PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दक्षिण एसियाली खेलकुदमा आर्चरी, भताभुङ्ग संरचनामा स्वर्ण पदकको सपना



मुकुन्द घिमिरे

दक्षिण एसियाली खेलकुदमा आर्चरी, भताभुङ्ग संरचनामा स्वर्ण पदकको सपना

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा स्वर्ण पदकको सम्भावनाबारे पनि चासो बढेको छ। आर्चरीले पनि स्वर्ण ल्याउने दाबी गरिएको छ। कूल १० स्वर्णको आर्चरीमा ३ पदक आउने अपेक्षा आर्चरी संघको छ।

१०औं सागबाट सहभागिता जनाएको आर्चरीले अहिलेसम्म सागमा स्वर्ण पदक हात पारेको त छैन तर नेपालमै आयोजना हुने १३ औं सागमा भने स्वर्ण ल्याउने विश्वास आर्चरी संघको छ।

नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटी ३ स्वर्ण पदकको सम्भावना रहेको बताउँछन्। यद्यपि अभ्यासस्थलको अभावमा समय-समयमा खेलको स्थान परिवर्तन गर्नु परेकाले प्रशिक्षण प्रभावित बनेको उनको भनाइ छ।

तस्विरः रमेश शिवाकोटी

पोखरामा गरिएको तयारीमा पूर्वाधारको विषयमा कमजोरी रहेका विषयहरु यसअघि आएका थिए। यसअघि रिकपमा काश्य जितेको नेपालले अहिले स्वर्ण जित्ने अपेक्षा गरेको छ। साग तयारीका लागि आर्चरीका चार खेलाडी जापानमा प्रशिक्षण समेत लिएका थिए।

यसअघि बन्द प्रशिक्षणकै क्रममा रहेको नेपाली टोलीले बंगलादेशमा भएको आर्चरी प्रतियोगितामा १ स्वर्ण, १ रजत र २ कास्य हात पारेको थियो। बंगलादेशमा अहिले सागको सहभागी हुन गइरहेको विष्णुमाया लिम्बु, मञ्जु बजगाईँले एउटा रजत र कास्य तथा रश्मी दर्लामीले कास्य पदक हात पारेका थिए। जसमा स्वर्ण र रजत पदक ल्याउने खेलाडीहरुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

'अहिलेको अवस्थामा हाम्रो बलियो प्रतिद्वन्दी बंगलादेश छ। उसले आर्चरीमा राम्रो लगानी पनि गरेको छ। भारतको अहिले खेल छैन' महासचिव शिवाकोटीले भने' उहाँहरुले एकजना प्रशिक्षक ल्याउनुभएको छ मार्टिन भन्ने प्रशिक्षक हुनुहुन्छ। उहाँ यहाँ पनि आउँदै हुनुहुन्छ। उहाँ रियो ओलम्पिकअघि खेलाडीलाई पदक दिलाउन सफल कोच हो।'

तर, नेपालमा भने बाहिरबाट कोच ल्याउनेदेखि देशमै अभ्यास गर्ने क्रममै गाम्भीर्यता नदेखाइएको शिवाकोटीको गुनासो छ। कुनै समय ओलम्पिक क्वालिफाइङका लागि समेत सिफारिस नपाएको स्मरण गर्दै लामो समयसम्म आर्चरी बेवास्तामा परेको उनी बताउँछन्।

पछिल्लो समय भने खेलकूद मन्त्रीसहित राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले पोखरामै गएर भौतिक पूर्वाधारदेखिका क्षेत्र सहयोग गरेको उनले बताए।

'मैदानको अवस्था देखेपछि उहाँहरुले पैसाको टेन्सन नलिनुहोस्। मैदान निर्माणमा लाग्नुहोस। हामी सहयोग गर्छौं भन्नुभयो,' शिवाकोटीले भने, 'अहिले दुबो उम्रन सक्ने अवस्था चाहिँ भएन। माटोमै भए पनि मैदान अलि खेल्न हुने भएको छ। हामी पानी हालेर भए पनि खेलाउने अवस्थामा छौं।'

तस्विरः रमेश शिवाकोटी

यसअघिको सागमा पनि आर्चरीले सहभागिता नजनाएको होइन। तर, स्वर्ण पदक भने हात पार्न सकेको छैन।

नेपालले यसअघि ११औं सागमा टिम रिकर्भ इभेन्टमा कास्य पदक हात पारेको थियो भने भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औं सागमा व्यक्तिगत इभेन्टमा नेपाली खेलाडीहरुले कास्य पदक हात पारेका थिए।

अहिलेको समस्या खेल समाग्रीलगायत प्रतियोगिताका लागि चाहिने उपकरणको रहेको शिवाकोटी बताउँछन्।

आर्चरीबाट कुल १६ खेलाडीको सहभागिता रहेको छ। सागका लागि ८ महिला र ८ पुरुष गरी १६ जना खेलाडीले पोखरामा बन्द प्रशिक्षण लिएका थिए।

सागमा आर्चरीको प्रतिस्पर्धा ५ डिसेम्बरदेखि ९ डिसेम्बरसम्म पोखरामा हुनेछ। अभ्यास पनि पोखरामै गरेको नेपाललाई प्रतियोगिता पनि त्यहीँ हुँदा केही राहत मिल्नेछ।

पोखराबाहेक नेपाली खेलाडीहरुले वैदेशिक प्रशिक्षणसमेत लिएका थिए। नेपाली ४ खेलाडीले जापानमा प्रशिक्षण लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell