PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चीनसँग जोड्ने रेलको कुरो कहाँ पुग्यो? आउँदै २३ सदस्यीय चिनियाँ टोली



दिनेश खड्का

चीनसँग जोड्ने रेलको कुरो कहाँ पुग्यो? आउँदै २३ सदस्यीय चिनियाँ टोली

काठमाडौं : नेपाल चीन जोड्ने केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता (फिजिविलिटी) अध्ययन अघि बढाउने विषयमा वार्ता गर्न चिनियाँ टोली आगामी साता काठमाडौं आउने भएको छ।

रेल विभागका अनुसार सोमबार २३ सदस्यीय चिनियाँ टोली काठमाडौं आईपुग्ने छ। मंगलबार केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा द्वीपक्षीय छलफल हुनेछ।

छलफलले सम्भाव्यता अध्ययन कहिलेबाट सुरु गर्ने, कसको लगानी कति हुने, कसरी गर्ने भन्ने लगायतका विषय टुङग्याउने छ। बुधवार चिनियाँ टोली काठमाडौं-पोखरा रेलमार्गको स्थलगत अध्ययनका लागि पोखरा जानेछ।

बिहीवार टोली स्वदेश फिर्ता हुनेछ। जम्वो टोली नेपाल आउन लागेको भए पनि कसको नेतृत्वमा आउने भन्ने जानकारी नआइसकेको रेल विभागले जनाएको छ। रेलवे एड्मिनिस्ट्रेसनका प्रतिनिधि सहितको टोली नेपाल आउने छ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केरुङ काठमाडौं रेलमार्गको चिनियाँ पक्षसँग वार्ता गर्न स्वीकृति दिँदै कार्यभार सम्हालेका छन्। यो वार्तासँगै केरुङ काठमाडौं रेलमार्गको सम्भाब्यता अध्ययन हुनेछ। जसले रेल परियोजनालाई एक कदमअघि बढाउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरहकै रिपोर्ट तयार पार्न लागिएको हो। चिनियाँहरुले डिपिआरको साटो 'डिटेल फिजिविलिटी' भन्ने शब्द प्रयोग गर्छन्। फिजिविलिटी रिपोर्ट तयार पारेपछि निर्माण अघि बढाउन सकिन्छ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको क्रममा यो रेलमार्गको डिटेल फिजिविलिटी गर्ने द्वीपक्षीय सम्झौता भएको थियो। यो बैठक उक्त सम्झौता कार्यान्वयनका लागि बस्न लागेको हो। प्रत्येक ६ महिनामा दुई देशको रेलसम्वन्धी वर्किङ कमिटीको बैठक बस्ने गरेको छ।

रेलमार्गको प्रि फिजिविलिटी रिपोर्ट तयार पारेको करिव डेढ वर्षपछि बल्ल डिटेल फिजिविलिटी गर्न लागिएको हो। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले प्रि फिजिविलिटी तयार पारेको हो।

तीन महिना लगाएर प्रि फिजिविलिटी गरिएको भए पनि त्यसपछि ठोस निर्णय नहुँदा आयोजना अघि बढ्न सकेको थिएन। यो वैठकसँगै आयोजना अघि बढ्ने रेल विभागले विश्वास लिएको छ।

चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लम्वाईको हुनेछ। ७ वटा १८ किलोमिटरसम्म लम्वाईका सुरुङमार्ग निर्माण हुनेछ। त्यस्तै ७० मिटरसम्म उचाईका पुलहरु निर्माण गर्नुपर्ने छ।

९५ प्रतिशत रेलको लिक सुरुङमार्ग र पुलमाथि रहनेछ। बाँकी करिव ५ प्रतिशत सतहमा रहनेछ। यो रेलमार्ग निर्माणका लागि २ खर्ब ५६ अर्ब लाग्ने प्रि फिजिविलिटी रिपोर्टले देखाएको छ।अब गरिने डिटेल अध्ययनमा सम्पूर्ण कोणबाट हेरिने भएकाले अझै गहिराईको जानकारी आउने रेल विभागका अधिकारीहरु बताउछन्। जसले लागतमा समेत २० प्रतिशतसम्म फरक पार्न सक्नेछ।

निर्माणको मोडालिटी कस्तो?

रेलमार्गको मोडालिटी तत्कालै टुङग्याउनु पर्ने आवश्यकता नरहेको रेल विभागका अधिकारीहरुको भनाई छ। डिटेल फिजिविलिटी भएपछि सरकारसँग निर्माण गर्न सक्ने एउटा डकुमेन्ट हुन्छ त्यसपछि मात्रै यसबारे छलफल गरेर टुङगो लगाउँदा हुने उनीहरुको भनाई छ।

'प्रोजेटका धेरै स्टेज हुन्छन। सबैभन्दा पहिले कन्सेप्ट बनाइन्छ। त्यसलाई टेक्निकल्ली फिजिवल बनाउन प्रि फिजिविलिटी अध्ययन गर्नुपर्छ। त्यो फिजिवल देखिन्छ अनि डिटेल इन्जिनियरिङ गरिन्छ,' रेल विभागका महानिर्देशक मिश्रले भने 'केरुङ काठमाडौंको हकमा त्यो हुँदैछ। अनि त्यसपछि एउटा प्रारुप आउँछ। तत्कालको मुल्यमा कति लागत लाग्ने, कति मानिसहरु प्रभावित हुने, रेलमार्ग निर्माण हुने लगायतका विषय यसमा हुनेछ। त्यो चरणमा बल्ल लागत खोज्ने हो।'

रेल विभागका अधिकारीहरुका अनुसार प्रि फिजिविलिटी अध्ययनमा चीनले नेपालले पनि केहि अपनत्व लेओस् भन्ने चाहेको छ। चिनियाँहरु अनुदानमै प्रि फिजिविलिटी गरिदिन पनि सकारात्मक नै देखिन्छ। निर्माणको मोडालिटी भने विस्तारै टुङग्याउने दुई देशका अधिकारीहरुको वीचमा समझदारी बनेको छ। फिजिविलिटी अध्ययन थालिएसँगै रेलमार्ग निर्माण हुने निश्चित भएको विभागको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell