PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री ओलीको दिनभरको दौडधुपले पनि मन्त्रिमण्डल हेरफेरमा लागेन तातो : रात रहेर अग्राख पलाउने खेलो!



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीको दिनभरको दौडधुपले पनि मन्त्रिमण्डल हेरफेरमा लागेन तातो : रात रहेर अग्राख पलाउने खेलो!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको विषयमा लामो समयदेखि रहँदै आएको अन्यौलता चिर्ने संकेत गरेका थिए मंगलवार। यही विषयका लागि भनेर प्रधानमन्त्री ओलीले बिहानैबाट दौडधुप थाल्ने तयारी गरे।

बिहान ९ बजे नै पार्टीको सचिवालय बैठक डाकियो। तर, सचिवालय बैठक पटकपटक सर्दै साढे १२ बजेमात्र बस्यो। त्यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान अन वान वार्ता गरे। बाहिर दुई जनाको मात्र भेट भएको भनिएपनि उक्त भेटमा महासचिव विष्णु पौडेलकोसमेत 'इन्ट्री' रहेको बताइन्छ।

भेट सकिएपछि दुई अध्यक्ष लागे शीतल निवास।  दिउँसै मन्त्रीहरुको शपथका लागि तयार रहेको जनाएको थियो राष्ट्रपति कार्यालयले। त्यहीबेला मन्त्रीको फेरबदलमा परेका मन्त्रीको शपथ हुने हो कि भन्ने अनुमान पनि धेरैले गरे। धेरै त्यही समाचारको पर्खाईमा पनि थिए।

तर, दुई अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिमण्डल पुनर्गठनबारे जानकारी दिन पुगेका रहेछन्। भेट सकिएपछि बालुवाटार फर्किए दुई अध्यक्ष। अनि शुरु भयो सचिवालय बैठक।   

तीन घण्टा लामो सचिवालय बैठक सकिएपछि नेकपाका प्रवक्ता निर्णय सुनाउन बालुवाटार प्राँगणमा निस्किए। निस्कने क्रममै अध्यक्ष प्रचण्डसँग केही बेर वात मारेपछि उनी सञ्चारकर्मीमाझ आए र सचिवालय बैठकको निर्णय सुनाए।

निर्णयका नम्बरहरुमा सर्वाधिक चासोको विषय रहेको मन्त्रिमण्डल फेरबदलको अटेको थिएन।

बैठकको निर्णय भने यस्तो!

बैठकपछि नेकपाका प्रवक्ता श्रेष्ठले बैठकमा यो प्रतिनिधिसभाको अवधि प्रधानमन्त्री ओलीले सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टी सत्र्चालन गर्ने निर्णय भएको जानकारी दिए।

यो निर्णयसँगै नेकपाका अध्यक्षको आलोपालो प्रधानमन्त्रीको समझदारीसमेत खारेज भएको देखिन्छ। ५ वर्षको म्यान्डेड पाएको सरकार भने प्रम ओलीले नै चलाउने भएका छन्।

प्रतिक्षा र चासोको बिषय थियो- मन्त्रिपरिषदबारे बैठकमा निर्णय चाहीँ के भयो? प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको क्षेत्राधिकार रहेको बताए। तर, हेरफेर भने केही समयभित्रै गरिने जानकारी  दिए। उनको जवाफले कहिले मन्त्री फेरिनेछन भन्ने टुंगो नलागे पनि मन्त्री चाहीँ फेरिने स्पष्ट गरे।

चासो रह्यो प्रवक्ताले भनेको केही समय कति हो? उनले तुरुन्तैदेखि केही बेरमा मन्त्री फेरिने कुरा गरे। यद्यपि समय भने तोकेनन्।

अझै अन्योल किन?

हिजो प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठनबारे औपचारिक जानकारी दिएका थिए।

उनले मन्त्रीहरुलाई बुधबार ‌औपचारिक कार्यक्रममा नजान पनि आग्रह गरे। मन्त्रिमण्डल हेरफेरबारे प्रधानमन्त्रीको यो ब्रिफिङसँगै आज नयाँ मन्त्रीहरुले शपथ ग्रहण गर्ने पक्का झैँ भएको थियो। राष्ट्रपति कार्यालयको तयारीले पनि यो बताइरहेको थियो। केही दिन अघिदेखि मन्त्रिमण्डल फेरबदल हुने चर्चा चले पनि हेरफेर नहुँदा प्राय:जसो अन्योलमा थिए। आज सोही अन्योल चिर्ने अनुमानमा थिए सर्वसाधारण।

तर, प्रधानमन्त्रीले आज पनि यो अन्यौतलता कायम नै राखेका छन्।

बैठकमा सहभागी एक सचिवालय सदस्यले आज नै नयाँ मन्त्रीको शपथ गर्ने जानकारी प्रधानमन्त्रीले बैठकमा दिएको बताएका थिए।

उनले भने, 'प्रधानमन्त्रीले आज नै केही नयाँ मन्त्रीहरुले शपथ लिने बताउनु भएको छ। तर, कति फेरिने को को फेरिने भन्ने जानकारी दिनुभएको छैन।'

सचिवालय बैठक पश्चात ४ बजे प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा ओली होटल एक याण्ड यतिमा प्रस्थान गरे।

उक्त कार्यक्रमपश्चात् आज सात बजेसम्म नयाँ मन्त्रीले शपथ् लिने बालुवाटार स्रोतले बताएको थियो। तर केही घण्टामै आज नयाँ मन्त्रीहरुको शपथ नहुने प्रधानमन्त्रीकै सचिवालयले जानकारी दियो। अन्तिम समयमा आएर किन रोकियो त शपथ कार्यक्रम?

सचिवालयले भन्यो, 'नयाँ मन्त्रीहरुको शपथ भोलि हुनेभयो। एक त आज सचिवालय बैठक नै लम्बियो। त्यसपछि प्रधानमन्त्रीज्यूको पूर्वनिर्धारित कार्यक्रम भयो। आजै किन हतार गर्ने। भोलि फुर्सदमै गरिने निर्णय भयो।'  

कुन कुन मन्त्रीले शपथ लिदैछन् भन्ने चाहिँ सचिवालयले खुलाउन चाहेन। प्रधानमन्त्रीको यो निर्णयले 'रात रह्यो, अग्राख पलायो' भन्ने नेपाली उखान चरितार्थ गर्ला कि भन्नेतिर पनि संकेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell