PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

रञ्जना लिपिको पुनरुत्थान : क्यालिग्राफीप्रति आकर्षण, प्रयोग चाहिँ न्यून



सहयोग रञ्जित

रञ्जना लिपिको पुनरुत्थान : क्यालिग्राफीप्रति आकर्षण, प्रयोग चाहिँ न्यून

शुक्रवार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा रञ्जना लिपि पुनरुत्थानको बारेमा अन्तर्क्रिया चलिरहेको थियो। डबलीको केही टाढा भने बालबालिका रञ्जना लिपिमा आफ्नो नाम लेखाउन लामवद्ध देखिन्थे। ती बालबालिका रञ्जना लिपिबारे अनभिज्ञ हुँदाहुँदै पनि नाम टिपाउन तत्पर थिए।

नेपाल लिपि गुठीले सुरु गरेको रञ्जना क्यालिग्राफी क्याम्पेन अन्तर्गत अहिले देशभर रञ्जना लिपिलाई पुर्नजीवित बनाउने प्रयास भइरहेको छ। त्यसैको निरन्तरता स्वरुप काठमाडौंमा संचालन भइरहेको तेस्रो नेपालभाषा साहित्य नख: मा शुक्रवार सयौंले रञ्जना लिपिबाट आफ्नो लेखाए।

रञ्जना लिपिमा नाम लेखाएकाहरु सबै दंग। बालबालिका यसबारे बुझ्ने प्रयासमा थिए। लिपि लेख्ने काम गरिरहेका स्वयम् सेवक उनीहरुको जिज्ञासा मेटाउने प्रयास गर्दै थिए। यता, डबलीबाट 'लिपि सुन्दरी' सुनिता डंगोल भन्दै थिइन्, 'रञ्जना लिपि पनि छ र भन्ने मानिसहरु पनि छन्। उनीहरुलाई बुझाउन हामी नै टोलटोलमा जानुपर्छ। त्यसैले शनिवार विभिन्न स्थानमा रञ्जना लिपिको क्यालिग्राफी आयोजना गरेर लिपिमा लेख्न सिकाइरहेका छौं।'

अहिले असन, तलाछेँस्थित नेपाल लिपि गुठीको कार्यालयमा समेत सबै उमेरका व्यक्तिलाई रञ्जना र नेपाल लिपिको प्रशिक्षण कक्षा दिने गरिएको छ। कक्षामा उपस्थित भएर लिपि सिकेकाहरु अहिले अरुलाई लिपि सिकाउन सहयोग गरिरहेका छन्।

रञ्जना लिपिका कारण नै सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघमा दर्ता भएको थियो। भारतले देवनागरी लिपि दर्ता गराइसकेकाले नेपालले 'रञ्जना लिपि' लाई नेपालको आधिकारिक लिपिको रुपमा दर्ता गराउँदै संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो। तर, त्यसपछि रञ्जना लिपिको संरक्षणमा राज्यले सरोकार नराखेको सरोकारवालहरु बताउँछन्।

नेपालभरका मन्दिर, स्तुप र चैत्यहरुमा रञ्जना लिपिको प्रयोग भएको पाइन्छ। चीनमा रहेका मन्दिर , स्तुपका साथै १७ औं शताब्दीमा चीनको छ्वान राज्यको राजाको मुकुटमा समेत रञ्जना लिपिबाट 'ॐ मणिपद्यमे हूँ' भनेर लेखिएको छ। यस्तै, 'ग्रेट वाल अफ चाइना' मा समेत रञ्जना लिपिको प्रयोग भएको पाइन्छ। चीनमा रहेका सम्पदा स्थलमा प्रयोग भएका रञ्जना लिपिको संरक्षण राम्रो सँग भइरहँदा मुल मुलुकमा भने यसको प्रयोगलाई महत्व दिइएको पाइँदैन।

काठमाडौंमा रहेको बौद्धनाथ स्तूप प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा पहिला रञ्जना लिपिका अक्षरहरु कुँदिएका थिए। तर, शाहकाल र राणाकालमा विश्वकै सुन्दर लिपिमा गनिने रञ्जना लिपिको संरक्षणमा चासो दिइएन। पंचायतकालमा त सरकारी सेवामा नेपाल भाषा बोल्नै रोक लगाएको अवस्थामा लिपिको प्रयोग बर्जित नै थियो।

अहिले भने नेपालभाषी नेवार समुदायमात्रै नभइ गैर नेवारहरु समेत रञ्जना लिपिलाई ब्युताउनु पर्ने मत राख्छन्। अहिले रञ्जना लिपिसहितको किबोर्ड निर्माण प्रक्रियामा छ।

प्रज्ञा प्रतिष्ठानमा भेटिएका राम कँडेल भन्छन्, 'यो जस्तो सुन्दर लिपि अरु छैन। यसको संरक्षण गरिनुपर्छ। देवनागरीसँगै यसको प्रयोग गर्न सकिए राम्रो हुन्छ।'

+++

रञ्जना लिपिलाई प्रयोगमा ल्याउनकै लागि भनेर अहिले सुनिता डंगोल, आनन्द कुमार महर्जन, सुयोग्य रत्न ताम्राकार लगायतका युवाहरु लागिपरेका छन्। डंगोल र महर्जन केही महिना अघि जापान पुगेर रञ्जना लिपिको प्रचार गरेका थिए। उनीहरु कै प्रयासमा रञ्जना लिपिका साथै नेपाल लिपिको प्रयोगलाई प्राविधिक रुपमा सहज बनाउनका लागि 'एप' बनिसकेको छ। यस्तै युटयुबमा रञ्जना लिपिको प्रयोगबारे 'ट्युटोरियल' राख्ने तयारी समेत भइरहेको छ।

महर्जन भन्छिन्, 'नेपाल लिपि युनिकोडमा आइसकेको छ। हामी रञ्जना लिपिलाई समेत युनिकोडमा ल्याउने प्रयास गर्दैछौं। डेबलेपरहरुले फन्ट यसै बनाउँदैनन्। १० – २० जनाको प्रयोगका लागि फन्ट बनाउने कुरा पनि हुँदैन। उनीहरुले यसको प्रयोग कतिजनाले प्रयोग गर्छन भनेर सम्भाव्यता हेर्छन्। त्यसैले यस लिपिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्नैपर्छ।'

फन्टको बढी भन्दा बढी प्रयोगपछि मात्रै त्यसलाई अन्तर्राष्ट्रियकरण गरिन सकिने उनको मत छ।

डंगोल मौलिक लिपिको रुपमा रहेको रञ्जना लिपिलाई मात्रै नभइ नेपाल लिपिको प्रयोगलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउँछिन्। नेपाल लिपि युनिकोडमा उपलब्ध भइरहेको बताउँदै उनी भन्छिन्, 'हामी नेपालभाषामा प्रकाशित हुने कृति, पत्रिकाहरु देख्छौं। त्यहाँ देवनागरी लिपिको प्रयोग भइरहेको छ। नेपाल लिपि युनिकोडमा आइसकेको अवस्थामा यसको प्रयोग हामीले गरेकै छैनौं। लिपि संरक्षण गर्नुपर्छ भनेर बोलेर मात्रै हुँदैन। त्यसको प्रयोग गर्नुपर्छ।'

भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम मार्फत् बालबालिकाहरुलाई रञ्जना लिपि र नेपाल लिपिको कक्षा दिन सुरु गरिसकेको छ। लिपि संरक्षणमा लागेकाहरुले भने काठमाडौं महानगरले बनाउँदै गरेको स्थानीय पाठ्यक्रममा समेत अनिवार्य रुपमा रञ्जना लिपिको कक्षा राख्नु पर्ने माग गर्दै आएका छन्।

नेपाल लिपि गुठीका निरञ्जन तव: अहिले 'रञ्जना लिपि सिकेर के हुन्छ?' भन्ने प्रश्न उठेको बताउँदै यसको प्रयोगका बारेमा सरोकारवालहरुसँगै बसेर छलफल गर्न सकिने बताउँछन्। रञ्जना लिपिको कक्षामा मानिसहरुको उपस्थिति र क्यालिग्राफीमा रुञ्जना लिपिबाट नाम लेखाउने क्रम तीब्र बढेकोलाई शुभ संकेत भन्दै उनी अहिलेको पुस्ताले यस लिपिको संरक्षण गरे भावी पुस्ताका लागि यो ठूलो गुण हुने बताए।

भने, 'रञ्जना लिपि लेख्न सहज छैन। यो क्यालिग्राफिक गुण भएको लिपि हो। रञ्जना लिपिबाट लेख्न धैर्यता चाहिन्छ। यो लिपि लेख्नु एक प्रकारको योग हो। यसले हाम्रो दिमागलाई ट्रेन गर्छ । त्यसैले यसको प्रयोगलाई प्राथमिक्ता दिनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell