PahiloPost

Dec 12, 2019 | २६ मंसिर २०७६

उपचारमा लापरवाही गर्दा दुई बिरामीको मृत्यु, अवैध क्लिनिक बन्द गर्न निर्देशन



रासस

उपचारमा लापरवाही गर्दा दुई बिरामीको मृत्यु, अवैध क्लिनिक बन्द गर्न निर्देशन
फोटो : Google Map ।

काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिकामा उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। बिरामीको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।

सोमवार उपचारका क्रममा नरैनापुर-५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका-७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो।

नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘नक्कली चिकित्सक’ राजेश सिंहले उपचार गर्दा गयाराज र मालिकरामको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले भोज खाएपछि बान्ता भएको र उपचारका लागि क्लिनिकमा आएका थिए। राजेश सिंहले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि मृत्यु भएको प्रहरीको अनुमान छ।

'भोज खाएलगत्तै बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलाउनुभएछ', इलाका प्रहरी कार्यालय भगवानपुरका इञ्चार्ज मानबहादुर बिसीले भने, 'उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको हो।'

करिब २५ वर्षदेखि गाउँमा अवैधरुपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका राजेश सिंहले उपचारका क्रममा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताए।

उनले भने, 'धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन।'

हिजो मृत्यु भएका गयाराज र मालिकरामको शव परीक्षणपछि अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा गयाराज र मालिकरामको मृत्यु भएपछि प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ आजै नरैनापुर पुगेर घटनास्थलको अवलोकन र पीडित परिवारसँग भेटघाट गरेका छन्।

प्रदेशसभा सदस्य केसीले भने, 'अब यस्ता घटना दोहोरिनुहुन्न।'

नरैनापुर क्षेत्रमा रहेका अन्य अवैध क्लिनिकको अवलोकनपछि त्यस्ता क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताए।



उपचारमा लापरवाही गर्दा दुई बिरामीको मृत्यु, अवैध क्लिनिक बन्द गर्न निर्देशन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell