PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लुखुरलुखर हिँड्दै सिंहदरबारबाट बाहिरिएपछि ट्याक्सी चढेर गए पूर्व मन्त्री विष्ट

लुखुरलुखर हिँड्दै सिंहदरबारबाट बाहिरिएपछि ट्याक्सी चढेर गए पूर्व मन्त्री विष्ट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिँदै गर्दै फरक दृष्य देखियो। श्रम तथा रोजगार मन्त्रीबाट बाहिरिएपछि आज अन्तिम दिन मन्त्रालय पुगेका उनी लुखुर लुखुर हिँड्दै सिंहदरबार बाट निस्किए। सिंहदरबारको दक्षिण ढोकाबाट बाहिरिएपछि उनले ट्याक्सी रोके र चढे। त्यसपछि लागे आफ्नै घर।

'म मन्त्री रहिन। मन्त्रालयको गाडी चढ्ने कुरा भएन,' ट्याक्सीमा बाहिरिँदै गरेका उनले मोबाइलबाटै भने, 'त्यसैले ट्याक्सी चढेको हुँ।'

वैदेशिक रोजगारमा सुधारका लागि पहल गरेवापत अरु मन्त्रीभन्दा उनको कामको तारिफ हुने गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीहरुको मूल्याङ्कनमा पनि अब्बल नै रहेका थिए उनी। तर, शक्तिशाली रहेका वैदेशिक रोजगार व्यवसायीहरुको शक्तिका सामु प्रधानमन्त्री ओली निरीह रहे जसले राम्रो काम गर्दा गर्दै पनि विष्टलाई मन्त्री पदबाट बाहिर्‍यायो।

यसअघि ऊर्जा मन्त्री हुँदा विद्युत चोरी रोक्ने अभियानमा जुटेर जनमत बलियो बनाएका थिए उनले। आर्थिक लेनदेन धेरै चल्ने मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्ट उनको कार्यकालभरी विवादमा रहेनन्। त्यसैले उनी हट्दा उनको अनुहारमा कुनै फिकपन थिएन।

'यो एउटा स्वभाविक प्रकृया हो,' विष्टले पहिलोपोस्टसँग भने, 'यसलाई मैले एउटा सामान्य प्रकृयाभन्दा बढी केही सोचेको छैन।'

श्रम मन्त्रालयलाई 'मालदार' मन्त्रालयका रुपमा व्याख्या गरिन्छ र त्यसमा जान चाहनेको तछाडमछाड हुँदै आएको छ। विदेशमा काम गरिरहेका नेपाली श्रमिकहरुको पक्षमा खरो रुपमा उत्रिएका र वैदेशिक रोजगार कम्पनीसँग कडारुपमा प्रस्तुत हुने स्वभावका उनको सिंहदरबार बाहिरको यात्रा हेर्न लायक थियो।



ट्रेन्डिङ पोस्ट

Ncell