काठमाडौं : काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार 'मर्निङवाक'मा हिँडेका पैदलयात्री डा प्रभु जोशीलाई ठक्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको हो।
बसको ठक्करबाट जोशीको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरीले सिसिटिभी क्यामराको सहयोगमा चालकलाई रामेछापबाट नियन्त्रणमा लिएको हो। तर चालकले घटना आफैंले गरेको भन्ने स्वीकार गरेका छैनन्।
'हामीले चालकलाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दुर्गा रेग्मीले भने।
जोशीलाई ठक्कर दिने सवारी साधनको यकिन भइसकेको थिएन। झिसमिसेमा घटना भएकाले सिसीटिभी क्यामरामा कैद दृष्यसमेत केही अस्पष्ट रहेकाले अनुसन्धान गर्न केही समस्या भएको थियो। बिहानको समय खाली सडकमा र जेब्राक्रसिङ छाडेर अन्तैबाट बाटो काट्दा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।