीको निगरानी गरिने छ।

कलैया, मझरिया, बघवन, गंजभवानीपुर, मलहनी, विजुलपुर, आर्नाहालगायत गाउँका सयौँ बिघाको क्षेत्रफलमा लाग्ने मेलामा पाँच हजारभन्दा बढी साना र ठूला स्टल रहने अनुमान गरिएको छ। मेलामा सर्वसाधारणका लागि ६ सय शौचालय तथा १०/१० बिघा क्षेत्रफलमा विश्रामस्थल पनि बनाइँदै छ। मूल समितिले स्टलको लागि पाँच सय रुपैयाँ शुल्क तोकेको छ। मेला आयोजनाका लागि करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell