PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चितवन मेडिकल कलेज परिसरमा भेटियो गोलीसहितको अत्याधुनिक पेस्तोल



रासस

चितवन मेडिकल कलेज परिसरमा भेटियो गोलीसहितको अत्याधुनिक पेस्तोल
प्रतीकात्मक तस्विर।

चितवन : भरतपुरस्थित चितवन मेडिकल कलेज परिसरमा गोलीसहितको पेस्तोल फेला परेको छ। बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको हो। 

भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो बेवारिसे पेस्तोल भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो। त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामत गरिएको उनले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार आज दिउँसो ३:३० बजे पेस्तोलसहित गोली भेटाएको हो। कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएका थिए। प्रहरी उपरीक्षक मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन शुरु गरिएको बताए।

कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ। दशैँपछि एक साता पढाइ भए पनि त्यसपछि शैक्षिक कार्यक्रम ठप्प रहेको छ। कलेज परिसरमै रहेको आवास नजिकै पेस्तोल र गोली फेला परेको हो। आवासमा २०० विद्यार्थी बसोबास गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell