PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अघिल्लो 'साग'मा तीन स्वर्ण पाएको नेपाल यसपटक ५० स्वर्णको लक्ष्यमा, आधार के त?



मुकुन्द घिमिरे

अघिल्लो 'साग'मा तीन स्वर्ण पाएको नेपाल यसपटक ५० स्वर्णको लक्ष्यमा, आधार के त?

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा नेपालले कस्तो प्रदर्शन गर्ला? अनि कति उपाधि सुरक्षित राख्ला?

खेल सम्बद्ध पदाधिकारीदेखि खेलप्रेमीहरुले यसबारे अनुमान तथा जिज्ञासा गर्न थालेका छन्। भारतको दबदबा रहेको सागमा नेपालको प्रदर्शन खासै बलियो हुँदैन। तर, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले एक कार्यक्रममा नेपालले ५० स्वर्ण ल्याउने लक्ष्य रहेको बताए।

आठौं सागमा अहिलेसम्मकै सर्वाधिक ३१ स्वर्ण ल्याएको नेपाल अघिल्लो सागमा तीन स्वर्णमा खुम्चिएको इतिहास छ। यस्तो अवस्थामा कुल ३ सय २४ स्वर्ण रहेको सागमा नेपालले ५० स्वर्ण ल्याउँला त?

मुख्य प्रश्न यही नै हो। अहिले यति स्वर्ण पदक रक्षा गर्ने आधारहरु खोजिनसमेत थालिएको छ। पदक रक्षाका लागि खेलाडी सक्षम हुनुपर्छ।

अहिले खेलाडी बन्द प्रशिक्षणमा छन्। उनीहरुको तयारी कस्तो छ? यी विषय उपधि उपलब्धिका आधार हुन्।

यसबारे राष्ट्रिय टिम तयारी समितिको संयोजकको जिम्मेवारी सम्हालिरहेका रिमबहादुर रानाभाटको भनाई फरक छ।

समितिका संयोजक रानाभाट यति नै स्वर्ण आउँछ भनेर अनुमान लगाउन नसकिने बताए। यद्यपि सकेसम्म राम्रो गर्ने प्रयासमा आफूहरु भएको र आठौं सागको पुनरावृत्ति हुने दाबीसमेत उनले गरे।

यता सदस्य सचिव सिलवालले राष्ट्रिय टिम तयारी समितिलगायत खेलकुद संघ र प्रशिक्षकसम्म पनि छुट्टाछुट्टै भेटेर पदकको सम्भावनाबारे कुरा गरेकोले त्यसकै आधारमा ५० स्वर्ण आउने बताएको हुनसक्ने रानाभाटले बताए। त्यसबाहेक पछिल्लो समय बन्द प्रशिक्षणका क्रममा नेपाली खेलाडीले हासिल गरेको उपलब्धि पनि स्वर्ण ल्याउने दाबीको आधार बताइन्छ।

के के मा बलियो छ नेपाल?

पछिल्ला प्रदर्शनलाई हेर्दा नेपाल मार्सलआर्ट, भलिबल लगायतका खेलहरुमा बलियो देखिन्छ। यसअघि भारतको सिलोङ र गुवाहटीमा भएको सागमा नेपालले ३ स्वर्णमा चित्त बुझाउनु पर्ने कारण कराते पनि थियो। अघिल्ला सागमा पदक ल्याउँदै गरेको कराते १२ सागमा सहभागी नहुनुको मुल्य नेपाललाई भारी परेको थियो। त्यस्तै तेक्वान्दो र उसुमा पनि राम्रो प्रदर्शन रहँदै आएको छ।

प्रशिक्षकहरुको विवादको वावजुद करातेमा राम्रो अभ्यास भएको बताउँदै आएको छ। यसको पछिल्लो उदाहरण हो बंगलादेशमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिप। उक्त प्रतियोगितामा नेपालले ९ स्वर्ण ल्याएको थियो।

त्यस्तै नेपालले भर्खरै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन वुमन्स भलिबलमा स्वर्ण पदक हात पार्‍यो। त्यो पनि फाइनललगायत सबै खेलमा सोझो सेटमा जित हात पार्दै। स्तरीय टिमलाई पछि पारेको महिला भलिबलले भारत र श्रीलंकालाई हराउन सके स्वर्णको प्रवल सम्भावना देखिन्छ।

नेपाली महिला फुटबल टोलीको प्रदर्शन पनि उच्च रहँदै आएको छ। सहभागी भएको अधिकांश प्रतियोगितामा उपविजेता बन्ने गरेको नेपाललाई सागमा पनि भारत मुख्य चुनौती हुने देखिन्छ। यद्यपि होम ग्राउन्ड नेपाली महिला फूटबल टोलीका लागि स्वर्ण सुरक्षित गर्ने अवसर पनि हुन सक्छ।

अर्को तर्फ प्याराग्लाइडिङको सम्भावना सकिँदै गर्दा नेपाललाई नोक्सान हुने देखिन्छ। एसियन खेलकुदमा समेत पदक ल्याएको प्याराग्लाइडिङ नहुनु भनेको नेपालको हातको स्वर्ण खोसिनु जस्तै नै हो।

साविक विजेता रहेको नेपाली पुरुष फुटबल टोलीको पनि सम्भावना छ। लामो समययता प्रशिक्षणमा रहेको तथा सिनियर टिमको अनुभव भएका खेलाडी हुनु पनि नेपालको सबल पक्ष देखिन्छ। नेपालले यसअघि सागकै तयारी स्वरुप म्यानमारसँग खेलेको खेलमा २–२ को बराबरी खेलेको थियो।   

बन्द प्रशिक्षणमा रहेका खेलाडीले पछिल्लो समय केके उपलब्धि हात पारेका थिए त?

१) नेपाली खेलाडीहरुले दक्षिण एसियाली कराते च्याम्पियनसिप-२०१९ मा सहभागिता जनायो। जसमा नेपालले ९ स्वर्ण, ४ रजत र ८ कास्य हात पारेको थियो।

२) विश्व तेक्वान्दो हामादाङ्ग च्याम्पियनसिपमा पुम्सेविधा तर्फ नेपालले १ कास्य हात पारेको थियो।

३) चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा ग्यागोरीतर्फ (पुरुष) १ रजत र ३ कास्य हात पारेको थियो। त्यस्तै महिलातर्फ २ कास्य हात पारेको थियो।

४) सुटिङ वर्ल्डकप क्वालिफाइङ अन्तर्गत १८ औं एसियन गेम्स २०१८, आइएसएसएफ वर्ल्डकप २०१९ र १४औं एसियन सुटिङ च्याम्पियनसिपमा एमक्युएस गरेको थियो।

५) साउथ एसियन अन्डर २१ ब्याडमिन्टन टुर्नामेन्टमा पुरुष सिंगलमा २ कास्य, मिक्स डबलमा २ कास्य र मिक्स टिममा १ कास्य हात पारेको थियो।

६) नेपाल इन्टरनेसनल सिरिजमा १ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको थियो।

७) पाकिस्तान इन्टरनेसनल सिरिजमा २ रजत हात पारेको थियो।

८) सेन्ट्रलजोन वुमन्स भलिवलमा स्वर्ण ल्याएको थियो।

९)  बंगलादेशमा भएको आर्चरी प्रतियोगितामा १ स्वर्ण, १ रजत र २ कास्य हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell