काठमाडौँः तयारी बिना सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ। नेपाल राष्ट्र बैंकको १३ वर्षअघि नै आरटिजिएस लागू गर्ने तयारी गरेको थियो। गत भदौदेखि कार्यान्वयनमा ल्याए पनि तयारी नपुग्दा यसले काम गर्न सकेको थिएन।
'शुक्रबारबाट भने यसले काम गर्न थालेको छ' राष्ट्र बैंक भुक्तानी तथा फर्छ्यौट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, 'शुक्रबारपछि समस्या देखिएको छैन। अबदेखि चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने भएको छ।'
आरटिजिएसले काम गर्न थालेपछी चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुनेछ।
जस्तो तपाईँको खाता नबिल बैंकमा छ। तपाईँको साथीको खाता प्रभु बैंकमा होला। तपाईँ नबिल बैङ्कमा गएर एउटा फारम भर्नुपर्छ। जसमा 'मेरो फलानो नाम गरेको साथीलाई फलानो बैंक खातामा भुक्तानी गरिदेउ' लेख्नुपर्छ।
त्यसपछि नबिल बैंकले तपाईँको खाताको पैसा प्रभु बैंकको तपाईँको साथीको खातामा भुक्तानी गरिदिन्छ। यो प्रक्रिया काउन्टरमा उभिँदाउभिँदै पूरा भइसक्छ।
अहिले चेक काटेर क्लियरिङमा पठाउनु पर्छ। भुक्तानी हुन डेढ दिनसम्म लाग्छ।
राष्ट्र बैंकले दुई लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको हो। २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरेको छ। ग्राहकहरू बानी नपरुन्जेल चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ।
अहिले वाणिज्य बैंकहरुलाई अनिवार्य गरिएको छ। पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि अनिवार्य हुनेछ।
राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिबाट आरटिजिएस लागू गर्ने जनाएको थियो। तर प्राविधिक कारण भएकाले लागू गर्न सकेको थिएन। गभर्नर डा. चिरञ्जीवी नेपालले आरटिजिएस लागू हुनुलाई ठूलो उपलब्धि भएको बताएका छन्। भारतमा सन् २००७ बाटै आरटिजिएस लागू भएको हो।
आरटिजिएस पूर्णरूपमा लागू भएपछि बैंकहरुले चेक छाप्नु पर्दैन जसले गर्दा उनीहरूको लागत कम पर्छ। साथै चेकको प्रयोग हुन छाडेपछि क्लियरिङ गरिरहनु पर्दैन। आरटिजिएसका कारण पैसाको कारोबारमा तीव्रता आउँछ। जस्तो अहिले क्लियरिङ गर्दा डेढ दिन लाग्छ भने आरटिजिएस लागूपछि त्यही पैसाको कारोबार १०औँ पटक हुन सक्छ।
अहिलेलाई एउटा कारोबारको १० रुपैयाँ लाग्छ। बेलुकी भुक्तानी गर्नु परेमा १०० रुपैयाँसम्म शुल्क लाग्ने छ। यसलाई घटाउँदै लैजाने राष्ट्र बैंकको योजना छ।