PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दिने र माग्ने परम्पराबाट विकास सम्भव छैन : मुख्यमन्त्री शाही



रासस

दिने र माग्ने परम्पराबाट विकास सम्भव छैन : मुख्यमन्त्री शाही
फाइल फोटो।

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताएका छन्।

रिपोर्टर्स क्लब कर्णाली प्रदेशको पहिलो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै उनले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताए। सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री शाहीले भने, 'कर्णाली आफैँमा अत्यन्तै सुन्दर प्रदेश हो। केहीले भन्छन्, कर्णाली सुनको डल्ला हो त कसैले भन्छन्, उत्कृष्ट भूमि हो। यही सुनको डल्लो हो होइन भन्ने वास्तविक कुराको प्रमाणित गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ।'

त्यसका साथै कर्णालीमा थुप्रै समस्या भएको जनाउँदै उनले यसको विकासका लागि पत्रकारले स्वच्छ सिपाहीको भूमिकामा रहेर काम गर्न आग्रह गरे।

'कर्णाली नबन्नुका कारण अरुलाई दोषी देख्नुहुँदैन', उनले भने, 'अब आत्मसमीक्षा गर्न जरुरी छ। हामी कमजोर छैनौँ, गरेर देखाउन सक्छौँ। यसका लागि हामीमा साझा चिन्तनका साथ अघि बढ्ने एकीकृत सोचको विकास हुनुपर्छ।'

भाषा, संस्कृति र सभ्यताको विराट इतिहास बोेकेको कर्णाली प्रदेशका सम्भावना र चुनौतीलाई अवसरमा बदल्न सर्वाङ्गीण पक्ष एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो।

मुख्यमन्त्री शाहीले मुलुकको दिगो विकासको आधार निर्माण गर्नु प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्राथमिकताका क्षेत्रलाई पहिचान गर्ने र त्यसका आधारमा विकास गर्ने पद्धति लागू गर्नुपर्नेमा जोड दिए।

उनले भने, 'हामीसँग उपलब्ध साधन स्रोतको एकीकृत व्यवस्थापनगरी आजको प्रमुख समस्या समाधान गर्नु हाम्रो मुख्य जिम्मेवारी हो।'

वितरण संस्कृतिले उल्लेख्य प्रगति नआउने उनको जिकिर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell