PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सागका अधिकांश खेलाडी ठमेल बस्ने भएपछि जामको चुनौती : खेलाडीलाई चार सय बस, बाइकबाट स्कटिङ



मुकुन्द घिमिरे

सागका अधिकांश खेलाडी ठमेल बस्ने भएपछि जामको चुनौती : खेलाडीलाई चार सय बस, बाइकबाट स्कटिङ

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै छ। सागका लागि पूर्वाधार, प्राविधिक पक्षदेखि खेल स्थानको तयारी र सम्भावित पदक संख्याका विषयहरुका बारेमा चर्चा भइरहेको छ। आइतवारबाट सहभागी देशबाट खेलाडी र पदाधिकारीहरु आउन क्रम शुरु भइसकेको छ।

खेल हुने स्थानमा पूर्वाधार निर्माणको अवस्था र नेपाली खेलाडीहरुको प्रशिक्षणबारे बहस चलिरहँदा सागको 'कुम्भ मेला'मा विदेशी खेलाडीहरुको व्यवस्थापन अझ महत्वपूर्ण विषय बन्न पुग्छ। सहभागी राष्ट्रका खेलाडीका लागि आवास, सुरक्षा, यातायात जस्ता विषयहरु महत्वपूर्ण हुन्।

साग तयारीका लागि गठित यातायात तथा व्यवस्था समितिका संयोजक अर्जुनबहादुर केसी स्वदेशी खेलाडीका साथै विदेशी खेलाडीहरुलाई सहज यातायातको प्रवन्ध मिलाउने तयारी भइसकेको दाबी गर्छन्। विदेशी खेलाडीका लागि यातायात व्यवस्था मिलाउने वातावरण बनाउन पछिल्लो समय लागि परेका केसी विदेशी पाहुनाहरु आजबाट आउन थालेसँगै कामको चाप थप बढेको बताउँछन्।

खेलाडीका साथै अफिसियलहरुलाई आवासदेखि खेल मैदानसम्म सुरक्षित आउजाउका लागि व्यवस्था भइसकेकाले यातायातमा धेरै समस्या नरहेको उनले बताए।

काठमाडौंमा हुने खेलमा सहभागी खेलाडीहरुको बसोवासका लागि धेरै जसो होटलहरु ठमेलमा बुक गरिएका छन्। यद्यपि, निश्चित क्षेत्रबाहेक ठमेल क्षेत्रमा गाडी निषेध गरिएको हुँदा यातायात व्यवस्थापनमा सुधार गर्ने प्रयास भइरहेको छ। त्यसका लागि यातायात समितिले सुरक्षा समितिमार्फत ट्राफिक प्रहरीसँग सहकार्य गरिरहेको छ।

'अधिकांश होटलहरु ठमेल एरियामा छन्। त्यहाँका केही ठाउँमा गाडी प्रवेशमा समस्या हुने पनि देखिएको छ। हामी छिट्टै ती स्थानमा स्थलगत भ्रमण गरेर यसको पनि समाधान गर्ने छौं,' राखेप बोर्ड सदस्यसमेत रहेका केसीले पहिलोपोस्टसँग कुरा गर्दै भने।

सागका क्रममा अतिथिको प्रोटोकल (भिआइपी,भिभिआइपी लगायत) हेरी यातायातको व्यवस्था मिलाउनु पर्ने हुन्छ। समिति यसलाई मध्यनजर गर्दै सवारीको व्यवस्थापन गर्ने तयारीमा छ।

'खेलाडी, सेभ दी मिसनका साथै उच्च स्तरीय अतिथिका लागि फरक फरक सवारीसाधनको आवश्यक्ता रहन्छ। हामी आवश्यक परेसँगै स्रोत साधनको व्यवस्थापन गर्नेछौं' केसीले भने।

काठमाडौंमा यातायातको व्यवस्था केसीको संयोजकत्वमा भइरहँदा पोखराका लागि अर्कै समिति बनेको छ। तर काठमाडौंबाट पोखरासम्म खेलाडी र अफिसियललाई सकुशल पुर्‍याउने दायित्व केसी नेतृत्व समिति कै हो।

'पोखरासम्म अतिथिलाई पुर्‍याउने जिम्मा हाम्रो हो। पोखरामा खेलाडीदेखि अफिसियलको यातायातको व्यवस्था उत्तैको समितिले गर्नेछ। जनकपुरमा चाहिँ खेलाडी पुर्‍याउने र ल्याउने काम हाम्रै हो,' केसीले भने।

साग अवधिभर करिव चार सय सवारी साधानहरु आवश्यक पर्ने समितिको अनुमान छ। यसका लागि समितिले ४ वटा ट्राभल एजेन्सीसँग सहकार्य हुर्दैछ। त्यसैले सवारी संख्यामा समस्या नहुने केसीको दाबी छ।

सागका बेला विमानस्थलमा गाडी पार्किङका लागि छुट्टै व्यवस्था मिलिसकेकाले यातायात व्यवस्थापनमा अझ सजिलो हुने केसीले बताए।

'विशेष गरी हाम्रो ध्यान खेलाडीको समयमा केन्द्रीत छ। जाम या अरु कुनै कारणले खेलाडीहरु सम्बन्धित स्थानमा पुग्न नसके हाम्रो लागि अप्ठ्यारो स्थिति हुन सक्छ। मेहेनत गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आएका खेलाडीलाई त्यस्तो अवस्थाबाट गुज्रन हामी दिँदैनौं,' केसीले भने।

एयरपोर्टबाट होटल, होटलबाट अभ्यासस्थल, अभ्यासस्थलबाट होटल र होटलबाट खेलस्थलका लागि चरणबद्ध रुपमा यातायातको व्यवस्था गरिएको छ। खेलाडीहरु खेलस्थलमा जाँदै गर्दा जाममा पर्नु नपरोस भनेर मोटरसाइकलले स्कटिङ गरिनेछ।

'जामको समस्याबाट अतिथिहरुलाई कसरी जोगाउने भन्नेमा हामी छलफल गरिरहेका छौं,' केसीले भने। खेलाडीको बासस्थान र खेलस्थल नजिक पर्ने गरी व्यवस्थापन गरिएकाले यातायात सहज हुने उनले बताए।

यस्तै, यातायात व्यवस्था मिलाउनकै लागि दुई सय स्वयमसेवक माग गरेको केसीले बताए।

केही दिन अघि खेलकुद परिषदले सागका लागि ५ सय स्वयमसेवकलाई प्रशिक्षण दिएको थियो। यसबाहेक पनि समिति र खेलकुद परिषदका कर्मचारीसमेत हुने हुँदा जनशक्तिमा पनि समस्या नहुने केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell