PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फिल्म बाला र हाउसफुलबाट हेर्दा उपनामको मनोविज्ञान : नाम राखिहाल्नुअघि सोच्‍ने कि? {ब्लग}



मुकुन्द घिमिरे

फिल्म बाला र हाउसफुलबाट हेर्दा उपनामको मनोविज्ञान : नाम राखिहाल्नुअघि सोच्‍ने कि? {ब्लग}

पछिल्लो पटक २ वटा बलिउड फिल्म हेरेँ। पहिलो 'हाउसफुल ४' र दोस्रो 'बाला'। हाउसफुल कात्तिकको पहिलो साता प्रदर्शनमा आएको थियो भने बाला कात्तिक २२ बाट।

यी दुई फिल्महरु एउटै स्थानमा आएर मिलेको अनुभव भयो। त्यो हो तालुखुइले बन्नुको पीडा। दुवै फिल्ममा नायकको 'बाला' छ, जबकि उनीहरुको कपाल नै छैन। हाउसफूल ४ मा कपाल नहुँदा मनोवैज्ञानिक रुपमा कोही कति हिंस्रक हुन सक्छ भन्ने देखाएको छ। उक्त फिल्मका पात्र बालाले आफ्नो कपाल नहुनुको पीडा अरुको कपाल काट्नेदेखि लिएर अन्य गतिविधिबाट पोखेको देखाइएको छ।

त्यस्तै 'बाला'मा कपाल नहुँदा जीवनमा कति असर पर्ला भन्ने देखिन्छ। त्यतिमात्र होइन कालो वर्ण भएकै कारण बालबालिकाले कति पीडाबोध गर्छन् भन्ने पनि देखाइएको छ। त्यहा कृष्ण लीलाको एक प्रसंङ्गमा कुब्जालाई कृष्णले सुन्दरी बनाए नाटकको भाग देखाउँदै सुन्दरताको पछि लागेर कसरी कालो वर्णका मानिसहरुलाई कति असर गरेको छ भन्ने देखिन्छ।

फिल्मको मुख्य पात्र 'लतिका' लाई कुब्जाको भूमिका दिइन्छ र सुन्दर महिलाकोमा अर्कै जनालाई ल्याइन्छ। त्यति मात्र होइन वर्ण या कुनै अरु समस्यालाई लिएर 'मार्केटिङ' कसरी हुन्छ भन्ने पनि देखाइएको छ।

यो कुनै कपाल, वर्णको मात्र समस्या होइन। बालबालिकालाई उपनाम राखेर बोलाउने प्रचलन हाम्रो समाजमा सामान्य जस्तै छ। अझ वर्ण, जात र अन्य शारीरिक समस्यालाई लिएर उडाउने चलन पनि त्यतिकै छ। 'काले', 'डल्ले', 'फुच्चे', 'साने' हाम्रो समाजमा बच्चालाई बोलाउन प्रयोग गरिने सामान्य शब्दावलीहरु हुन्। तर, लगातार ती नामले बोलाउँदा बालमनोविज्ञानमा कस्तो असर पर्ला यो सायद हामीले सोचेका नहुन सक्छौं। ती नामहरु माया गरेर बोलाइएको भए पनि त्यसलाई मानिसले मनोवैज्ञानिक रुपमा कसरी लिइरहेको हुन्छ त? हाम्रो सोच नपुगिरहेको हुन सक्छ।

सन् १९४८ मा हर्वाड युनिभर्सिटीका दुई प्रोफेसरले ३३ सय मानिसहरुमा एक अध्ययन गरेका थिए। जसले उपनाम मात्र होइन असामान्य नामहरुले पनि मनोविज्ञानमा असर गर्ने देखिएको थियो। उक्त अध्ययनमा असामान्य नाम भएका मानिसले माथि जान नसक्ने या मनोरोगको लक्षण देखा परेको बताइएको छ। अझ पछिल्ला केही अध्ययनहरुले त व्यवसाय छनोट गर्नेदेखि विवाह, शिक्षालगायतका क्षेत्रमा पनि 'नाम', 'उपनाम' ले प्रभाव पार्ने देखाएको छ।

यसमा मेरो पनि अनुभव छ कुनै बेलाको। एसएलसी पास गरुन्जेल पनि मेरो उचाइ धेरै होचो थियो। 'बढ्ने उमेर सकियो । यो पुरै गान्टे हुने रै’छ।' गाउँतिर गयो कि सुनिहाल्नु पर्ने। पछि त ती मान्छे देख्दा पनि अर्को बाटो हिँड्न मन लाग्ने। दिमाग भरी हाइटकै टेन्सन भएपछि अरु कुरा सोचमै नआउउने भइसकेको थियो। त्यसबेल गाडीमा भाडा माग्दा खुशी लाग्थो। 'ओहो ठूलो देखिएछु' भनेर।

यस्ता विषयले मानसिक रुपमा कति असर गर्छ भन्ने कुरा त 'बाला' मा पनि हेर्ने सकिन्छ। त्यसमा 'बाला' कपाल उमार्नकै लागि भैसीको गोवरदेखि वीर्य लगाउन पनि पछि पर्दैन। तर, उसको कपाल आउँदैन। यति मात्र होइन कपालकै कारण उसको वैवाहिक जीवनसमेत बिग्रिन्छ।

यति धेरै कुरा आएपछि मलाई पनि यसबारे थप बुझ्न मन लाग्यो। फोन घुमाएँ मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष मनोबिद गोपाल ढकाललाई।

मनोविद ढकालले शुरुमै नामको ठूलो मनोविज्ञान हुने बताए। राम्रो नाम राखे त्यसले मोटिभेट गर्ने र नाम मन नपरे त्यसले आत्मसम्मानमा चोट पुग्ने, हिनताबोध गर्नेदेखि लिएर 'भायोलेन्ट' बन्न सक्ने तर्फ औल्याए। उनले शिक्षक तथा परिवारले माया गरेर नै उपनाम राख्दा पनि बच्चालाई मन परेको छ या छैन भन्नेमा सचेत हुनुपर्ने मा जोडदिए।

'नराम्रो नामले आत्म सम्मानमा चोट पुर्‍याउँछ। अरुले बोलाउने भनेको नामले नै हो। यदि नाम नै आफूलाई मन नपरेको छ भने आज सुन्यो, भोलि सुन्यो, पर्सि सुन्यो। त्यसले पक्कै पनि नकारात्मक असर गर्छ।'

उपनाम त्यसमा व्यक्तित्वमा जोडिएको उपनामले मानिसलाई हिंसाको बाटोमा पनि लैजानसक्ने कुरा मनोविद ढकालबाट बुझिन्थ्यो।

मनोविद ढकालको कुरा सुन्दै गर्दा मलाई पनि विद्यलय पढ्दाको कुरा याद आयो। एउटा साथीमा कुनै ठाउँबाट बसाइँसरेर आएकी थिइन्। म पढिरहेकै स्कुलमा आइन्। आँखा अलि बांगो गरी हेर्ने उनको नाम स्कुल राखिहाले 'टेढी' भनेर। एकदिन, दुईदिन गर्दै उनलाई सबैले उपनामले नै बोलाउन थाले। त्यसको २ महिना पछि उनी विद्यालय नै आउन छोडिन्। अर्को विद्यालय गइन् भन्ने कुरा सुनेको थिएँ। अहिले सम्झिदा कति हिनताबोध भएको थियो होला भन्ने लाग्छ।

यसमा मनोविद ढकाल विद्यालमै शिक्षकले राखिदिएको उपनाम पनि विद्यार्थीमा नराम्रो असर परिरहेको हुन सक्ने भएकाले यसमा सचेत हुनुपर्ने बताउँछन्।

'हाम्रो समाजमा विशेषगरी गिज्याउने गरी काले, भुन्टे, गोरे, डल्ले जस्ता नाम राख्ने गरिन्छ। एकछिन रमाइलो गरे पनि त्यसको दीर्घकालीन असर हुने गर्छ,' उनले थपे, 'यसले हिनताबोध गराउने गर्छ। त्यसले गर्दा बच्च स्कुल नगएको पनि धेरै देख्ने गरेका छौं। यो एककिसिमको 'बुलिङ' नै हो। जसले मानसिक रुपमा टर्चर दिन्छ।'

हो यही मानसिक टर्चर र मनोविज्ञान देखाइएको छ यी दुई फिल्म हाउसफुल ४ र बालामा। लतिकाको 'काली' भएकै कारण पाउनु परेको उपनाम 'कुब्जा', कपाल नभए पनि बाला नाम राखेपछि हिंसात्मक रुपमा उत्रिएको (हाउसफुल) र कपाल नभएपछि 'टक्ले' नामबाट बच्न बालाले गरेको संघर्षले समाजको त्यो पक्षलाई झस्काउँछ जसलाई हामी देखेर पनि देख्दैनौं।

यो त देखिएको र लेखिएको विषय भयो। हाम्रै समाजमा देखिएको तर नलेखिएको यस्ता विषय कति छन् कति।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell