PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन



नेत्र तामाङ

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन

काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।

उपचारकै क्रममा आज दिउँसो २ बजे कसजूको निधन भएको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। क्रिटिकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा ९ दिनपछि केही सुधार देखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि उनका छोराहरु अमेरिका फर्केका थिए।

को हुन् कसजू?

सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत हुन्। नेपाली भाषा साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रमा लामो समय सक्रिय रहेका उनी पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय थिए।

बाल साहित्यतर्फ कसजूका ५० भन्दा बढी कृति प्रकाशित छन्। भने सयौं बाल कृतिहरु सम्पादन गरिसकेका छन्। प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समितिमा सञ्चालक समिति सदस्य समेत रहेका कसजु ७२ वर्षका थिए।

पाल्पाको तानसेनमा जन्मिएका उनको बाल्यकाल रिडीमा बितेको थियो। रिडीमा रहँदा उनले २५ वर्षको उमेरमा प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। उनले रिडीमै देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका थिए। पछि यसैलाई उनले सामुदायिक पत्रिकाका रुपमा रुपान्तरण गरेका थिए।

सूचना सम्प्रेषणका लागि उनले वेयर फूट पत्रकारिताको तालिमका प्रशिक्षकसमेत रहेका थिए।

पछिल्लो समय बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका सल्लाहकार रहेका उनी यही संस्थामा सक्रिय थिए।

विनय कसजुका १०० बाल कथाहरु, मुसालाई दोसल्ला र अरु बालकथाहरु, झ्यापुल्लेको बिजोग, वनको दमकल, कान्छाको मोटर, स्माइल प्लिज, साइबर बालकथा, सुजनको डर, सूर्यको बिहे, जुल्फी खाने कौवा, मेवालाल, माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीत गरी १५ बाल कथा संग्रह छन्।

त्यसैगरी घडीहरुको जमघट, जन्मदिनको उपहार, मुसाको भोजमा बिरालो, रातो भाले, अनौठो आकाश सूर्य र ग्रहहरु, म्याउँम्याउँ बिरालो, हाम्रो स्कुल खोइ, हाम्रो पुस्तकालय, मेरो किताब, कोसिस गर्छु, तीन पांग्रे साइकल, भोकाएको बिरालो, आज स्कुल जान्न, मलाई माया गर्छिन्, टिउराको सपना, जलवीर र सुरी, अबोलाको मोबाइलफोन, बोकाको आत्मकथा र सुनको मुटु भएको केटो बालचित्र पुस्तकहरु प्रकाशित छन्।

यसैगरी ह्यान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरु, इसपका नीतिकथा, सानी जलपरी र हान्स क्रिस्चियन एन्डरसनका दन्त्यकथाहरु उनीद्वारा अनुदित बालकथा हुन्।

कसजुले सैद्धान्तिक र समीक्षात्मक पुस्तकसमेत प्रकाशन गरेका छन्। बालकथा लेखन, बालबालिकामा पढ्ने बानीको विकास, स्विडेनको बालसाहित्य र आस्ट्रिड लिन्ग्रेनको योगदान, बालकथा सम्पादन र शान्तदास भन्नुहुन्छ जस्ता सैद्धान्तिक र समीक्षात्मक कृति उनले लेखेका हुन्। यसैगरी बाल पत्रकारिता कृति पनि उनले प्रकाशन गरेका छन्।

भालुको बगैँचा र स्माइल प्लिज सुन्ने सिडीमा समेत बालकथा ल्याएका कसजुको स्मार्ट टिन्स नामको किशोर कथासंग्रहसमेत प्रकाशित छ।

कसजुको लेखनमा ६ बालकथा लेखन शैली किताबसमेत प्रकाशनमा आइसकेको छ। कसजुका केही सिर्जनाहरु बालसंसार डट ओआरजीमासमेत पढ्न पाइन्छ।

गैर साहित्यको क्षेत्रमा पनि सशक्त रुपमा कलम चलाउँदै आएका कसजुले सूचन प्रविधिको विकास र त्यसले पार्ने प्रभावमाथि किताब लेखेका छन्। मिडियाको लोकतान्त्रिकरण लगायतका उनका पुस्तकहरु अनलाइनमा निशुल्क उपलब्ध समेत छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell