PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मूर्ति हराउने क्रम बढ्यो : अमेरिकामा रहेको मूर्ति फर्काउन कुटनीतिक नियोग र इन्टरपोललाई पत्राचारको तयारी



सहयोग रञ्जित

मूर्ति हराउने क्रम बढ्यो : अमेरिकामा रहेको मूर्ति फर्काउन कुटनीतिक नियोग र इन्टरपोललाई पत्राचारको तयारी
हराएको लक्ष्मीनारायणको मूर्ति (दोस्रो), अमेरिकामा प्रदर्शनरत बासुदेव कमलाजाको मूर्ति (तेस्रो)

काठमाडौं : यही महिनाको पहिलो साता भक्तपुर र ललितपुरबाट सयौं वर्ष पुरानो मूर्तिहरु हराए। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा रहेको लक्ष्मी नारायणको मूर्ति एकाएक जहाँ सशस्त्र प्रहरीको सुरक्षा गस्ती रहन्छ। मन्दिर परिसरबाटै मूर्ति हराउन थालेपछि मन्दिरमा रहेका अरु मूर्ति र कलाहरुको सुरक्षा कसरी हुनसक्छ भन्नेमा स्थानीय चिन्तित छन्।

चाँगुनारायण मन्दिरको उत्तर दिशामा रहेको सत्तलमा थियो, लक्ष्मीनारायणको मूर्ति। लिच्छवीकालको अन्त्य र मल्‍लकालको उदयबीचको समय बनाइएको हुनसक्ने अनुमान गरिएको मुर्ति गायव भएको हो। २०७२ सालको भूकम्पपछि सत्तल पुनर्निर्माण गर्नुपर्ने भयो। त्यसपछि मूर्तिलाई त्यहीँ रहेको कृष्ण मन्दिर पछाडि राखिएको थियो।

यस्तै, ललितपुरमा रहेको बगलामुखी मन्दिर परिसमा रहेको कुबेरको मूर्ति गत मंगलवार राति चोरी भयो। मन्दिर परिसरको सुरक्षाका लागि प्रहरीले गस्ती गर्दै आएको थियो। मूर्ति चोरिएपछि अहिले बगलामुखी मन्दिर बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्रै खोलिने गरेको छ।

यी मूर्ति हराएकै सेरोफेरोमा करिब ३५ वर्ष अघि हराएको बासुदेव कमलाजाको मूर्ति अमेरिकामा रहेको नै ट्वीटरबाट खुलासा भयो। इरिन एल थोप्सनले ट्वीटरमा अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा पाटनको पटको टोलमा रहेको नारायण मन्दिरबाट हराएको ३४ इन्च को मूर्ति प्रदर्शन गरिएको जानकारी दिएसँगै उक्त मूर्ति फिर्ता ल्याउन आवाज उठेको छ।

सो मूर्तिको विवरण लैनसिंह वाङदेलले लेखेको 'स्टोलन इमेजेज अफ नेपाल' मा समेत राखिएको छ। सन् १९८४ मा चोरिएको उक्त मूर्तिको देब्रेतर्फ विष्णु र दायाँ अर्धलक्ष्मीको आकृति रहेको छ। थोप्सनले सो मूर्ति लिलामीमा राखिएको समेत उल्लेख गरेकी छिन्।

सुरक्षाबीच मूर्तिहरु हराउनु र अर्कातिर वर्षौं अघि हराएको मूर्ति अमेरिकामा प्रदर्शन हुँदा पुरातत्व विभागले सरोकालहरुलाई यसबारेमा सचेत गराएको छ। पुरात्तव विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चाँगुनारायणबाट हराएको मूर्तिबारे सुरक्षा युनिटलाई जानकारी गराइएको बताए। भने, 'हामीले सम्बन्धित निकायलाई मूर्ति हराएको बारेमा पत्राचार गरेका छौं। कारवाहीको चरणमा छ।'

गौतमले यसो भनिरहँदा मूर्ति हराएको एक साता भन्दा बढी भइसकेको छ। तर, अहिलेसम्म चाँगुनारायण मन्दिरमा राखिएका सिसिटिभी क्यामराहरु चलेका छैनन्। मन्दिरका पुजारी चक्र राजोपाध्यायले भने, 'सिसिटिभि बनाउनका लागि हामीले पुरातत्वमा निवेदन दिएका छौं। तर, बनेका छैनन्। अझै मूर्तिहरु यत्रतत्र छरिएका छन्। संरक्षणको काम भएको छैन।'

राजोपाध्याय भूकम्पपछि मूर्ति नहराए पनि पुनर्निर्माणको नाममा ठेकेदारले मूर्तिहरु सरोकारवालहरुसँग छलफल नगरी असुरक्षित तरिकाले राखेको कारणले पनि हराएको बताउँछन्।

यता, पुरातत्वका निमित्त महानिर्शेदक गौतमले अमेरिकामा रहेको मूर्ति फर्काउन इन्टरपोलसँग पत्रचार गर्ने तयारी गरिरहेको बताउँदै भने, ' अरु मूर्तिहरु अरु देशका म्यूजियमहरुमा छन्। डल्लासमा भएको भनिएको मूर्ति फर्काउन हामीले कुटनीतिक नियोग र इन्टरपोलसँग सहकार्य गर्छौं।'

युनेस्कोको गैर कानूनी रुपमा आयात निर्यात भएका सांस्कृतिक सम्पत्तीहरु नियमित गर्ने अभिसन्धी १९७० को पक्ष राष्ट्र नेपाल पनि हो। पक्ष राष्ट्रबीच गैर कानूनी रुपमा आयात निर्यात गरिएका मूर्तिहरु फर्काउने प्रकिया बाध्यकारी हुन्छ। अरु किसिमले निर्यात या आयात भए कुटनीतिक नियोग मार्फत प्रमाण पेश गरेर मूर्ति फर्काउन सकिने प्रावधान छ। यस्तै मूर्तिलाई फर्काउन इन्टरपोलको सहकार्य गरेर मूर्ति फर्काउन सकिन्छ। नेपालले विभिन्न चरणमा बाहिरिएका मूर्तिहरु यही सन्धीका आधारमा फर्काउँदै आएको छ। यद्यपि, सांस्कृति महत्वका सयौं मूर्तिहरु विदेशका म्युजियमहरुमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell