
कञ्चनपुर : जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँको चेक आज हस्तान्तरण गरिएको छ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।
वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताए। बोहराको असोज २९ गते घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।
यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले २५ हजार रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रुपैयाँ किरिया खर्चबापतको रकम छुट्टाछुट्टैरुपमा उपलब्ध गराएको थियो। यसैगरी सामुदायिक वन समन्वय समितिलेसमेत राहत स्वरुप २५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको थियो।