PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

गढीमाई मेला क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो



राधेश्याम पटेल

गढीमाई मेला क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो

वीरगंज : बाराको गढीमाई मेला लाग्ने क्षेत्रका किसानलाई यतिबेला धान भित्र्याउन चटारो छ।

मढीमाईको मुख्यपूजा मंसिर १७ र १८ गते परेकोले त्यो भन्दा एक साता अघि र पछिसम्म मेलामा भक्तजनहरुको निकै घुँइचो लाग्ने गर्छ। त्यसकारण पनि मंसिर १५ सम्ममा खेतमा लगाइएका सवै धानबाली थन्क्याइसक्नु पर्ने हुन्छ।

महागढीमाई नगरपालिका अन्तर्गत पर्ने बरियारपुर आसपासको बघवन, मझरिया, गंजभवानीपुर, मलहनी, सेमरा तेगछियालगायत आसपासको सयौं बिघामा मेला लाग्ने भएकोले निश्चित समयभन्दा अगावै किसानहरूले धानको दाँइ सक्नुपर्ने बाध्यता छ।

गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल कुशवाहाका अनुसार नगरपालिकाले धान थन्क्याएर नसकिने करिब ६ बिघा खेतमा लगाइएको धानबालीको समितिले मुआब्जा पनि दिने छ। उनले धानबालीको मुआब्जाको लागि करिब ६ लाख पनि छुट्याइएको जानकारी दिए।

मेलामा स्थानीयलाई बिहेमा जस्तो खर्च गर्नु पर्दा तनाव

मेला शुरू हुनुभन्दा अगावै करिब एक दर्जन गाउँमा नेपाल तथा भारतबाट आउने आफन्तको उल्लेख्य भीड हुने गर्छ। एउटा घरमा १५ दिनभित्र एउटा बिहे बराबरको भोज आयोजना हुने भएकोले त्यस क्षेत्रका बासिन्दाहरू धान भित्र्याई चामल जम्मा पार्ने तथा तरकारी र पैसाको जोहो गर्न पनि व्यस्त रहेको बताएका छन्।

बघवनका रमेश ठाकुरले भने, 'पाँच वर्षमा लाग्ने यो मेलाले गर्दा बिहानदेखि बेलुकासम्म आफन्तजन तथा पाहुनाहरूको आदर सत्कारमा बित्छ। हामीले राति मात्र मेला हेर्न भ्याउँछौं। त्यसमा पनि घरमा आएका पाहुनालाई मिठो मसिनो खुवाउनुपर्ने चलन रहेकोले गर्दा मेलाका समयमा यस भेगका जनतालाई केही हदसम्म कष्ट नै हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell