PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जगत गुरु बालसन्तको अर्का जगत गुरु कृष्णदासजीप्रति आक्रमण : उनी दिनमा ९५ प्रतिशत झुठ बोल्छन्, दोहोरो नागरिकता बोकेर हिँड्छन्



अनन्तराज न्यौपाने

जगत गुरु बालसन्तको अर्का जगत गुरु कृष्णदासजीप्रति आक्रमण : उनी दिनमा ९५ प्रतिशत झुठ बोल्छन्, दोहोरो नागरिकता बोकेर हिँड्छन्

विराटनगरः सुनसरीको चतराधामस्थित जगत गुरु बालसन्त मोहनशरण देवाचार्य चतराकै अर्का जगत गुरु कृष्णदासजी महाराजप्रति आक्रामक देखिएका छन्।

बिहिवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बालसन्तले कृष्णदासजी महाराजले दिनमा ९५ प्रतिशत झुठ बोल्ने गरेको आरोप लगाए।

आफू जीवनभरी झुठ नबोल्ने र झुठ बोल्नेसित सङ्गत नगर्ने भएका कारणले नै कृष्णदासजीसित टाढिएको उनले खुलासा गरे।

कृष्णदासजी महाराज विशेषतः नवरात्री र अन्य विभिन्न समयमा ९ दिनसम्म जमिनमुनि गाडिएर फेरि जिउँदै निस्कने चमत्कारले देशभरि चर्चित छन्।

बालसन्तले कृष्णदासजी महाराजको नागरिकताको प्रमाणपत्रसमेत झुठो र दोहोरो भएको दाबी गरे।

‘उहाँ पहिलो पटक चतरा आउनु भएपछि मेरै आश्रयमा सुरुका ४ वर्ष बस्नुभयो’ पत्रकारका जिज्ञासा शान्त पार्दै बालसन्तले भने, ‘मेरै आश्रयमा बस्ने क्रममा उहाँले महाराजजी मेरो नागरिकता नै छैन बनाइदिनु पर्‍यो भन्नुभयो। मैले पनि सुनसरी काङ्ग्रेसका तत्कालीन सभापति रामबहादुर बस्नेतमार्फत् सोर्स लगाएर नागरिकताको प्रमाणपत्र सिडिओ कार्यालयबाट बनाउन ठूलो सहयोग गरेँ। पछि बुझ्दा त उहाँले कृष्णबहादुर गिरीका नाममा पहिले नै नागरिकता लिइसक्नु भएको रहेछ।’

‘कृष्णदासजीका मातापिता सुनसरीको तरहरामा गिरि थर लेखेर बस्नुहुन्छ’, आरोपसहित उनको प्रश्न थियो, ‘कृष्णदासजी आफूलाई न्यौपाने बताउनु हुन्छ। यो कसरी मिल्छ?’

‘सुन्नोस्, एउटा भारतीय नागरिक सधैँ म कहाँ स्याउ र अङ्गुरका डाला बोकेर आउँथ्यो’, उनले सुनाए, ‘म पनि दङ्ग परेर ग्रहण गर्थें। कृष्णदासजी मसित छुट्टिएपछि त्यो भारतीय पनि आउन छाड्यो। पछि बुझ्दा त त्यो भारतीय व्यक्ति भारतको ठूलो तस्कर र अपहरणकारी पो रहेछ। त्यो व्यक्तिलाई कृष्णदासजीले ड्राइभर बनाएर राख्नुभएको थियो।’

बालसन्तले कृष्णदासजीको टुनामुनाको व्यवहारले धेरै टोली उनको आश्रमबाट गएको उल्लेख गर्दै आफू टाढिनुको मुख्य एउटा कारण टुनामुना पनि हो भन्ने जानकारी दिए।

कथित टुनामुना केप्रति लक्षित छ भन्ने उनले खुलाउन चाहेनन्।

‘कृष्णदासजीका कुकृत्य थाहा पाएका भारतीय साधुसन्तले मसित आएर ‘इनसे बचके रहना’ भनेका छन्’, उनको भनाइ थियो, ‘म खासमा उहाँको विरोधी होइन। नेपालमा अर्को रामदेव जन्माउनु पर्छ भनेर मैले नै आश्रय दिएर उहाँलाई राखेको हुँ तर पछि बाटो बिराउनुभयो। वास्तवमा कृष्णदासजीलाई मैले चिनाएको हुँ। चार वर्ष खुवाएर मेरा आश्रममा राखेको छु।’

बालसन्तले आफ्नो आह्वानमा २०५९ सालदेखि चतरामा भइरहेको कुम्भमेलालाई पनि कृष्णदासजीले विरोध गरेको र कुम्भमा नजान विभिन्न व्यक्ति र साधुसन्तलाई भड्काएको आरोप लगाए।

‘उहाँले कुम्भको विरोध गर्नुभयो, यो शास्त्रीय प्रमाणअनुसारको कुम्भ होइन भन्ने प्रचार गर्नुभयो’, उनले भने, ‘बिबिसीलाई पनि अन्तर्वार्ता दिएर कुम्भको विरोध गर्नुभयो। उहाँले आफ्नो ‘रास्ता’ भुलेपछि हामीले सँगै राख्ने काम ठिक थिएन।’

कृष्णदासजीको अहङ्कारले सम्पूर्ण चतराधाममा अहिले दुःखद अवस्था सृजना भएको उनको विचार थियो।

गत वर्षको माघ र फागुनमा चतराधाममा कृष्णदासजी महाराजको आयोजनामा भएको नौ दिने श्रीराम तारक ब्रह्म महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। उक्त उद्घाटनमा निम्ता गरिएका भए पनि बालसन्त उपस्थित थिएनन्।

महायज्ञको उद्घाटनमा किन जानु भएन?

उनको जवाफ थियो, ‘मलाई काशीका विद्वान्हरूले पत्याएर जगत गुरुको उपाधि र सिंहासन दिएका हुन्। आफ्नो पदीय मर्यादा र सिंहासनको रक्षा मैले गर्नुपर्छ। मलाई त्यो उद्घाटनमा सिंहासन नलिई आउनू भन्ने सन्देश थियो। त्यसैले म गइँन।’

उनले अगाडि भने, ‘म त जान तयार थिएँ तर सारा चतरा र बराह क्षेत्रका बासिन्दा अनि मेरा शुभचिन्तक तथा शिष्यले बिना सिंहासन पियनजस्तो लुखुर–लुखुर जानु हुँदैन भन्ने सुझाव दिए। त्यसैले गइँन।’

बालसन्तले आफूले कृष्णदासजी महाराजलाई जगत गुरु नमान्ने उद्घोष गर्दै कोको केके पदमा दाबी गर्छन् आफू टाउको नदुखाउने धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell