PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सुकीर्तिका सपनाले हालेको पखेटा : पार्क इजी अर्थात् बहुतले पार्किङको योजना



भावना शर्मा

सुकीर्तिका सपनाले हालेको पखेटा : पार्क इजी अर्थात् बहुतले पार्किङको योजना

काठमाडौं : सुकीर्ति  शर्मा, सिभिल इन्जिनियर। शहरमा उनको खासै चर्चा छैन। तर, उनले जुन अवधारणा र मोडेलको परियोजना अघि सारेकी छिन्, त्यो भने यतिबेला चर्चा गर्न लायक मात्र होइन, आवश्यक पनि छ। काठमाडौं जस्तो अव्यवस्थित पार्किङ भएको शहरमा उनले पहिलोपटक बहुतले पार्किङ सिस्टम 'पार्क इजी' भित्र्याएकी छन्। 

चिनियाँ कम्पनी लुथाइडासँग मिलेर उनले नेपालमा स्टिलको बहुतले पार्किङ प्रणाली विकास गर्न काम सुरू गरेकी हुन्। लुटाइडा त्यही कम्पनी हो जसले लामो समयदेखि मेक्सिको, इरान, थाइल्याण्ड, सिंगापुर, साउदी अरेबिया, जिब्राल्टार, रुस, इक्वेडर, पोल्याण्ड, कोस्टारिका, कोरिया र चीनमा बहुतले पार्किङ प्रणाली विकास गर्दै आएको छ। र, अब सुकीर्तिको कम्पनी 'वी बिल्ड' मार्फत नेपालमा पनि बहुतले पार्किङ बनाउने छ।

कम्पनीसँगको 'टाइअप' प्रकिया पूरा भएपछि बल्ल सुकीर्तिका सपनाले पनि पखेटा हाले।

'अब काठमाडौंमा पार्किङ व्यवस्थित त हुनेछ नै, मेरो प्रयासले पनि सफलता चाख्नेछ,'- वी बिल्ड कम्पनीमार्फत बिल्डरको परिचय बनाएकी सुकीर्ति  'पार्क इजी' प्रोजेक्टप्रति निकै उत्साहित भएर भन्छिन्।  

इन्जिनियरिङमा स्नातक गरेपछिका आठ वर्ष उनले नेपाल इन्भेष्टमेन्ट बैंकका भवन र शाखाहरुको नक्सा कोर्न र डिजाइनिङ मै बिताइन्। सन् २०१८ मा बैंकिङ करियरलाई विश्राम दिएपछि तीन महिना उनले रिसर्चमा बिताइन्। अब के गर्ने? उनलाई जागिरभन्दा पनि आफ्नै काम गर्नुपर्छ भन्ने लागेको थियो। तर के गर्ने त ? उत्तर थिएन। साथीभाईहरु विदेशमा सेटल भइसकेका थिए।

उनी यहीँ संघर्षरत थिइन्। तर, उनलाई विदेश मोह कहिल्यै भएन। यहीं केही गरेर देखाउनुपर्छ भन्ने लाग्थ्यो। त्यसैले साथीभाइले बिदेशिँदा पाइने सुखसुविधाको लोभ देखाए पनि यहीँ उनले सुरु गरिन् 'वी बिल्ड' कम्पनी। बिभिन्न भवनको डिजाइनिङ र पुनर्निर्माणको काममा फिल्डमै उत्रिन् सुकीर्ति। तल्लो तहका मजदुरदेखि टप बिल्डरहरुसँगको उठबसले उनले व्यवस्थापकीय अनुभव हासिल गरिन्। पढाइले त धेरै नै सिकाइसकेको थियो। त्यसैले त ३४ वर्षमै उनले साझेदारीमा नभई एकल कम्पनीका रुपमा 'वी बिल्ड' हाँक्ने निर्णय गरिन्। उनी 'वी बिल्ड' की एक्ली मालिक थिइन्, जसको नाफा घाटा र संचालनको सबै जिम्मेवारी उनकै काँधमा थियो। त्यसैले यसपटकको काममा अझ बढी उर्जा र बेग आवश्यक पर्छ भन्ने उनले बुझिसकेकी थिइन्।   

चुनौतीपूर्ण र भविष्य देखिएको सेक्टर थियो अत्याधुनिक पार्किङ सिस्टमको विकास। उनी यसकै अध्ययनमा लागिन्। बिभिन्न देशहरुमा पुगिन् र अन्तमा चीनको कम्पनीसँग डिलरसिप लिएर नेपालमा सुरु गरिन् पार्क इजी। अब यसै कम्पनीमार्फत उनले अस्तव्यस्त सहरलाई सुन्दर बनाउने योजना बनाएकी छिन्। 

बिहान उठ्यो पार्क इजीको मोडेल बोकेर वडादेखि लिएर महानगरपालिकासम्म पुग्यो। अचेल सुकीर्ति को दिन यसरी नै बित्छ। कहिले कुन होटल कहिले कुन मल। बिभिन्न सरकारी निकायहरू। अचेल त कतिपय घरका मालिकले समेत यसमा चासो देखाएका छन्। उनी पार्किङ व्यवस्थित बनाउन मानिसहरुमा देखिएको उत्साहले आफूलाई पनि हौसला मिलेको बताउँछिन्। उनले बिभिन्न कम्पनीहरुसँगको डिल अन्तिम चरणमा पुगेको भन्दै अहिले सुरूवातको समय भएकाले मानिसहरूलाई बहुतले पार्किङ प्रणालीबारे बुझाएर सहज बनाउन समय लाग्ने पनि बताइन्। 

'लिफ्ट बनाउन सुरु गर्दा पनि मान्छेलाई बन्द डिब्बाभित्र बसेर तलमाथि गर्नेबारे सोच्दा पनि डर लाग्थ्यो होला नि ! तर अहिले लिफ्टले कति सहज हुने रहेछ भन्ने सबैले बुझेका छन्,' उनी भन्छिन्, 'मल, होटल मात्र होइन अब त निजी घरहरुमा पनि लिफ्ट राख्न थालिएको छ। यस्तै हो बहुतले पार्किङ प्रणाली पनि ।' यसबारे बुझ्दै गएपछि स्थान अभाव भएको ब्यस्त सहरमा यसको कति महत्व हुन्छ भन्ने सबैलाई अनुभव हुने उनी बताउँछिन् । बहुतले पार्किङ प्रणालीमा सानो स्थानमा पनि धेरै पार्किङ गर्न सकिने हुँदा यो विधि काठमाडौं जस्तो साँघुरो र खाली जमीन कम हुँदै गएको सहरको लागि उपयोगी हुने उनको भनाइ छ । 

अव्यवस्थित पार्किङ समस्या
काठमाडौंमा जसरी सवारीको चाप बढिरहेको छ, त्यसअनुसारको सडकको बिस्तार तथा पार्किङ प्रणालीको विकास हुन सकिरहेको छैन। खुला स्थानको अभाव र साँघुरो सडकमा हुने गरेको अव्यवस्थित पार्किङले सहरको रूप बिगारेको छ। नेपालभर ३६ लाखको हाराहारीमा दर्ता भएका सवारीसाधनमध्ये वागमती अञ्चलमा मात्रै १२ लाखभन्दा बढी दर्ता र सञ्चालन भइरहेको तथ्यांकले देखाउँछ। यातायात व्यवस्था विभागका हाल उपत्यकामा दैनिक १० लाखभन्दा बढी मोटरसाइकल र दुई लाखभन्दा बढी गाडी गुड्छन्। सवारीसाधनको संख्या दिनदिनै बढे पनि सडकको अवस्था भने सुध्रिएको छैन। 

हालसम्म पनि काठमाडौंका भित्री सडकहरुमा पार्किङ अव्यवस्थित नै छ। पछिल्लो समयमा आएको अण्डरग्राउण्ड पार्किङले ठूला मलहरुमा जाने सवारीका लागि लागि पार्किङ गर्ने व्यवस्था त भएको छ, तर यसले सवारीसाधन धेरै भएका भित्री सहरहरूमा परेको चाप धान्न सक्दैन। बाक्लो बस्ती र धेरै सवारी भएका भित्री सहरमा खाली जमीन नै कम छ । यस्तोमा साँघुरा सडकमै जथाभावी गाडी अड्याउने चलनले सहरको सौन्दर्य नै हराएको छ। 

न्यूरोड र दरवारमार्गजस्ता व्यस्त सडकमा अभ्यासमा आएको स्मार्ट पार्किङ प्रणालीले खासै धेरै सवारीलाई राहत दिएको छैन। गाडी एक घण्टा पार्किङ गर्दा न्यूनतम ८० रुपैयाँ लाग्ने यो प्रणालीलाई सस्तो पनि नभएको सवारीधनीहरूले गुनासो गर्दै आएका छन्।  

काठमाडौं महानगरपालिकाले पहिलोपटक भूगोलपार्क नजिकै बहुतले पार्किङ बनाउने योजना बनाएको छ ।  परीक्षणका रूपमा बनाउन अघि सारिएको बहुतले पार्किङ प्रणाली योजना अन्तिम चरणमा पुगेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। निजी क्षेत्रले यसको निर्माणको इच्छा देखाएको भए पनि कसले बनाउने भन्ने टुंगो लागेको छैन । 'यो सुरुवात मात्र हो, एउटा मात्र बनेर हुँदैन । हामीले कोर सिटी, मध्य भागमा, उत्तर, पूर्व, दक्षिणको नाका नाकामा तहगत पार्किङ बनाउने योजना बनाएका छौं,' उनले भने, 'खासमा सहरको अव्यवस्थित पार्किङको अन्तिम समाधान अटो लिफ्ट पार्किङ नै हो।'  

सडक, सवारी र सहरको सम्बन्ध
गत मार्चमा नेदरल्याण्डको एम्सटर्डम सहरले यौटा ठूलो प्रस्ताव पास गर्‍यो। उसले व्यवस्थित पार्किङ प्रणाली विकास गर्नका लागि सहरमा रहेका ११ हजार पार्किङ स्पटहरूलाई हटाउने निर्णय लियो।  

भित्री सहरका पार्किङ स्थलहरुलाई हटाएर उसले पैदल यात्रुका लागि फराकिला फुटपाथ, साइकल लेन र अझ बढी हरियालीसहितको सडक बिस्तारलाई प्राथमिकतामा लिएको थियो। यसले सहरको सौन्दर्य बढाउने मात्र नभई दीर्घकालसम्मका लागि नागरिकको स्वास्थ्य र वातावरणमा महत्वपूर्ण सहयोग पुग्नेछ। 

आम्सटर्डममा सन् २०२५ को अन्त्यसम्ममा सहरबाट ११ हजार २ सयवटा पार्किङ स्थल गायव हुँदैछन्, जसले सहरको अनुहार बदल्ने भन्दै त्यहाँका नागरिकहरुले पनि उक्त योजनालाई सकारात्मक कदमका रुपमा लिएका छन्। 

स्वीटजरल्याण्डको जुरिच सहरले पनि सन् १९६० को दशकमै 'पार्किङ मिनिमम' को अवधारणा लिइसकेको थियो। यस्तो नीतिले परम्परागत सवारी प्रणालीबाट सहरमा देखिएको अव्यवस्थालाई हटाउन मद्दत पुग्यो। 

मेक्सिकोले सन् २०१४ मा नै आफ्नो सहरको पार्किङ व्यवस्थापनको लागि 'लेस पार्किङ मोर सिटी' अवसधारणा अघि सार्‍यो, जसले पार्किङ प्रणालीमा सुधारका साथै सहरलाई व्यवस्थित बनाउन मद्दत पुर्‍याइरहेको छ। 

यतिबेला अमेरिका, यूरोप, चीन, जापान र मध्यपूर्वका अधिकांश सहरहरुमा व्यवस्थित पार्किङ प्रणालीको विकासलाई महत्वपूर्ण पूर्वाधार विकासको रुपमा अघि बढाइएको छ। कम स्थानमा धेरै सवारीसाधन अँटाउने भर्टिकल पार्किङ अर्थात बहुतले पार्किङ प्रणाली आधुनिक पार्किङ व्यवस्थापनको महत्वपूर्ण कडी हो। 

पछिल्लो समय काठमाडौंको अस्तव्यस्त पार्किङ प्रणालीलाई सुधार गर्नका लागि पनि बहुतले पार्किङ प्रणाली विकासको अवधारणा आएको छ। अमेरिका र बेलायतमा झण्डै सय वर्षअघि नै सुरुवात भइसकेको भर्टिकल अर्थात तहगत पार्किङ प्रणालीबारे नेपालमा भर्खरै बहस सुरू हुन थालेको हो। एक त व्यस्त सहरमा सडक नै साँघुरा छन्, त्यसमाथि ती सडकका पेटीहरु पनि साना छन्। यस्तोमा सडकमा गरिने पार्किङले पैदलयात्रुलाई जोखिममा पारिरहेको छ।  यहाँ तहगत पार्किङ सुरू हुन सकेमा सहरको सौन्दर्य बढ्नेमात्र नभई समग्र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने देखिन्छ। 

के हो पार्क इजी ?
सीमित ठाउँमा धेरै गाडी अँटाउने गरी बनाइने तला तलाको पार्किङ नै 'भर्टिकल रोटेटिङ पार्किङ सिस्टम' हो।  यो विश्वमा प्रख्यात पार्किङ प्रणाली हो। स्टिलबाट बन्ने यस्तो पार्किङ लटमा दुईवटा मात्र गाडी अँटाउने क्षेत्रफलमा तला तला गरी  १२, १६ वा २० वटासम्म पार्क गर्ने सकिने संरचना तयार गरिन्छ। यस्ता स्टिल संरचनाको आयू ५० वर्षभन्दा पनि बढी हुने सुकीर्ति बताउँछिन्। स्टिलको प्रयोग गर्दा कंक्रिटको संरचनामा भन्दा बढी स्पेस क्रियट हुने र यसलाई राख्न झिक्न पनि सजिलो हुने उनले जानकारी दिइन्। स्टिलले निर्माण गर्दा समय पनि कम लाग्छ। नेपालमा आजसम्म यो प्रणाली प्रयोगमा आएको छैन। 

उनी आफैँ पनि लिजमा जमीन लिएर भर्टिकल रोटेटिङ पार्किङ सिस्टम निर्माणको तयारी गरिरहेकी छन्। तर यो सिस्टम निर्माण त्यति सस्तो पनि छैन। उनका अनुसार पार्किङ लटमा एउटा गाडी अँट्ने युनिट तयार पार्न अनुमानित रुपमा १० हजार डलर लागत आउँछ । १२ वटा बनाउन कम्तीमा एक करोड खर्चिनै पर्ने हुन्छ। त्यसैले सुरूवातमा खर्चिलो भएपनि यस्ता प्रणालीहरु ५० वर्षसम्म टिक्ने भएकाले दीर्घकालमा फाइदा हुने उनको भनाई छ। 'तीन वर्षमै यसको निर्माण लागत उठिसक्छ र बाँकीको समय घरको भाडा खाए जस्तै पार्किङको भाडा खाएर बस्ने ब्यापारका रुपमा पनि मानिसले यसलाई अघि बढाउन सक्छन्,' जग्गाधनीले लाभ लिने काइदाका रूपमा पनि यस्तो प्रणाली विकास गर्न सकिने  सुकीर्तिले बताइन्।  

'यो त क्रान्ति नै हो। हामीले न्यूरोड, असन र दरबारमार्गजस्ता ठाउँमा भोग्नुपरिरहेको पार्किङको दैनिक समस्याबाट छुटकारा मिल्छ। सडक भद्दा पनि पनि हुँदैन,' उनी भन्छिन्, 'सहरको आकर्षण पनि हो यस्ता पार्किङ सिस्टमहरू ।' नेपालमा हाललाई १२ देखि १६ तलासम्मको भर्टिकल पार्किङ बनाउने स्वीकृति पाएको जानकारी उनले दिइन्।  

सुकीर्तिको लक्ष्य धेरै परसम्मको छ। भन्छिन्, 'सपना त मेरो यो सहरमा मोनोरेलको प्रणाली ल्याएर काम गर्नेसम्मको छ । तर अहिलेलाई यही पार्किङ प्रणालीलाई व्यवस्थित बनाइसकौं ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell