PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुनर्निमाणपछि दशरथ रंगशालामा पहिलो फुटबल अभ्यास, 'विदेशमै खेलेजस्तो लाग्यो'

पुनर्निमाणपछि दशरथ रंगशालामा पहिलो फुटबल अभ्यास, 'विदेशमै खेलेजस्तो लाग्यो'

मुकुन्द घिमिरे/पहिलोपोस्ट


दशरथ रंगशाला - त्रिपुरेश्वर।

सोमबार दिउँसो ठीक २ बजे - भिआइपी प्यारापिटमा छाना हाल्ने क्रम  चलिरहेको थियो। कोही रंगशालामा रंग भर्दै थिए, कोही सिट मिलाउँदै।

तर, मैदानमा भने खेल शुरु भइसकेको थियो।

मैदान नयाँ भएकोले हो वा धेरैपछि यो रंगशालामा खेल्न पाएकाले हो, उत्साह बेग्लै देखिन्थ्यो खेलाडीमा। र खुसी पनि।

रंगशालाको पुनर्निमाण नसकिँदै खेल शुरु भएको हो त?  हैन, यो खेल मंसिर १५ बाट शुरु हुने दक्षिण एसियाली खेलकुद(साग)को लागि तयारी खेल थियो।

अभ्यासमा उत्रेका खेलाडीमा जोशजाँगर भरिएको देखिन्थ्यो। उनीहरुमा रौनकता भरेको देखिन्थ्यो।

***

पछिल्लो समय सातदोबाटोको कृत्रिम मैदानमा अभ्यास गर्ने कतिपय खेलाडीका लागि रंगशालामा गरेको अभ्यास सम्झनामा मात्र सीमित थियो भने कति खेलाडीहरु पहिलो पटक दशरथ रंगशालामा अभ्यास गर्दै थिए।

यो दृश्य खेलाडीका लागि मात्र होइन त्यहाँ पुगेका अफिसियललगायत त्यहाँ उपस्थितका लागि पनि नौलो थियो। अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फा पदाधिकारी लगायताले यो दृश्य अवलोकन गरिरहेका थिए।

कर्माछिरिङ नेतृत्वमा आएलगत्तै एक वर्षअघि एन्फाले शहीद स्मारक 'ए' डिभिजन लिगको ट्रफी टुर यहींबाट शुरु गराएका थिए। त्यति बेलैबाट रंगशाला छिट्टै बन्ने सन्देश दिने प्रयास गरे पनि रंगशालामा खेलाडीले रंगशालामा अभ्यास गर्न भने दक्षिण एसियाली खेलकुद नै कुर्नु पर्‍यो।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदमा रमेशकुमार सिलवाल सदस्य सचिव बनेर आएसँगै रंगशालाको घाँस काटेर रंगशाला चाँडै पुनर्निर्माण गर्ने सन्देश दिएका थिए।

सागको पूर्वसन्ध्यामा रंगशाला लगभग तयार भएको छ। 'विदेशमा गएर अभ्यास गरेको जस्तै भइरा'छ है?'  नेपाली टिमले आज अभ्यासको क्रममा प्रशिक्षक बालगोपाल महर्जनले सुनेको गसिप हो यो। यही भनाईले उनलाई पनि उत्साह थपेछ। भन्दै थिए, 'एकदमै खुशी लागिरहेको छ।'

अझ उनले यो सागमा स्वर्ण जित्ने अपेक्षासमेत सुनाए। 'रंगशालाको नयाँ वातावरणले नयाँ जोस र जाँगर दिएको छ। यस्तै इन्फ्रास्टक्चरमा खेल्ने मौका मिल्ने हो भने अझ राम्रो हुनसक्छ भन्ने लागेको छ,' प्रशिक्षक महर्जनले भने, 'प्रशिक्षण पनि राम्रो भएको छ। एकदमै उत्साहित छौं। लामो समयपछि नेपालमा यस्तो प्रतियोगिता हुँदैछ। १२ औं सागको विजेताको हैसियतले पनि यो मैदानमा स्वर्ण जित्ने अपेक्षा राखेका छौं।'

***

नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठ पनि रंगशालामा अभ्यास गरेसँगै सन्तुष्ट देखिन्थे। 'साढे चार वर्षपछि आफूले खेल्ने मैदानमा फर्किन पाइएको छ। आज यहाँ गेटबाट छिर्ने बित्तिकै हामी एकदमै उत्साहित थियौं,' कप्तान श्रेष्ठले भने, 'ढिला भए पनि बन्यो। एकदमै खुशी लागेको छ।'

पछिल्लो सात महिना यता तयारी गरिरहेकोले तयारीमा समस्या नभएको श्रेष्ठले बताए। फुटबललाई अझ धेरै नियालेर हेरिने खेल भएकाले अझ धेरै राम्रो खेल्ने श्रेष्ठले उनको भनाई थियो।

त्यसो त उनी सजाइरहेको प्यारापिटतर्फ पनि नजर लगाउँदै थिए। त्यहीबेला खेलाडीलाई दर्शकको साथ पनि उत्तिकै चाहिने बताउँदै थिए श्रेष्ठ।

प्यारापिटतर्फ हेर्दै क्याप्टेन श्रेष्ठ हौसिए, 'समर्थकलाई बाह्रौं खेलाडी पनि भनिन्छ, यसले पनि हामीलाई थप उर्जा दिनेछ। प्रेसर लिएका छैनौं। अझ उत्साहित छौं।'



ट्रेन्डिङ पोस्ट

Ncell