PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

पोखरा स्टेडियमको प्यारापिट धमाधम जोडिँदै, ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने दाबी



पहिलोपोस्ट

पोखरा स्टेडियमको प्यारापिट धमाधम जोडिँदै, ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने दाबी
तस्बिर : भूपेन्द्र कुँवरको फेसबुकबाट

काठमाडौं : मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ। सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम शुरु भएको छ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो। मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ। जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिए।

‘आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ म्यानेजर बरालले भने, ‘५ दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ।’ उनले प्यारापिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए।

मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन्। उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ। ‘रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ। बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ,’ उनले भने।

मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ। पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ। पोखरामा हुने खेलमा ट्रायथालन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell