
काठमाडौं : दक्षिण एसियाली खेलकुद आउनै लाग्दा यसको विषयमा चर्चा परिचर्चा चुलिएको छ। केही दिन अघि ओलम्पिक टर्च लिएर ओलम्पियनहरु सातै प्रदेशको भ्रमणमा समेत निस्किए। सागको मस्कटमा कृष्णसारले त्यस्तै ओलम्पिक टर्च लिएको तपाईँले पनि नोटिस गर्नु भएकै होला। यसको अर्थ के हो भन्नेमा धेरैको जिज्ञासा रहेको पनि पाइयो।
ब्ल्याक बक अर्थात् कृष्णसार। यो नेपालको बर्दिया राष्ट्रिय निकुन्जमा पाइने जनावर हो। यसलाई विश्वकै लोपोन्मुख जनावरको सूचीमा समेत समावेश गरिएको छ।
ब्ल्याक बकको दृष्टि अत्यन्तै तेजिलो हुन्छ। सामान्य रुपमा यसले आफ्नो तेजिलो दृष्टि आफूलाई खतराबाट जोगाउन प्रयोग गर्छ। ६ मार्च २००९ मा नेपाल सरकारले १६ दशमल ८९ वर्गकिलोमिटर क्षेत्रलाई बर्दिया बन्यजन्तु आरक्षणका रुपमा घोषणा गरेको थियो।
ब्ल्याक बकले ५ दशमलब २७ वर्ग किलोमिटर क्षेत्र कभर गर्ने गर्छ।
ब्ल्याक बक एकपटक नेपालबाट लोप भएको हो कि भन्नेआशंका गरिएको थियो। तर, सन १९७६ सालमा गरिएको गणनामा ९ वटा ब्ल्याक बक पाइएको थियो। त्यसयता ब्लाक बकको संरक्षण गरिँदै आएको छ। नेपालमा अहिले करिब ३ सय ब्ल्याक बक रहेका छन्।
दक्षिण एसियाली खेलकुदको मस्कटमा ब्ल्याक बकको प्रयोग गरिनुको अर्थ यो लोपोन्मुख प्राणीलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश।
त्यस्तै, सागको लोगोमा देखिने परेवा शान्तीको प्रतिक हो। त्यस्तै, परेवाका ७ वटा प्वाँख सागमा सहभागी हुने ७ वटा मुलुकहरु हुन्। त्यस्तै ती सातवटा प्वाँखले दशरथ रंगशालाको ट्र्याकलाईसमेत सङ्केत गर्छ। त्यस्तै सातै देशको झन्डाको रंगलाई समेत प्रतिनिधित्व गर्छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय लोगो छनोट समितिले यो लोगो छानेको हो। यो लोगो भोलानाथ पौडलले डिजाइन गरेका हुन्।