PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पोखरामा सागको चटारो : दिन रात हुन्छ रंगशाला निर्माणको काम, समयमै तयार होला त रंगशाला?



विष्णु गौतम

पोखरामा सागको चटारो : दिन रात हुन्छ रंगशाला निर्माणको काम, समयमै तयार होला त रंगशाला?

पोखरा : पोखरा रंगशाला अहिले चौविसै घण्टा व्यस्त देखिएको छ। नेपालको सहभागिता र निरन्तरताको हिसाबले सबैभन्दा प्रतिष्ठित खेल साग पोखराको यहि रंगशालामा पनि हुँदै छ।

१३ औँ साग नेपालले गर्ने जिम्मा पाएको छ। जसका ८ खेल पोखरामा हुँदै छन्। आठ मध्येमा पनि पाँच खेल यहि रंगशालामा हुँदै छ। रंगशालामा हुने खेलबाट कम्तीमा पनि पाँचवटा स्वर्ण पदक आशा गरेका छ। स्वर्णको तयारीमा सबै खेलाडी रातदिन खटिएका छन् भने खेल स्थल र आवश्यक पुर्वाधार बनाउन पनि व्यवस्थापकीय टिम उत्तिकै खटेको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरामा हुने सबै खेल स्थल निर्माण र आवश्यक पुर्वाधार निर्माण नसकेसम्म ननिदाउने सार्वजनिक प्रतिवद्धता नै जनाएका छन्।

उनी भन्छन्, ‘पोखरामा हुने यो प्रतियोगिता राज्यको लागि विकल्प होला तर हाम्रो लागि यो जीवनकै सबैभन्दा ठूलो अवसर हो, अवसर चुकाउनु भनेको आफू कमजोर हुनु हो।’

सार्कका खेलहरु पोखरामा हुने तय नभएको भए आफूहरुले यति व्यवस्थित रंगशाला पाउन ५० वर्ष कुर्नु पर्ने उनी सुनाउँछन्। खेललाई अन्तर्राष्ट्रिय स्तरमा लगिए मात्रै खेलको विकास हुने उनको भनाइ छ।

पोखरामा अहिलेको सागमा महिलारपुरुष ह्याण्डबल, महिला फुटबल, आर्चरी, भारत्तोलन, ट्राईथोलन, क्रिकेट, बिच भलिवल र ब्याडमिन्टन गरी आठ खेल हुँदै छन्। गत बुधवारसम्म विभिन्न राष्ट्रले आफूहरु सहभागी हुने खेलमा दर्ता गराइसकेका छन्। तर प्याराग्लाइडिङमा भने नेपाल र पाकिस्तानको मात्रै दर्ता भएकाले स्वतः प्याराग्लाइडिङ नहुने भएको छ। सागको नियम अनुसार कुनै पनि खेल हुनका लागि न्यूनतम पनि तीन राष्ट्रले सहभागिता जनाउनु पर्छ। सागमा सार्क मुलुकका ९ सय ६२ खेलाडीसहित ८ वटा खेल हुँदै छ।

पोखरामा हुने खेलहरुमध्ये सबैभन्दा बढी समस्या महिला फुटबलको खेल मैदानमा रहेको छ। एक महिना अगाडी नै सम्पन्न हुनु पर्ने भए पनि प्राविधक र मौसम परिवर्तनका कारण आधा जसो दुबो मरेपछि पुनः दुबो रोप्ने काम भइरहेको छ। उक्त मैदान निर्माणको काम आज पनि चल्ने परिषदका सदस्य राजेश गुरुङले जानकारी दिए। अहिलेसम्म रंगशाला भित्र महिला पुरुष ह्याण्डवल, क्रिकेट, आर्चरी, महिला फुटबल, व्याडमिन्टन हुने तय भएको छ। पोखराकै माटेपानीको के सी क्याटरिङको परिषरमा भारत्तोलन, लेकसाईडको किनारामा बिच भलिबल र ट्राईथलोन हुँदै छ ।

महिला भलिबल वाहेक सबै खेलको खेल मैदान निर्माणको काम सकिएको छ। अब अस्थाई प्याराफिट निर्माणको काम मात्रै बाँकी छ। मंसिर १० गते भित्र सबै काम सक्ने गरी तीन सय ५० जना विदेशी र नेपालीले काम गरिरहेका छन्। आवश्यकता अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरीले पनि काम गरिरहेका छन्।

महिला फुटबलका लागि फ्रान्सबाट ल्याइएको अन्तर्राष्ट्रिय प्रविधिको स्काफोल्डिङ प्याराफिट जडान भइरहेको छ। जसमा १० हजार दर्शकले एकै पटकमा खेल हेर्न सक्ने छन् भने क्रिकेट खेलका लागि ४ हजार जनाले बसेर हेर्न मिल्ने अस्थाई प्याराफिट निर्माण भइरहेको छ।

यस्तै ह्याण्डबलमा तीन हजार जनाले हेर्न मिल्ने स्थाई प्याराफिट निर्माण भइसकेको छ भने ब्याडमिण्टनमा चार वटा खेल मैदान सहित पाँच सय दर्शकले हेर्न मिल्ने अस्थाई मिनी प्याराफिट निर्माण हुँदै छ। लेकसाइडमा हुने बिच भलिवलका लागि एक हजार जनाले हेर्न मिल्ने अस्थाई प्याराफिट निर्मण हुने छ।

यी सबै काम १० गते भित्रमा सक्ने गरी व्यवस्थापन गरिएको छ। अन्य खेलका लागि भने दर्शकहरुलाई खेल हेर्ने सुविधा प्रधान नगरिने परिषदका सदस्य गुरुङले जानकारी दिए।

उनले भने, ‘कतिपय खेलहरुमा व्यवस्थित प्याराफिट निर्माण गर्न सम्भव हुँदैन त्यसैले यस्तो गरेका हौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell