काठमाडौं : अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ। लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको आज थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी)को काठमाडौंस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्याएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए।
आफ्नो पेशामा पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उनका समकालीन र पछिल्ला पुस्ताले पेशागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए। उनको शनिवार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ। गुरुवाचार्यका श्रीमती, छोरा पत्रकार विनाज र एक छोरी छन्।