PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काल भैरवको 'बर्थ डे सेलिब्रेसन' : किन काटियो 'न्याय मूर्ति'सामु केक?  



सहयोग रञ्जित

काल भैरवको 'बर्थ डे सेलिब्रेसन' : किन काटियो 'न्याय मूर्ति'सामु केक?  

काठमाडौं : बुधवार साँझ हनुमानढोकामा एक्कासी 'ह्याप्पी बर्ड डे' गीत गुञ्जियो। विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्थानमा सार्वजनिक रुपमा नै जन्मदिनको गीत बजेपछि धेरै मानिस आश्चर्यमा परे।

भैरवाष्टमी (भैरव अष्टमी) भएकाले धेरै मानिस हनुमानढोकामा रहेको काल भैरवको दर्शन गर्न पुगेका थिए। भैरव उत्पत्ति भएको दिनलाई भैरव अष्टमीका रुपमा मानिँदै आएको छ। तर, बुधवार साँझ भने सबैलाई आश्चार्यमा पार्ने गरी काल भैरवको 'बर्थ डे' मनाइयो, त्यो पनि केक काटेर।

सामाजिक संजालमा जब काल भैरवको मूर्ति अगाडि नै केक काटिएका तस्विर सार्वजनिक भयो तब सुरु भयो विरोधको आवाज। नेपाली समाजमा जन्मदिन मनाउँदा केक काट्ने प्रचलनलाई पश्चिमेली संस्कृतिको उपजका रुपमा व्याख्या गरिरहँदा काल भैरवको 'जन्मदिन' भन्दै काटिएको केक सबैलाई आँखाको तारो बन्यो। केक काट्न लगाउनेदेखि पूजारीसम्मको विरोध भयो।

केक काट्ने पश्चिमा समाजको चलन रहेको भन्दै त्यसको सिको गर्दै जाँदा भविष्यमा बुद्ध र कृष्ण जन्माष्टमीमा समेत ह्यापी बर्थ डे भन्दै केक काट्न सुरु हुने भएकाले त्यस्तो कार्यलाई निरुत्साहित गर्नै पर्ने जमात खडा भयो।

आखिर किन काटियो केक ?

भैरव अष्टमी भएकाले बिहानैदेखि उपत्यकाका भैरव मन्दिरमा भक्तजनहरुको भिड थियो। काल भैरवको मूर्ति अगाडि मध्यान्हदेखि नै समयबजी राखिएको थियो। दिउँसो दुईवटा बोकाको बलि समेत दिइयो। यस्तै विधिपूर्वक होम समेत गरिएको थियो। तर, जब पूजाका बीच काल भैरवमा केक भित्रियो, सबै विधि नियमहरुलाई छायाँमा पार्दै 'काल भैरवको बर्थ डे सेलिब्रेसन' भयो।

काल भैरव परिवारका निराजन प्रधानका अनुसार एक भक्तजनको आग्रहमा काल भैरवको 'बर्थ डे' मनाइएको हो।

भने, 'साँझ एकजना भक्तजन काल भैरवलाई ९ पाउन्डको केक चढाउँछु भन्नुभयो। मलाई सपनामा देखायो त्यसैले केक ल्याएको भन्नुभयो। अब भक्तजनलाई ल्याइसकेपछि हामीले नाइ भन्न मिलेन। केक चढाइदिएको हो। फोटो आइसकेपछि चाहिँ अलि विवाद भएछ।'  

काल भैरवको मूर्ति अगाडि केक काट्न लाग्‍दा केही स्थानीयले त्यसको विरोध समेत गरेका थिए। तर, अन्तत: गीत नै गाएर केक काटिएपछि मानिसहरु आक्रोशित भएका हुन्। नेवार समुदायमा काल भैरवलाई शक्तिशाली देवका रुपमा पुजिँदै आएको छ। तर, पश्चिमेली संस्कृतिको नक्कल गर्दै केक काटिएपछि सबै समुदायबाट यसको विरोध भएको हो।

हनुमानढोका परिसर नै गञ्जने गरी माइकबाट 'ह्यापी बर्थ डे' बजेको प्रति उनी यसो भन्छन्, 'भैरवको जन्मदिन भनेर थाहा भएपछि सबैले टीका लगाउनु भयो। अनि ह्यापी बर्थ डे गाउनु भयो। यति मात्रै हो। तर यहाँ चाहिँ विरोध भएछ।'

काल भैरवको मूर्तिमा स्थानीय बज्राचार्यहरुले पूजा गर्दै आएका छन्। मन्दिर फोहोर गरेको र पूजालाई व्यापार बनाएको भन्दै विरोध भइरहेको अवस्थामा केक काट्ने विवाद अगाडि आएको हो। काल भैरवको मूर्ति अगाडि पसल संचालन गरिएकोमा स्थानीयले विरोध गर्दै आएका छन्। त्यसबाट मूर्तिको दर्शन गर्न आउनेहरुलाई असहज भएको उनीहरुको तर्क छ।

असनका विराज राजोपाध्याय प्रधानको मतसँग सहमत छैनन्। भन्छन्, 'आज एकजना भक्तजनले केक काट्न ल्यायो भन्दैमा बर्थ डे नै मनाउने तर्क गलत हो। त्यसो त भोलि कसैले होली वाइन नै ल्याएर चढाउँछु भन्ला के त्यो पनि हुन्छ भन्ने? हाम्रो आफ्नो परम्परा छ। त्यसको संरक्षण कसरी गर्ने भनेर बहस भइरहेको बेला पश्चिमेली संस्कृतिलाई बढावा दिनु हुँदैन।'

जन्‍मदिन कि उत्पति?

तलेजुका पूजारी उद्धव कर्माचार्य भैरवाष्टमीलाई भैरवको 'जन्मदिन' का रुपमा व्याख्या गर्न नहुने बताउँछन्। 'भैरवको जन्म भयो भन्नु नै गलत हो। भैरवको उत्पति भएको दिनलाई आधार मानेर भैरवाष्टमी मनाउने परम्परा सुरु भएको हो। आफूलाई जे मन लाग्यो त्यो बोल्दै हिँड्ने?,' उनले प्रश्न गरे।

प्रताप मल्लको पालमा जमिन उत्खनन् गर्दा काल भैरवको मूर्ति भेटिएको हो। तान्त्रिक विद्यामा निपूण राजाले राज्यको हितका लागि भनेर मसान भएको स्थानमा मूर्ति स्थापना गरे। उग्र भैरवहरुलाई मसानहरुका छेउ नै स्थापना गरिँदै आएको छ। मसान भैरवहरु निकै शक्तिशाली हुने कथन छ।

मल्लकालमा हनुमानढोकामा रहेको काल भैरवको मूर्ति अगाडि बसेर मल्ल राजाहरुले जनतालाई न्याय दिन्थे। काल भैरवको मूर्तिलाई नेपालकै न्यायालयको रुपमा लिने गरिन्थ्यो। अपराध गर्ने व्यक्तिलाई मूर्तिको अगाडि राखेर अपराध कबुल गर्न लगाइन्थ्यो। सो व्यक्तिले झुठो बोले उसको रगत छादेर मृत्यु हुने किम्बदन्ती समेत रहेको छ। त्यो क्रम राणा शासनसम्म चल्यो। तर, अहिले त्यही न्याय मूर्ति काल भैरव आधुनिकीकरण र व्यवसायको सिकार भएका छन्।

कर्माचार्य भन्छन्, 'काल भैरवको अगाडि ठूलो स्वरले बोल्न हुँदैन। तर, त्यहाँ माइकले बोलिन्छ। सफा गर्दा पनि मनपरी गरिएको छ। हिजो जे भयो त्यो गलत भयो। कसैले गर्न आयो भने त पूजारीले रोक्न पर्ने हो। तर यहाँ यसो भएन।'  

विरोध बढ्दै गएपछि प्रधान भने मन्दिर खुल्ला भएको र भिड नियन्त्रण गर्न नसक्दा गल्ती भएको स्वीकार्छन्। 

'काल भैरव मन्दिर खुल्ला छ। हिजो धेरै मानिस आएका थिए। केक काट्दै गर्दा त्यहाँ भजन समेत भएको थियो। भजन गर्दा स्पिकर नै हरायो। त्यहाँ मानिसलाई कन्ट्रोल गर्न गाह्रो थियो,' उनले भने, 'त्‍यसैबीच हामीबाट पनि जानी नजानी गल्ती भयो हो। अर्कोपाली यस्तो नहोस भनेर हामी सचेत हुन्छौं। केक सेलिब्रेसन नगरौं भनेर हामी भन्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell