PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न कांग्रेसको आग्रह



रासस

तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न कांग्रेसको आग्रह
फोटो : रासस।

पोखरा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि कांग्रेस तयार रहेको बताए। प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशंका मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र ने क पाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए। सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशंका गरिएको उनले बताए।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले भने, 'यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ। यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ।'

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महँगी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए। भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उनले बताए।

कास्की क्षेत्र नम्बर २ मा कांग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताउँदै उनले चुनावमा कांग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई निर्वाचन जित्न सहज बनाएको उल्लेख गरे।

वर्तमान सरकारलाई सच्चिन दबाब दिनका लागि कम्युनिस्ट कार्यकर्तालाई पनि यस पटक कांग्रेसको रुख चिह्नमा मतदान गर्न उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell