PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

टेण्डर नलाग्दा तस्करलाई बहार, निर्माण व्यवसायीलाई सास्ती



राधेश्याम पटेल

टेण्डर नलाग्दा तस्करलाई बहार, निर्माण व्यवसायीलाई सास्ती
प्रतीकात्मक तस्विर।

वीरगंज : बालुवा, गिट्टि तथा ढुंगाको उत्खननका लागि पर्सा जिल्लाका आधा दर्जन खोलाको टेण्डर नलाग्दा यहाँ निर्माण सामग्रीको चरम अभाव भएको छ।

पर्साको वीरगंज महानगरमा पर्ने भेडहा खोला, पर्सा गढिमा पर्ने कर्जनिया र सिङ्याही, पटेर्वा सुगौली भित्र पर्ने गादी खोला, पटेर्वा सुगौली र जिराभवानीपुर गाउँपालिका भित्र पर्ने भलुवाही र सखुवा प्रसौनी तथा पटेर्वा सुगौली भित्र पर्ने जमुनी खोलाको समयमा टेण्डर खुला हुन नसक्दा पर्सामा बालुवा, गिट्टि तथा ढुंगाको चरम अभाव भएको निर्माण व्यवसायीहरुले गुनासो गरेका हुन्।

वीरगंज उद्योग वाणिज्य संघले विज्ञप्तिमार्फत पर्साका खोलाको टेण्डर समयमा नहुँदा निर्माण सामग्रीको चरम अभाव श्रृजना भएको बताएको छ। पहिलेदेखि भण्डारण गरेको समानको भाउ पनि अकाशिएको भन्दै निर्माण कार्यमा नकरात्मक असर परेको जनाएको छ। संघले यथाशिघ्र खोलाको टेण्डरको विषयमा सरोकारवाला निकायले पहल गर्न अपिल गरेको छ।

निर्माण सामग्रीको अभावले गर्दा राष्ट्रिय गौरवको आयोजनादेखि व्यापारिक मार्ग, सडक, होटल तथा मल निर्माण, घर निर्माण कार्यमा प्रभाव परेको छ। निर्माण कार्यमा प्रयोग हुने छड, सिमेन्ट लगायतका अन्य सामग्रीको पनि बिक्री घटेको संघको विश्लेषण छ।

संघका अध्यक्ष गोपाल केडियाले भने, ‘एउटा पनि खोलाको टेण्डर लागेको छैन, निर्धारित समय भन्दा करिब डेढ महिना ढिला भइसक्यो, यसले सम्पूर्ण निर्माण क्षेत्रमा असर पारेको छ।’

'४ वटा खोलामा एक महिनाभित्र टेण्डर खुल्छ'

जिल्ला समन्वय समिति खोलाको टेण्डर खुलाउने विषयमा स्वीकृति दिन निकाय हो। यसअघि जिल्ला विकास समितिले यसको स्वीकृति दिने गरेको थियो। समन्वय समितिले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गरी बालुवा, गिट्टि तथा ढुङ्गा उत्खन्नको टेण्डर लगाउन स्वीकृति दिने गर्छ।

समितिका सभापति नेकमहम्द अन्सारीले ५ वटा खोलामध्ये ४ वटाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन लगभग स्वीकृत भइसकेको र अगामी एक महिनाभित्र स्थानीय पालिकाले सार्वजनिक खरिद ऐन अन्तर्गत टेण्डर प्रकृया अघि बढाउने बताए। उनका अनुसार जमुनी बाहेक सबै खेलाको प्रकृया अघि बढेकोले चाँडै टेण्डर खुल्नेछ।

उनले स्थानीय पालिकाले कुन खोलाबाट कति सम्म बालुवा, गिट्टि तथा ढुंगा उत्खन्न गर्ने हो त्यसको टियुआर जिल्ला समन्वय समितिको प्राविधिक बैठकमा पास भएर इआइए स्वीकृति लिएपछि सार्वजनिक सूचनामार्फत टेण्डरको आह्वान गर्ने नियम छ।

हाल भेडहा, कर्जनिया, सिङ्याही, गादी, भलुवाहीको प्रकृया अघि बढेको छ। तर सखुवा प्रसौनी र पटेर्वा सुगौली बीचबाट बग्ने जमुनी खोलाको स्वामित्व बारे दुवै तहबीच कुरा मिल्न नसक्दा त्यसको प्राविधिक प्रकृया पुरा नभएकोले उक्त खोलाको टेण्डर प्रकृयामा ढिलाई भएको उनले बताए।

पर्सागढी नगरपालिका अन्तर्गतका खोलाहरूबाट अनधिकृत रूपमा बालुवा, गिट्टि तथा ढुंगाको व्यापक तस्करी भइरहेको छ। पर्साको भेडहा, कर्जनिया, सिङयाही, भलुवाही, जमुनीलगायत खोलाबाट अवैध उत्खनन् भइरहेको स्थानीयले बताएका छन्। ट्याक्टरधनीहरूले सम्बन्धित निकायलाई आर्थिक प्रभावमा पारेर राष्ट्रिय वनसँग जोडिएका खोलाहरूबाट गिट्टी, बालुवाको तस्करी गरिरहेको स्थानीयको भनाई छ।

सब–डिभिजन वन कार्यालय बडनिहार, छतवन टाँडी रेन्जपोस्ट र मनवा रेन्जपोस्टको गेट अगाडिको सडकबाट दर्जनौँ ट्याक्टरले गिट्टी, बालुवा र ढुंगा ल्याइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell