PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

मुख्यमन्त्री शाहीले लिए पार्टीका जिल्ला प्रमुखहरुसँग सुझाव



रासस

मुख्यमन्त्री शाहीले लिए पार्टीका जिल्ला प्रमुखहरुसँग सुझाव
फाइल फोटो।

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का जिल्ला प्रमुखहरुसँग सुझाव संकलन गरेका छन्। कर्णाली प्रदेशअन्तर्गत ने क पाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उनले सुझाव लिएका हुन्।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तर्क्रिया गरेका थिए। अन्तर्क्रियाका क्रममा उनले सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। पार्टी एकतापछि पहिलोपटक भएको सो अन्तर्क्रिया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवले सुझाव दिएका थिए। दोस्रो दिन जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए।

रुकुम पश्चिमका इञ्चार्ज राजकुमार शर्माले पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टोली समूहमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनु पर्ने लगायत सुझाव दिइएको बताए।

'पार्टी र सरकारको नेतृत्वबीचको बुझाइमा एकरुपता कायम हुन आवश्यक छ', उनले भने, 'अन्तर्क्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने छ।'

ने क पा सुर्खेतका सचिव कृष्ण जिसीले ने क पाको नेतृत्वमा गठित सरकार असफल हुँदा समग्र कम्युनिस्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढ्ने बताए। जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री शाहीले जिल्ला नेताहरुसँग गरेको अन्तर्क्रियाले पार्टी र सरकार दुवैलाई मद्दत पुग्नुका साथै जनतामा राम्रो सन्देश पुग्ने उनको भनाइ थियो। अन्तर्क्रियामा सहभागी ने क पा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले सरकार र पार्टीका सबै तहका अंगलाई जनताको आधारभूत जीवनमा प्रभाव पर्ने कार्यक्रम अगाडि बढाउन सुझाव दिइएको बताए। उनले अन्तर्क्रियाबाट पार्टी र सरकार दुवैको दृष्टिकोण समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निष्कर्ष निकालिएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell